पत्थरकट्टाको पुर्ख्यौली पेशा संकटमा

बाँके, २७ पुस ।


जानकी गाउँपालिका–३, इन्द्रपुरका २२ बर्षिय शिव पत्थरकट्टाले सिलौटा, जाँतो बनाउने, सनपाटको डोरी बनाएर विक्री गर्दै आएका छन् । आयश्रोतको अन्य उपाय नभएपछि बाबुआमाले गर्दै आएको पुर्ख्यौली पेशा अंगालेको उनले बताए ।
उनका बाबुआमाको पालामा मसला पिढ्ने सिलौटा, मकै, गहुँ, जौँ, चामल पिढ्ने जाँतो, र पशुचौपाया तथा अन्य घरायसी प्रयोजनाका लागि प्रयोग हुने सनपाटका डोरीको राम्रो ब्यापार हुन्थ्यो । उनका बाबुआमाले उक्त ब्यवसाय गरेर राम्रोसँग जिवन गुजार गरे । तर, आधुनिकतासँगै उनको पेशामा विराम लागेको छ ।
भारतको बहराइचबाट खरिद गरेर ल्याएको ढुंगालाई काँटछाँट गरेर उनले कलात्मक बनाउँछन् । र, विक्रीका लागि गाउँ–गाउँ पुग्छन् । तर, विक्री हुँदैन । ‘मेहनत गरेर बनाएको सिलौटा, जाँतो विक्रिका लागि गाउँ–गाउँ जान्छौँ, तर विक्रि हुँदैन,’ उनले भने ।
पत्थरकट्टा समुदायले भारतको बहराइचबाट ढुंगा किनेर ल्याउने गरेका छन् । एउटा सिलौटा बनाउने ढुंगाको मूल्य भारतीय एक सय रुपैयाँ पर्ने गरेको जिल्ला पत्थरकट्टाले बताए । मेहनत गरेर बनाएको सिलौटा एकदमै कम मूल्यमा माग्ने गरेको उनले बताए ।
सिलौटालाई मिक्चरले र जाँतोलाई मिलले विस्थापित
गाउँघरमा प्रयोग हुँदै आएको जाँतोलाई मिलले विस्थापित गरेको छ । भने, मसला पिढ्ने सिलौटाको ठाउँलाई मिक्चरले र सनपाटका डोरीलाई प्लाष्टिकका डोरीले ओगटेपछि पत्थरकट्टाको पुख्र्यौली पेशा संकटमा परेको छ ।
गाउँघरमा जाँतो र सिलौटा भएको घर विरलै पाइन थालेको छ । सिलौटामा मसला पिढ्न गाह्रो लाग्ने भएकोले अधिकांश परिवारले मिक्चर किनेका छन् । ढिकी र जाँतोमा पिढ्नेको संख्या पनि एकदमै न्यून छ । ‘जाँतो र सिलौटाको काम छैन भनेर किन्न कोही मान्दैनन्,’ उनले भने ।
बल्लतल्ल किने पनि एकदमै कम मूल्यमा माग्ने गरेको बताउँदै उनले धेरै पटक रित्तो हात घर फर्किन परेको बताए । ‘सस्तोमा दिने भए दिनुस् नत्र लैजानुस्, नदिए हामीले मिक्चर किन्छौँ भनेर मोलमोलाई गर्छन्,’ उनले भने ।


एकदमै कम मूल्यमा बिक्री गर्न बाध्य
उनले एकसय ६० रुपैयाँमा सिलौटा बनाउने ढुंगा खरिद गर्छन् । एउटा सिलौटा बनाउन कम्तीमा तिन–चार घण्टा लाग्ने गरेको फुला पत्थरकट्टाले बताइन् । उनले तिनसय रुपैयाँ लगाएर बनाएको सिलौटा चार सय देखि साढे चार सय रुपैयाँमा विक्री गरेको बताइन् ।
उनले गुजारा चलाउन कम नाफा खाएर सिलौटा विक्री गर्न बाध्य भएको बताए । ‘दिनभर गाउँ–गाउँ डुलाएर विक्री गर्नु पर्छ, तर दिनभरको मजदुरी उठ्दैन,’ उनले भनिन् ।

Previous article‘पाटेबाघ’ का लागि बाँके राष्ट्रिय निकुञ्ज:११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू
Next articleनयाँ बर्षको रुपमा मनाइने माघे सक्रान्तिमा थारु समुदायले के के गरे ? (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here