विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण

बाँके, २४ पुस ।


बर्दियाको राजापुर, गुलरिया र बढैयातालका विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई बाँके युनेस्को क्लबले १२ लाख रुपैँया बढीको शैक्षिक सामग्री, ट्रयाक सुट र विद्यालय पोशाक वितरण गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बर्दियामा सञ्चालित बाल विवाह, चाँडो हुने विवाह र जबरजस्ती विवाह परियोजना अन्तर्गत उक्त शैक्षिक सामग्री वितरण गरेको क्लवका संरक्षक प्रवेज अलि सिद्धिकीले जानकारी दिए ।
राजापुर, बढैयाताल, गुलरिया र बाँसगढीमा २०१ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको तथा राजापुर, बढैयाताल र गुलरियाका ६७ जनालाई चिसोमा लगाउने न्यानो कपडा ट्रयाक सुट वितरण गरिएको उनले बताए ।
राजापुरमा आयोजना गरिएको एक समारोहमा भेरी मावि राजापुर, नेरामावि नयाँ गाउँ राजापुर र पदमकुमारी मावि राजापुरका ४० जना बालबालिकालाई सो शैक्षिक सामग्री, ट्रयाक सुट र विद्यालय पोशाक वितरण गरिको क्लवका अध्यक्ष राजेन्द्र चौधरीले बताए ।
अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजापुर नगरपालिकाका उपमेयर मनकला चौधरी र वडा नम्बर ८ का वडा अध्यक्ष चिन्तामणी आचार्यले शैक्षिक सामग्री वितरण गरेका थिए । सो अवसरमा राजापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख र सामाजिक विकास शाखा प्रमुखको पनि उपस्थिति रहेको थियो ।
उक्त अवसरमा ४० जना बालबालिकालाई जनही एउटा व्याग, एउटा स्वीटर, एक सेट ट्रयाक सुट, एउटा टोपी, एक जोड विद्यालय पोशाक, पेन्सिल, कपी र पोशाक सिलाउन नगद रकम प्रदान गरिएको अध्यक्ष चौधरीले बताए ।
यसैगरि सोही अवसरमा राजापुरकै विद्यालय बाहिरका तथा जोखिममा रहेका २५ जना बालबालिकालाई न्यानोका लागि ट्रयाक सुट वितरण गरिएको उनले बताए । त्यसअघि गुलरियामा आयोजित एक कार्यक्रममा गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरिले १८ जना बालबालिकालाई ट्रयाक सुट वितरण गरिन् ।
सोही प्रकारले बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले पनि सो गाउँपालिकाका बालबालिकालाई ट्रयाक सुट र शैक्षिक सामग्री वितरण गरेको क्लवले जनाएको छ ।

Previous articleबाँकेलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न उपमहानगरको अभिमुखिकरण
Next articleधेरै दुख पाएँ, तर हिम्मत हारिन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here