माधव नेपालको नजरमा केपी ओली दुर्योधन जस्तै घमण्डी र पाखण्डी

बाँके, ४ पुस ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुर्योधन जस्तै अर्काको कुरा नसुन्ने घमण्डी, पाखण्डी, अत्याचारी, तानाशाही प्रबृत्तीका नेता भएको बताएका छन् । नेकपा प्रचण्ड–नेपाल समुहले नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई दृष्टिकोण र चिन्तनमा समस्या भएको आरोप लगाए ।
ओलीको तानाशाही प्रबृत्तीको विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुह आन्दोलनमा उत्रिएको उनले जिकिर गरे । पार्टीको सिद्धान्त, विचार र नीतिमा हिड्न नजान्ने ब्यक्तिलाई नेता मान्न नसकिने उनको भनाई थियो । उनले ओलीले मदन भण्डारी र पुष्पलाल श्रेष्ठको सिद्धान्तलाई समेत कुल्चेको आरोप लगाए । ‘कम्यूनिष्ट पार्टीमा नेता प्रधान हुँदैन, नीति प्रधान हुन्छ, तर केपी ओलीले नेता प्रधान मानेकै कारण अहिलेको अवस्था सिर्जना भयो,’ उनले भने ।
ओलीले पार्टी एकिकरण कहिलै नचाहेको उनले ठोकुवा गरे । केपी ओलीले पूर्व एमाले र पूर्व माओवादीलाई भर्याङ बनाएर प्रधानमन्त्रीको कुर्सी टिकाई रहने खेल खेलेको उनको भनाई थियो । संसद विघटन संविधान विपरित भएको बताउँदै उनले कुनै पनि हालतमा संसद विघटन नहुने दावी गरे । संविधान विपरित भएका निर्णयलाई सर्वोच्च अदालतले खारेज गर्ने विश्वास ब्यक्त गरे । ‘जनता सर्वोच्च अदालतभन्दा बलियो छन् । हामीले जनताको ताकतबाट संसद पुनस्र्थापना गरि छाड्छौँ,’ उनले भने ।

Previous articleनयाँ बर्षको रुपमा मनाइने माघे सक्रान्तिमा थारु समुदायले के के गरे ? (भिडियो सहित)
Next articleस्वशासनका लागि पश्चिम तराईका थारु गाउँमा धमाधम चुनिदै बरघर, बरघरको स्वशासन कस्तो छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here