बाँके, ८ माघ ।
विपन्न परिवारका महिलालाई आत्मनिर्भर बनाउन बैजनाथ गाउँपालिकामा थारु हस्तकलामा आधारित ढकिया बुनाई तालिम सुरु भएको छ । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरगत बैजनाथ गाउँपालिकाका १६ जना विपन्न परिवारका महिलालाई थारु हस्तकलामा आधारित ढकिया बुनाई तालिम दिन थालिएको नागरिक सरोकार मंचका अध्यक्ष हेमन्त विकले जानकारी दिए ।
तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले थारु समुदायमा रहेको पुराना सीपलाई प्रवद्र्धन गरि उक्त सीपलाई परिमार्जन गरि विपन्न परिवारका महिलालाई आयआर्जनको बाटो देखाउन तालिमले सहयोगी भूमिका खेल्ने बताए । उनले थारु हस्तकलामा आधारित ढकिया बुनाई सीपबाट मनग्य आम्दानी गर्न सकिने बताउँदै यसले पुर्खाको सीपलाई संरक्षण समेत गर्ने धारणा राखे । हाम्रा पुर्खाले निर्माण गरेका धेरै राम्रा चिज छन् । यसको संरक्षण गर्न सकिए भोलीका सन्ततीलाई हस्तान्तरण गर्न सकिन्छ । अहिले संरक्षण गर्न सकेनौ भने भोली हामीले संग्रहालयमा हेर्न जानुपर्ने हुन सक्छ,’ अध्यक्ष रुचालले भने ।
उनले दैनिक प्रयोगमा आउने ढकिया बातावरण मैत्री समेत भएको बताए । मुज र काँसबाट विभिन्न थरिका बस्तु बनाएको आफूले देखेको बताउँदै उनले यसलाई विदेशमा समेत बजारिकरण गर्न सकिने बताए । यसको माग नेपालमा भन्दा विदेशमा बढ्दै गएको छ । प्लाष्टिकजन्य बस्तुले बातावरणमा असर पारेपछि विदेशीले ढकियाबाट बनेका सामग्री प्रयोगमा जोड दिएको पाइन्छ,’ उनले भने ।
गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी (विक) ले महिला उद्यमशील भएमात्र परिवार सम्पन्न हुने बताइन् । उनले सीपले महिलालाई समुन्नत बनाउने बताउँदै सीप सिकेका महिलाले अर्कामा परनिर्भर हुन नपर्ने धारणा राखिन् । थारु हस्तकलामा आधारित ढकिया बुनाई सीप विश्वकै नमुना भएको बताउँदै उनले यसको सम्बद्र्धन र प्रवद्र्धनमा गाउँपालिकाले सहयोग गर्ने आश्वासन दिइन् ।
नागरिक सरोकार मंचका अध्यक्ष हेमन्त विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुमन्तीका कार्यक्रम संयोजक सूर्यकुमार खड्का, प्रशिक्षक निरु चौधरी लगायतले विचार राखेका थिए ।