‘पाटेबाघ’ का लागि बाँके राष्ट्रिय निकुञ्ज:११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू

बाँके राष्ट्रिय निकुञ्जमा देखिएको पाटे बाघ । फोटो सौजन्यः बाँके राष्ट्रिय निकुञ्ज ।

विश्वराज पछल्डङ्ग्या
बाँके, २५ पुस ।

नेपालगन्जदेखि १६ किलोमिटर र कोहलपुर नगरपालिकासँग जोडिएको बाँके राष्ट्रिय निकुञ्ज पाटेबाघको संख्याका आधारमा तेस्रो नम्बरमा पर्छ । नेपालगन्जबाट सार्वजनिक बस, अटो रिक्सा, जिपबाट निकुञ्जमा सजिलै पुग्न सकिन्छ । कोहलपुरसँग जोडिएको यो निकुञ्ज विशेष गरि पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २८ असार, २०६७ मा स्थापना भएको हो । कूल ५५० वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।
निकुञ्जमा जैविक, प्राकृतिक, जीवजन्तु आकर्षणका केन्द्र हुन् । यहाँ सीमसार क्षेत्र, डाँडाकाँडा, खोला–नदीनाला लक्षित पर्यटन विस्तार भएको छ । जंगलभित्र बाटो पत्ता लगाउन संकेत निर्माणसमेत गरिएको छ । पाटेबाघ संरक्षणका लागि विस्तार भएको निकुञ्जमा बाघको संख्या २१ पुगेको छ ।
वन्यजन्तु संरक्षण र पर्यापर्यटनका लागि बाँके राष्ट्रिय निकुञ्ज एउटा राम्रो थलो बनेको छ । वन्यजन्तुको अवलोकन, मनोरञ्जन र स्वच्छ वातावरणमा रमाउन खोज्ने पर्यटकका लागि बाँके निकुञ्ज राम्रो गन्तव्यको रुपमा स्थापित भएको छ ।
हाइकिङ र सफारीको ब्यवस्था


जंगलभित्र वनपथ खोलिएकोले पर्यटकले जंगल सफारीको मजा लिन थालेका छन् । साथै अहिले चुरे पर्वतसम्म हाइकिङ् पनि सुरु भएको छ । सफारीका लागि सडक सञ्जाल विस्तार भएको छ, जहाँ बाह्रै महिना गाडीमा र पैदल सफारी गर्न सकिन्छ । खड्कवार–सल्यान घुइयाबारी, ठुरियाखोला–हात्तीदमार सल्यान, अगैया–पानीमुहान दाङ र सुतैया–ओभरीसम्म जंगल सफारी तथा पैदलयात्रा गर्न मिल्ने बाटो बनाइएको छ ।
जंगलका विभिन्न ठाउँमा घाँसेमैदान, पानीपोखरी र मचान पनि बनाइएका छन् । गोठेरी, ठुरिया, जलसैनी, बुच्चापुर, खैरीफाँटा, कठौती खोला, चौकाफाँटा, चुनभट्टीलगायत सानाठूला दर्जन बढी घाँसेमैदान निर्माण भएका छन् । यहाँ पानीपोखरी, चराचुरुङ्गी र वन्यजन्तु अवलोकनका लागि काठको मचान निर्माण गरिएको छ । पानीपोखरी, पानी जम्नेस्थल र घाँसेमैदानको चारैतिर घना जंगली (झाडी) रहेकाले जनावर, चुराचुरुङ्गी हेर्न र घुम्न लायक छ ।
निकुञ्जले आन्तरिक र वाह्य पर्यटकका लागि जंगल सफारी खुला गरेको छ । निकुञ्जले अहिलेलाई दर्जन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा स्वीकृत गरेको छ । आन्तरिक र वाह्य पर्यटकले टिकट अनुमति लिएर गाडी र पैदल गरि जंगली सफारी गर्न व्यवस्था गरिएको छ । यस्तै हात्ती सफारी गर्ने ब्यवस्था पनि मिलाइएको छ ।
बाँके निकुञ्ज ‘तराई ड्यूर ग्रासल्याण्ड’ क्षेत्र


यो निकुञ्ज दुई सय इको रिजन क्षेत्रमध्ये ‘तराई ड्यूर ग्रासल्याण्ड’ क्षेत्रको एउटा भाग पनि हो । यहाँ जैविक विविधताको दृष्टिले आठ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ८३ प्रजातिका रूख, पाँच प्रजातिका लहरा तथा ३६ प्रजातिका झाडी, ३४ प्रजातिका स्तनधारी, तीन सय बढी प्रकारका चराको प्रजाति, ५५ प्रजातिका माछा, सात प्रजाति सरिसृप तथा २४ प्रकारका उभयचर पाइन्छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू रेकर्ड गरिएका छन् ।
बाघ संरक्षणका निम्ति स्थापना भएको निकुञ्जमा चौका, जरायो, चितुवा, हात्तीलगायतका जनावरको संख्या पनि वृद्धि भएको छ । यहाँ चित्तल, बँदेल पनि हेर्न र देख्न सकिन्छ ।
पर्यटकका लागि थारु परिकारको ब्यवस्था


बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकले राप्तीसोनारी गाउँपालिका–१ मा पर्ने गाईलेक, वडा नं. ३ मा पर्ने भुवर भवानी मन्दिर, वडा नं. ९ को ढकेरी पिकनिक पार्क, ढकेरीकै झिँझरी सामुदायिक वन क्षेत्रको पर्यटकीय पार्कको अवलोकन गर्न पाइन्छ ।
पर्यटकले स्थानीय थारु संस्कृतिको अवलोकनका साथै स्थानीय थारु परिकार (ढिक्री, अनदी चामलको रोटी, सिद्रा माछाको तरकारी, चुनी बर्या, आलुको कचालु) को स्वाद लिन पाउने ब्यवस्था समेत छ । यसका साथै पर्यटकका लागि मयुर नाच हेर्ने ब्यवस्था पनि गरिएको छ ।
राप्ती नदीमा माछाहरू खेलेको, उफ्रने गरेको दृश्य साँच्चै नै हेर्न लायक हुन्छ । साथै नदीमा मगर गोही हेर्न पनि सकिन्छ । यहाँ पर्यटकहरु रमाउनुको साथै अध्ययन अनुसन्धान गर्ने बातावरण मिलाइएको छ ।
पर्यटकका लागि होमस्टे संचालन


बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकका लागि चिसापानी गाभरमा गाभर भ्याली होमस्टे र ढकेरीको नयाँगाउँ होमस्टे संचालनमा छन् नै निकुञ्जसँग जोडिएको ढकेरीमा पनि सुविधा सम्पन्न होटल खुलेका छन् । निकुञ्ज घुमेर कोहलपुर र नेपालगन्ज सजिलै पुग्न सकिने भएकोले पर्यटकलाई खान, बस्नको समस्या छैन ।
गाभर भ्याली होमस्टेमा थारु र मुगेली स्वादका परिकारको ब्यवस्था छ । यहाँ एसी सहितका अट्याच बाथरुम भएका सुविधा सम्पन्न होटलका साथै थारु र मुगेली संस्कृतिका नाचगान हेर्ने र स्थानीय परिकार खान पाइन्छ ।
त्यसैगरि, नयाँगाउँ होमस्टेमा पनि थारु संस्कृति र संस्कार सहितको बास र खानपिनको ब्यवस्था छ । पर्यटकको माग अनुसारका नाचगान देखाउने र खानाको ब्यवस्था गरिएको छ । पर्यटकलाई आफ्नै घरमा बसेर खाएको भान गराउने गरि होमस्टेमा ब्यवस्था गरिएको होमस्टे संचालक कृष्णलाल चौधरीले बताए ।


Previous articleधेरै दुख पाएँ, तर हिम्मत हारिन
Next articleपत्थरकट्टाको पुर्ख्यौली पेशा संकटमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here