बाँके, ८ माघ ।
सडक दुर्घटना न्यूनिकरणमा सहयोग नेपालगन्जा स्लो बाइक प्रतियोगिता भएको छ । बास–हिरो स्लो बाइक नाम दिइएको उक्त प्रतियोगिताको उपाधी डुडुवा गाँउपालिका–४ कम्दीका राजु खाँनले जितेका छन् । ६० जना प्रतियोगीलाई पछि पार्दै उनले निर्धारित एक सय मिटरको दूरी ६ मिनेट २१ सेकेन्डमा पुरा गरे ।
लामो समयमा छोटो दूरी पार गर्नेलाई विजेता मानिएको प्रतियोगितामा ५ मिनेट ५ सेकेन्डमा दूरी पुरा गर्ने कोहलपुर नगरपालिका–१५ का सन्दिप यादब द्वितिय, ४ मिनेट ५९ सेकेन्डमा दूरी पार गरेका इलाका प्रहरी कार्यालय, जमुनाहका इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु गिरि तृतिय र ४ मिनेट २४ सेकेन्डमा दूरी पुरा गरि नेपालगन्जका राजु नागले सान्त्वना पुरस्कार हात पारे ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना भएका प्रतियोगीले क्रमशः दश हजार, सात हजार, चार हजार र दुई हजार रुपैँयासहित प्रमाण–पत्र पाएका छन् । बिजेतालाई नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले तीब्र गतिमा सवारी साधन चलाएकै कारण दुर्घटना बढेको बताउँदै उनले ‘चाँडो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ’ भन्ने उदाहरण दिए । उनले स्लो बाइक प्रतियोगिताले तीब्र गतिमा बाइक चलाउनेलाई प्रतियोगिताले निरुत्साहित गर्ने धारणा राखे ।
बढ्दो सवारी दुर्घटना न्यूनिकरणमा सहयोग गर्न प्रतियोगिता आयोजना गरिएको बासका अध्यक्ष रमेश सिटौलाले बताए । उनले ट्राफिक नियमको पालना गरि सिमित गतिमा सवारी साधन चलाउँदा दुर्घटनाबाट जोगिन सकिने बताए । प्रतियोगिताको उद्घाटन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले गरेका थिए ।
प्रतियोगितामा निर्णायकको भूमिका एमएस ट्रेड इन्टरनेशनल नेपालगन्जका प्रबन्ध निर्देशक माधब अर्याल, यातायात ब्यवस्था कार्यालय नेपालगन्जका निमित्त प्रमुख पूर्ण खत्री र ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज प्रहरी नायव निरीक्षक सिद्धिगणेश शाहले गरेका थिए ।