भैँसी बाध्ने किलो बन्यो एम्बुलेन्स, नरैनापुरका विरामीलाई सास्ती

बाँके, २१ माघ ।


मर्मत हुन नसक्दा नरैनापुर गाउँपालिका–५, स्थित गंगापुर स्वास्थ्य चौकीको भे १ झ २३८ नं. को एम्बुलेन्स नेपालगन्जको एक मन्दीरमा थन्किएको छ । मर्मत गर्नुपर्ने एम्बुलेन्स मन्दीरमा थन्क्याउँदा नरैनापुरका विरामी एम्बुलेन्स सेवाबाट बञ्चित भएका छन् । उक्त एम्बुलेन्समा गाईभैँसी बाध्ने गरिएको छ । स्थानीयले एम्बुलेन्सलाई भैँसी बाध्ने किलोको रुपमा प्रयोग गरेको रामनगरका एक स्थानीयले बताए ।
करिव ६ महिनादेखि एम्बुलेन्स नेपालगन्जको रामनगरस्थित शिव मन्दीरमा थन्किएको गंगापुरका अगुवा सोहनलाल यादवले बताए । उनले एम्बुलेन्स नहुँदा गर्भवती, सुत्केरी महिला समस्यामा परेको उनले बताए । ‘नरैनापुरमा एउटा मात्र एम्बुलेन्स छ । एकातिर गएपछि अर्कोतिरका लागि पाउँदैनन् । एम्बुलेन्स खोसाखोस भएर पालो पाउन मुस्किल छ,’ उनले भने ।

नेपालगन्जको रामनगरस्थित शिव मन्दीर परिसरमा थन्किएको गंगापुर स्वास्थ्य चौकीको एम्बुलेन्स ।


सभासद दिनेशचन्द्र यादवको सांसद विकास कोषको रकमबाट खरिद भएको नरैनापुर क्षेत्रको पहिलो एम्बुलेन्स विरामी भएर मन्दीर परिसरमा थन्किए पनि गाउँपालिकाले मर्मतका लागि कुनै प्रयास नगरेको उनको भनाई छ । समयमा मर्मत नगर्दा एम्बुलेन्सका पार्टपुर्जामा खिया लागेर सिज हुने अवस्थामा पुगेको उनले बताए । ‘मर्मत गरेर संचालन गर्नुको साटो गाउँपालिकाले सामान्य मर्मत गरेर संचालनमा ल्याउन सकिने एम्बुलेन्स सडाउन खोजेको छ,’ सभासद दिनेशचन्द्र यादवका निजी सचिव समेत भइसकेका सोहनलालले भने, ‘धेरै मेहनत, कष्ट र दुख सहेर ल्याएको एम्बुलेन्स मर्मत अभावमा थन्किएपछि असाध्यै पीर परेको छ । नरैनापुर क्षेत्रका विरामीले सास्ती खेप्नु परेको छ ।’
मन्दीर परिसरमा थन्किएको एम्बुलेन्स मर्मत गरेर संचालनमा ल्याउन नरैनापुरका सर्वसाधारणले माग गरेका छन्् । नयाँ खरिद गर्नुभन्दा पुरानोलाई मर्मत गरेर संचालनमा ल्याउँदा उत्तम हुने नरैनापुरका अगुवा कैलाश यादवले बताए । उनले मन्दीरमा एम्बुलेन्स थन्क्याएर गाउँपालिकाले अन्याय गरेको बताए । ‘नेपालगन्ज आउन गाडी पाइदैन । आफूसँग भएको एम्बुलेन्स मन्दीरमा थन्क्याउँदा विरामीले सास्ती खेप्नु परेको छ,’ उनले भने ।

Previous articleभेरी शीत भण्डारको अध्यक्षमा बलराम भट्टराई निर्वाचित
Next articleराष्ट्रिय अनुसन्धानका सहायक सूचक प्रविणको हत्या कसरी भएको थियो ? (विस्तृतमा पढ्नुहोस्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here