छोटी भन्सार पुनर्स्थापना नहुँदा राज्यलाई दैनिक लाखौँ राजस्व घाटा

नरैनापुर गाउँपालिकाको नरैनापुरमा रहेको छोटी भन्सार । मर्मत, सम्भार नहुँदा जीर्ण बनेको छ ।

बाँके, ९ मंसिर ।


बाँकेका छोटी भन्सार पुनर्स्थापना हुन नसक्दा राज्यलाई दैनिक लाखौँे राजस्व घाटा हुँदै आएको छ । द्वन्द्वकाल अघि नेपाल–भारत सीमा नाका अन्तरगत बाँकेको सुइया, नरैनापुर, भोज भगवानपुर, खडैचा, हिरमिनिया, साइगाउँ र उढरापुरमा छोटी भन्सार थिए । असुरक्षाको कारण देखाउँदै द्वन्द्वकालमा एकसाथ विस्थापित भएका छोटी भन्सार अहिलेसम्म पुनस्र्थापना नभएपछि राज्यलाई दैनिक लाखौँ रुपैँया राजस्व घाटा हुने गरेको छ ।
छोटी भन्सार पुनर्स्थापना हुन नसक्दा नाकामा राज्यको उपस्थिति पनि शून्य जस्तै भएको छ । नाकामा छोटी भन्सार पुनस्र्थापना नहुँदा खुलेआम चोरी पैठारी हुने गरेको एक सुरक्षाकर्मीले बताए । ‘भन्सार नहुँदा सामान नियन्त्रण सकिदैन । नियन्त्रणमा लिए पनि बुझाउने ठाउँ छैन,’ ति सुरक्षाकर्मीले भने ।
अवैध रुपमा हुने चोरी निकासी नियन्त्रणका लागि सरकारले छोटी भन्सार भएका नाकामा सशस्त्र प्रहरी र जनपद प्रहरी खटिएको छ । तर, छोटी भन्सार नहुँदा सुरक्षाकर्मी मुकदर्शक जस्तै भएका छन् । łभारतबाट सामान ल्याएको हेर्ने बाहेक अन्य उपाय छैन,’ सीमा प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक तोजेन्द्र विसीले भने, ‘हामीले नियन्त्रणमा लिएको सामान बुझाउने ठाउँ पनि छैन ।’
छोटी भन्सार नहुँदा सर्वसाधारणले भारतबाट खुलेआम सामान ल्याउने गरेका छन् । अवैध रुपमा ल्याएको सामान जफत गरौँ बुझाउने ठाउँ छैन । ‘नियन्त्रण गरेर जफत नगरौँ खुलेआम सामान भित्रिन्छ । छोटी भन्सार पुनस्र्थापना नहुँदा मुकदर्शक भएर बस्नुको विकल्प छैन,’ विसीले भने ।
उनले भारतीय सीमाबर्ती बजार बघौडा लगायतका बजारबाट किनमेल गरेको सामान सुईया नाकाबाट भित्रिने गरेको बताए । उनले यस क्षेत्रका सर्वसाधारण थोरै सामान पनि भारतीय बजारमा निर्भर भएको बताए । नेपालगन्ज नाकामा आउजाउमा कडाई गरिएपछि बाँकेका सर्वसाधारण किनमेलका लागि डुडुवाको खडैचा, नरैनापुरको सुईया, भोजभगवानपुर, हिरमिनिया छोटी नाका प्रयोग गर्न थालेका छन् ।
साप्ताहिक हाटबजारमा दैनिक एक हजार पुग्छन् नेपाली
छोटी भन्सार भएका नाका नजिक भारतीय ब्यापारीले साप्ताहि रुपमा बजार समेत लगाउने गरेका छन् । उक्त बजारमा नेपालीको ठूलो भीड लाग्ने गर्दछ । नुनदेखि सुनसम्म पाइने हाट बजारमा दाङका सर्वसाधारण समेत किनमेलका लागि आउने गरेको एक ब्यापारीले बताए । साप्ताहिक रुपमा लाग्ने बजारमा किनमेल गर्ने र भण्डारण गरेर लैजाने गरेका छन् ।
दैनिक एक हजार भन्दा धेरै सर्वसाधारण किनमलेका लागि हाट बजार पुग्ने गरेका छन् । साइकल, मोटरसाइकलमा समेत लिएर आउने नेपालीलाई रोक्न सुरक्षाकर्मीले प्रयास गरे पनि राजस्व लिने आधिकारिक निकाय नहुँदा निन्त्रण गर्न समस्या भएको खडैचा नाकामा खटिएका एक प्रहरी अधिकृतले बताए । ‘घर खर्चका लागि भनेर हाट बजारमा जान्छन् । ‘धेरै बर्षदेखि किनमेल गर्दै आएकोले नियन्त्रण गर्र्न समय लाग्ने देखिन्छ । छोटी भन्सार भएको भए हामीलाई पनि सजिलो हुने थियो,’ ति प्रहरी अधिकृतले भने ।

भारतीय सीमावर्ती हाट बजारमा किनमेल गर्दै नेपाली ।


अध्ययन गरि पुनस्र्थापनाको पहल गर्छौँः प्रमुख भन्सार अधिकृत
लामो समयदेखि छोटी भन्सार पुनस्र्थापना नहुँदा राज्यलाई राजस्व घाटा भइरहेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले स्विकार गरे । उनले अवैधरुपमा हुने चोरी निकासी नियन्त्रणमा सुरक्षाकर्मीले प्रयास गरे पनि राजस्व उठाउने कार्यालय नहुँदा दाखिला गर्न नेपालगन्ज आउनुपर्ने बाध्यता भएको बताए ।
उनले जिल्लामा भएका छोटी भन्सारको अध्ययन गरि पुनस्र्थापनाका लागि पहल गर्ने स्पष्ट पारे । उनले अन्य जिल्लाका छोटी भन्सार पुनस्र्थापना भइसकेकोले यहाँका छोटी भन्सार पनि छिट्टै पुनस्र्थापना हुने बताए । ‘कुन छोटी भन्सार स्थापना गर्दा कति फाइदा हुन्छ ? सुरक्षाको अवस्था कस्तो छ ? लगायतको अध्ययन गरि पुनर्स्थापनाका लागि मन्त्रालयमा परिपत्र गर्छौँ,’ प्रमुख भन्सार अधिकृत भण्डारीले भने ।
सुरक्षाका लागि सुरक्षाकर्मी पर्याप्त
द्वन्द्वकाल अघि छोटी भन्सारमा सुरक्षाकर्मीको संख्या एकदमै न्यून थियो । अहिले छोटी भन्सार भएका ठाउँमा जनपद र सशस्त्र प्रहरी तैनाथ छन् । भने, हरेक तीन किलोमिटरमा सशस्त्र प्रहरीको विओपी बसेको छ ।
छोटी भन्सार पुनस्र्थापना भए सुरक्षा दिन सकिने सशस्त्र प्रहरी बल विओपी सुइयाका इन्चार्ज प्रहरी निरीक्षक धिरेन्द्र बडुवालले बताए । उनले भन्सारमा कुनै समस्या आए आधा घण्टाभित्र दुई सय सुरक्षाकर्मी तैनाथ गर्न सकिने बताए । ‘भन्सार पुनस्र्थापना भए हामी सुरक्षा दिन तयार छौँ,’ उनले भने ।

Previous articleथारु जातिम ‘संयुक्त परिवार’: थारुनसे सिख्ल कम्यूनिष्ट ‘कम्यूनिजम’
Next articleमाघे सक्रान्तिः थारु सम्वत् २६४६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here