बाँके, २० पुस ।
किसानले सरकारले निर्धारण गरेको मुल्यमा धान विक्रि गर्नबाट बञ्चित भएका छन् । खाद्य ब्यवसाय तथा ब्यापार कम्पनी लि. (खाद्य संस्थान), मुख्य कार्यालय नेपालगन्जले सरकारले दिएको कोटो सकिएको भन्दै धान खरिद नगरेपछि बाँकेका किसान सरकारले निर्धारण गरेको मुल्यमा धान विक्रि गर्न नपाएका हुन् ।
धान विक्रिका लागि दुई हप्ता धाउँदा समेत कम्पनीसँग धान विक्रि गर्न नपाएको नेपालगन्ज उपमहानगरपालिका–१३ उदयपुरका प्रदीप मिश्राले गुनासो गरे । उनले टोकनका लागि लाइनमा बस्दा समेत नपाएको बताए । ब्यापारीसँग मिलेर कम्पनीका कर्मचारीले टोकन वितरण गरेको उनको आरोप छ । कम्पनीका कर्मचारी र ब्यापारी मिलेका कारण दुई हप्ता धाउँदासमेत टोकन पाउन सकिएन । टोकन नपाएपछि धान विक्रि गर्ने प्रयास असफल भएको छ,’ उनले भने ।
उनी जस्तै जानकी गाउँपालिका–६, गनापुरका रामनरेश यादवको प्रयास पनि असफल भएको छ । उनले पनि सरकारले निर्धारण गरेको मुल्यमा धान विक्रि गर्नका लागि एक हप्ता धाए । लामो लाइनमा बसे । टोकनका लागि हारगुहार गरे । तर, केहि सीप चलेन । सरकारले निर्धारण गरेको कोटो सकिएको भन्दै कम्पनीले उनलाई फिर्ता पठाई दियो । धान खरिदका लागि सरकारले दिएको कोटा सकिएको भन्दै कम्पनीका कर्मचारीले जवरजस्ती कम्पाउण्डबाट बाहिर निकाले । सरकारले कोटा निर्धारण गरेकै कारण सरकारी मुल्यमा धान विक्रि गर्न पाइएन,’ उनले भने ।
बाँकेमा अझैँ एक हजार क्विन्टल धान विक्रिका लागि किसानसँग रहेको अनुमान गरिएको छ । मुल्य पाउने आशामा किसानले धान विक्रि नगरेकोले अझैँ एक हजार क्विन्टल धान मौज्दात रहेको खाद्य कम्पनीका नेपालगन्ज प्रमुख रामबहादुर विष्टले बताए । धान खरिदका लागि थप कोटा आउने हो भने अझैँ एक हजार क्विन्टल धान विक्रिका लागि आउने निश्चित छ,’ उनले भने ।
कोटा सकिएकोले धान खरिद बन्द
सरकारले खाद्य ब्यवसाय तथा ब्यापार कम्पनी लि. (खाद्य संस्थान), मुख्य कार्यालय नेपालगन्जलाई ४० हजार क्विन्टल धान खरिद गर्ने कोटो दिएको थियो । अहिलेसम्म ३४ हजार क्विन्टल धान खरिद भइसकेको र थप ६ हजार क्विन्टल धान खरिदका लागि टोकन वितरण भइसकेको जानकारी दिए ।
उनले एउटा गाडीमा ५० क्विन्टल भन्दा धेरै धान ल्याउन नपाउने प्रावधान बनाएको बताए । उनले कोटाभन्दा बढि धान खरिद हुने अनुमान लगाए । ‘एउटा गाडीमा ५० क्विन्टल भन्दा धेरै ल्याउन नपाइने प्रावधान बनाइएको छ, तर कुनै गाडीमा ६० क्विन्टल र कुनै गाडीमा ७० क्विन्टलसम्म धान ल्याउँछन् । यो हिसावले ४० को ठाउँमा ५० हजार क्विन्टल धान खरिद हुने अनुमान छ,’ विष्टले भने ।
सरकारले कोटा थप नगरे तोकिएको भन्दा बढि धान खरिद गर्न नसकिने स्पष्ट पारे । सरकारले कोटा निर्धारण गरेर रकम पनि सोही अनुसार पठाएको बताए । ‘सरकारले थप कोटा नपठाए थप धान खरिद गर्न सक्ने अवस्था छैन,’ उनले भने ।
टोकन लिएकाहरुको धान २० माघबाट खरिद सुरु
खरिद गरेको धान खाद्य कम्पनी र नेशनल ट्रेडिङको गोदाममा राखिएको छ । भण्डारण गर्ने ठाउँ नभएकोले टोकन वितरण भइसकेको किसानको धान समेत ६ माघबाट खरिद गर्न बन्द गरिएको विष्टले जानकारी दिए । ‘५ माघसम्म धान खरिद गर्यौँ, राख्ने ठाउँ नभएकोले ६ माघदेखि खरिद बन्द गरेका छौँ । बाँकी किसानको धान २० माघबाट खरिद गर्न सुरु गर्छौँ,’ उनले भने ।
बजारमा मध्यम धान २३ सय र मोटा धान २१ सय रुपैँयामा खरिद, विक्रि भइरहेको छ । उनले बजार मुल्य भन्दा सरकारले निर्धारण गरेको धानको मुल्य बढि भएकोले कम्पनी प्रति किसानको आक्रर्षण बढेको जिकिर गरे । ‘एक क्विन्टलमा ५–६ सय रुपैँयाको फरक छ,’ उनले भने । बाँकेमा यस बर्ष २५ प्रतिशतले धान उत्पादन बृद्धि भएको उनले बताए ।