बाँके, ७ फागुन ।
नेपालगन्जस्थित भेरी अस्पतालले आँखाको उपचार पनि सुरु गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले शुक्रवार रिवन काटेर आँखा उपचार सेवाको सुरुवात गरेका हुन् ।
भेरी अस्पतालमा पहिलो पटक आँखा उपचार सेवा सुरु भएसँगै यसक्षेत्रका नागरिकले सस्तो र सुलभ रुपमा सेवा पाउने आशा गरिएको छ । आँखाका विरामीको सहजताका लागि भेरी अस्पतालमा आँखा उपचार सेवा सुरु गरिएको अध्यक्ष धितालले बताए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले एकै ठाउँबाट सवै स्वास्थ्य सेवा प्रदान गर्न भेरी अस्पतालमा पहिलो पटक आँखा उपचार सेवा सुरु गरिएको बताए । उनले उपचार सेवा सँगै निकट भविष्यममा शल्यक्रिया सेवा सुरु गरिने बताए । आँखाको उपचार सुरु भइसकेकोले सेवा लिएर लाभ उठाउन आग्रह गरे ।