धेरै दुख पाएँ, तर हिम्मत हारिन

कृष्णी थारु
उपसभामुख, लुम्बिनी प्रदेश


मेरो बुवाआमा जमिनदारको घरमा कमैया बसेकोले मेरो जन्म पनि जमिनदारकै घरमा भयो । हामी पाँच बहिनी छौँ । मेरो बुवाको कमाईले खान नपुग्ने भएकोले मेरो बुवाआमाले हामीलाई जमिन्दारको घरमा कम्लहरी लगाउनु भयो । ७ वर्ष हुँदादेखि नै म कम्लहरी बसेको हुँ । बिहेपछि पनि म कम्लहरी बसेँ । कम्लहरी बस्दा धेरै दुःख भोग्नु प¥यो । कहिलै राम्रोसँग खान र सुत्न पाएन । मेरो लागि खाना नपकाउने भएकोले उनीहरुले खाएर बच्यो भने खान्थेँ, बचेन भने भोकै पनि सुत्नुपथ्र्यो ।
बाल्यकालदेखि अरुको घरमा काम गरेकी मैले विवाह पश्चात पनि जमिन्दारको घरमा बुक्रहीको रुपमा काम गरेँ । तत्कालिन सरकारले २ साउन, २०५७ मा सबै बधुवा श्रमिक मुक्त भएको घोषणा गर्यो । अन्य बधुवा श्रमिकसँगै म पनि मुक्त भएँ ।
कमैया मुक्त गर्दा सरकारले महिलालाई पहिचान नदिएको भन्दै विभेदका विरुद्ध म उभिएँ । कमैया महिलाको पहिचानका लागि परिचय–पत्र दिलाउने र त्यसपछि पुरुषले गर्ने काम गर्ने महिलालाई ज्यालामा विभेद भइरहेको थियो । उक्त विभेद अन्त्य हुनु पर्छ भन्दै अधिकारका लागि म पनि अभियानमा सहभागी भएँ । स्वास्थ्य उपचार, बालबालिकाको निशुल्क शिक्षा लगायत पुनस्र्थापना हुन बाँकी मुक्त कमैयाको सम्मानजनक पुनस्र्थापना हुनुपर्ने माग गर्दै आन्दोलनको अगुवाई मैले गरेँ ।
राज्यले कमैयालाई जमिन लगायत अन्य सुविधा दिए पनि कम्लहरी र बुक्रहीलाई कुनै पनि सुविधा नदिएपछि अधिकार प्राप्तिका लागि मेरो नेतृत्वमा मुक्त कम्लहरी विकास मंच गठन भयो । मैले त्यसको लामो समयसम्म नेतृत्व गरेँ । मुक्त कम्लहरीको अधिकार स्थापितका लागि प्रधानमन्त्रीदेखि राष्ट्र प्रमुख समक्ष पुगेर अधिकारका लागि आवाज उठाएँ । आन्दोलनका क्रममा प्रहरीको लाठि खाएँ, जमिन्दार र पुञ्जीपतिको गाली खाएँ । तै पनि हिम्मत हारिन । निरन्तर मुक्त कम्लहरीको अधिकार स्थापितका लागि लडिरहेँ ।
हिजोका दिनमा दुःख, पीडा, अन्याय, अत्याचार मैले भोगेँ । यी सबै भोग्नुको कारण गरिबी थियो । अहिले म यो ठाउँमा आइपुग्दा वास्तवमा मलाई गर्व महसुुस भएको छ । यो गरिमामय ठाउँमा म आफैँ उपस्थित हुन पाएको छु ।
समस्या समाधान गर्नका लागि मैले नीति, नियम बनाउन मेरो भूमिका रहेको छ । नीति, नियम बनाएर मात्र भएन, त्यसको कार्यान्वयन पनि महत्वपूर्ण हो । बनाइसकेपछि क्रमबद्ध रुपमा त्यसको कार्यान्वयमा लैजानु पर्छ । म एक्लैले गरेर साध्य नहुने भएकोले सबैसँग परामर्श, छलफल गरेर अघि बढ्ने गरेको छु । पक्का पनि हिजोको दिनमा पिल्सिएकाहरुको उत्थानको पक्षमा मैले भूमिका निर्वाह गरिरहेको छु ।
म पनि मान्छे हुँ । हिजोका दिनमा कुन मालिकको घरमा काम गर्न जाँदा मान्छे सरह ब्यवहार होला भनेर म सोचिरहन्थेँ । कुन मालिकको घरमा काम गरेपछि मलाई उचित ज्याला दिन्छन् होला । अनि मेरो छोराछोरीको लालनपालन, शिक्षा दिक्षा दिन सकिएला भन्ने कल्पना गर्थेँ।
अरु जसरी हिँडिरहेका छन्, घुमिरहेका छन् । उनीहरु जस्तै म पनि स्वतन्त्रपूर्वक हिँड्न पाउँछु कि पाउँदिन भन्ने सोच्थेँ । आज म यो ठाउँमा आईपुग्दा वास्तवमा म गर्वको महसुस गरिरहेको छु । मैले कल्पना गरेको थिइन कि यो गरिमामय ठाउँमा मेरो उपस्थिति हुन्छ । यो स्थानमा आइपुग्छु भनेर मैले सोँचेको थिइन । आज म यो ठाउँमा आइपुग्दा साह्रै खुसी लागेको छ । मेरो आमा हुनुहुन्न, तर बुवा हुनुहुन्छ । उहाँ धेरै खुसी हुनुहुन्छ । मैले काठमाडौँसम्म देख्न पाइन । मेरो छोरी यहाँसम्म पुगिन भनेर मेरो बुवा साह्रै खुसी हुनुभएको छ । फोनमा कुरा भएको थियो । उहाँ खुसीले रुनु भयो ।
सरकारले श्रीमानसँग काम गरेका महिलालाई पहिचान र आत्म सम्मानका लागि परिचय पत्र दिनु पर्दछ भन्दै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमैयाको पहिचान प्राप्त महिलालाई संगठित गर्दै हिडेँ । फलस्वरुप मुक्त कम्लहरीले केहि भए पनि राहत महशुस गरेँ । आज म जुन ठाउँमा पुगेको छु त्यो मेरो लगनशिलता, मेहनत र आत्मविश्वासले नै हो भन्ने मैले महशुस गरेको छु । यहाँसम्म पुर्याउने तत्कालिन नेकपा (एमाले) का अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको योगदान छ । यसका लागि उहाँ (प्रधानमन्त्री ओली) र उहाँको कमिटीलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।

Previous articleविपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण
Next article‘पाटेबाघ’ का लागि बाँके राष्ट्रिय निकुञ्ज:११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here