कोरोना संक्रमण मृत्यूदर भन्दा आत्महत्या चार गुना धेरै

बाँके, १२ पुस ।


कोरोना संक्रमण मृत्युदर भन्दा आत्महत्या चार गुना धेरै भएको एक तथ्यांकले देखाएको छ । बाँकेमा दैनिक सरदर एक जनाले आत्महत्या गरेको देखिन्छ । ५ असारदेखि ११ पुससम्म एक सय ९४ जनाले आत्महत्या गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
आत्महत्या गर्नेमा पुरुषको संख्या बढि छ । ६ महिनामा एक सय ३४ पुरुष र ६० महिलाले आत्महत्या गरेको उनले बताए । उनले कोरोना भन्दा आत्महत्याबाट हुने मृत्युदर खतरा रुपमा अगाडी आएको बताए । ‘कोरोनाका कारण ९ महिनामा ४३ जनाले ज्यान गुमाउँदा ६ महिनामा एक सय ९४ जनाले आत्महत्या गरेका छन्,’ एसपी रानाले भने ।
भदौँ महिनामा सबैभन्दा धेरैले आत्महत्या गरेको उनले बताए । भदौँमा १० महिला र २५ पुरुष गरि ३५ जनाले आत्महत्या गरेको बताउँदै उनले असोज र कात्तिकमा ३१–३१ जनाले आत्महत्या गरेको एसपी रानाले जानकारी दिए । ‘आत्महत्याको विवरण हेर्दा असोज र कात्तिकमा पनि आत्महत्या गर्ने पुरुषको संख्या नै बढि देखिन्छ,’ उनले भने ।
त्यसैगरि, मंसिरमा २५, साउनमा २४ र ११ पुससम्म आठ पुरुष तथा चार महिला गरि १२ जनाले आत्महत्या गरेका छन् । आत्महत्यामा मुद्धा दायर हुने संख्या भने एकदमै न्यून देखिएको छ । असार यता बाँके प्रहरीमा आत्महत्या सम्बन्धि ३६ वटा मुद्धा मात्र दर्ता भएको एसपी रानाले बताए ।
७० जनाले गरे आत्महत्या प्रयास
बाँके प्रहरीका अनुसार, ६ महिनाको अवधिमा ३७ पुरुष र ३३ महिला गरि ७० जनाले आत्महत्याको प्रयास गरेका छन् । ‘भदौँ महिनामा १५ जनाले आत्महत्या प्रयास गरेको बताउँदै उनले असोज र कात्तिकमा ११–११, साउनमा १२, मंसिरमा चार र पुसमा दुई जनाले आत्महत्या प्रयास गरेको तथ्यांक छ,’ रानाले भने ।
उनले बेरोजगारीका कारण सिर्जना हुने आर्थिक अभाव र प्रेम आत्महत्याका मुख्य कारण बनेको बताए । ‘आर्थिक अभावले परिवारमा सिर्जना हुने कलह र सानै उमेरमा प्रेमजालमा फसेर विवाह गर्न नपाएकाहरुले आत्महत्या गरेको देखिन्छ,’ एसपी रानाले भने ।

Previous articleदेशबन्ढ्या गुर्वा (संस्कृति)
Next articleदुई तिहाईको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले गैर कम्युनिष्टलाई फाइदा पुर्याएः नेकपा नेता भट्टराई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here