दुई दशकदेखि जग्गाधनी पूर्जाको पर्खाईमा नरैनापुरका पाँचसय परिवार

नेताले झुठो आश्वासन दिए । पूर्वराजाले समेत आश्वासन पूरा गरेनन् ।

जग्गाधनी पूर्जाको पर्खाईमा नरैनापुर गाउँपालिका–४, नौसहाराका स्थानीय ।

बाँके, २९ मंसिर ।


नरैनापुर गाउँपालिका–४, नौसहाराका झण्डै पाँच सय परिवार विगत ३९ बर्षदेखि जग्गा धनी पूर्जाको पर्खाईमा छन् । उनीहरु विक्रम सम्वत् ०३८ सालदेखि बसोबास गरेका उनीहरु जग्गाधनी पूर्जाका लागि काठ्माडौँसम्म पुगे पनि अहिलेसम्म पाउन सकेका छैनन् । तत्कालिन सरकारले एक जनाको नाममा ५ विघा भन्दा बढि जमिन राख्न नपाइने हदबन्दी लागू गरेपछि नरैनापुरका सर्वसाधारण उक्त जमिनमा घर–टहरा बनाएर बसोबास गर्न थाले । तर, उनीहरु हदबन्दी भित्रको जमिन भए पनि स्थानीय रामानन्द शर्मासँग खरिद गरेर घर–टहरा बनाएर बसेका हुन् ।
राजनीतिक दलले नौसहारालाई सिढी बनाएर राजनीति गर्दै आएको स्थानीय साविर खाँले बताए । संघीय, प्रदेश र स्थानीय निर्वाचनमा राजनीतिक दलका नेताले नौसहाराका सर्वसाधारणलाई जग्गाधनी पूर्जा दिने आश्वासन बाँड्ने गरेको उनले बताए । łचुनावका बेला जितेमा जग्गाधनी पूर्जा दिने मिठो आश्वासन र प्रलोभन देखाउँछन् । जितेर गएपछि फर्केर आउँदैनन् । चुनावका बेला गरेको बाचा पूरा गर्न भन्दा उल्टै हपार्छन्,’ खाँले दुखेसो पोखे ।
नरैनापुर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष, गाउँपालिकाका प्रमुख र उपप्रमुखले पनि जग्गा धनी पूर्जा बनाई दिने आश्वासन दिएर चुनाव जिते । तर, उनीहरु चुनाव जितेपछि फर्केर नआएको आरिफ खानले बताए । łजग्गाधनी पूर्जा बनाई दिने आश्वासन सवैले दिन्छन्, तर ब्यवहारमा लागू गर्दैनन् । नेताले हामीलाई राजनीति गर्ने सिढी मात्र बनाएका छन्,’ खानले भने ।
विक्रम सम्वत् ०४५ सालमा पूर्वराजा वीरेन्द्र शाह हेलिकप्टर मार्फत तत्कालिन नरैनापुर गाउँ पञ्चायतको नौसहारामा अवतरण गरे । उनले पनि त्यतिबेला नौसहाराका बासिन्दालाई जमिनको लालपूर्जा दिने आश्वासन दिएर राजधानी फर्किए । त्यति बेला नौसहारामा करिव एक सय परिवार मात्र बसोबास गर्थे । łराजाले जग्गाधनी पूर्जा दिन्छु भनेपछि हामीमा खुसीको सीमा थिएन । दिन, हप्ता, महिना हुँदै बर्ष बित्यो, तर, राजाले दिएको आश्वासन पनि पूरा भएन,’ ७१ बर्षिय वारिस खाँले भने, łअव त आश्वासनको विश्वास लाग्न पनि छाडि सक्यो ।’
जग्गाधनी पूर्जाका लागि नौसहाराका स्थानीयले तीन पटक सदरमुकाम नेपालगन्ज आएर राजनीतिक दल, स्थानीय प्रशासन, भूमिसुधार तथा मालपोत कार्यालयलाई ज्ञापन पत्र बुझाई सकेका छन् । तर, कसैले पनि सुनुवाई नगरेको स्थानीयको गुनासो छ । łघर–टहरा बनाएर बस्ने बेला जन्मिएकाहरु अहिले ३८–३९ बर्षका भइसके । जग्गाधनी पूर्जाको आशैआशामा कतिपयले ज्यान गुमाईसके, तर हामीले अहिलेसम्म जग्गाधनी पूर्जा पाउन सकेनौँ,’ ८८ बर्षिय स्थानीय आशाराम कोरीले भने । उनले एउटा जमिन १०–१२ पटक विक्रि भइसकेको बताए ।


जग्गाधनी पूर्जा नहुँदा विकास, निर्माण ठप्प
जग्गाधनी पूर्जा नभएपछि उक्त गाउँ विकास, निर्माणमा पनि पछाडी परेको छ । अन्य गाउँमा विजुली र सडक पुगे पनि उक्त गाउँको सडक अहिलेसम्म ग्राभेल समेत भएको छैन ।
सरकारी जमिन भएकोले गाउँपालिकाले सडक निर्माण र विद्युतीकरण गर्न नमानेको ६० बर्षिय शमसाद खाँले बताए । łसडक निर्माण र विद्युतीकरणको माग गर्दा सरकारी जमिनमा बजेट हाल्न मिल्दैन भन्ने जवाफ जनप्रतिनिधिले दिन्छन्,’ शमसादले भने, łहामीलाई यो जमिन निल्नु न ओकल्नु भएको छ ।’
जग्गाधनी पूर्जा नभएका कारण बैंकिङ कारोबार र बेचविखन गर्न नपाएको अर्का स्थानीय गुलाम हुसैन खाँले गुनासो गरे । उनले निर्वाचनका बेलामात्र जग्गाधनी पूर्जा बन्ने गरेको बताए । विकासमा पछाडी परेको बताउँदै उनले जग्गाधनी पूर्जा नभएका कारण नेपाली भएको महशुस नहुने गरेको स्पष्ट पारे । łविकास, निर्माणमा मात्र नभई हामी सरकारी सेवाबाट समेत बञ्चित छौँ । जमिन आफ्नो नाममा नभएपछि नेपाली भएको महशुस हुने कुरै भएन,’ उनले भने ।

जग्गाधनी पूर्जा विहिन नरैनापुर गाउँपालिका–४, नौसहारा गाउँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here