बाँके, २० मंसिर ।
कुनै बेला साइकल बाध्यताले चलाइन्थ्यो । साइकललाई गरिवको साधनका रुपमा पनि बुझ्न्थ्यो । साइकल चलाउनेहरु हुनेखानेबाट हेपिन्थे । साइकललाई सामान ओसार पसार गर्न प्रयोग हुने साधनका रुपमा समेत लिइन्थ्यो । तर, पछिल्लो समय साइकलको परिचय बदलिएको छ । अहिले साइकल बाध्यताले भन्दा रहर र शौकका लागि चढ्न थालिएको छ ।
प्रविधिको विकास सँगै नेपालगन्जमा पनि नयाँ–नयाँ मोडेलका जीप, कार, भ्यान र मोटरसाइकल भित्रिएका छन् । हिजो साइकल चढ्नेहरु अहिले मोटरसाइकल र मोटरसाइकल चढ्नेहरु कार, जीप चढ्ने भएका छन् । नयाँ मोडेलका गाडी आउने वित्तिकै खरिद गरेर प्रयोग गर्नेको कमी नेपालगन्जमा छैन । कामको ब्यस्तता, परिवर्तित जीवन शैलीले नयाँ–नयाँ मोडेलका गाडी प्रयोग गर्ने क्रम बढेपछि अटोमोबाइल्स कम्पनी पनि हौसिएका छन् ।
नयाँ मोडेलका महंगा गाडी भित्रिए पनि साइकल चढ्नेको कमी छैन । पहिले दुई हजार रुपैँया मूल्य पर्ने साइकल चढिन्थ्यो, तर अहिले समय बदलिएको छ । अहिले ६ हजारदेखि एकलाख २० हजार रुपैँया पर्ने साइकल नेपालगन्जमा विक्रि हुन्छ । आधुनिक प्रविधिले साइकल ब्यवसायलाई कुनै असर गर्न नसकेको बीबी साइकल ब्राण्डका संचालक मोहम्मद सरिफ बागवानले बताए ।
नेपालगन्जमा माउन्टेन बाइक माग धेरै छ । बच्चादेखि अर्धबैँसेसम्मको रोजाई माउन्टेन बाइक हुने गरेको उनले बताए । सामान्य खालको साइकल ग्रामिण भेगमा खपत भए पनि नेपालगन्जका अधिकांशले माउन्टेन बाइक खोज्ने गरेको उनको भनाई छ । ‘उच्च घरानियादेखि मध्यम बर्गका परिवारले माउन्टेन बाइक खोज्छन्,’ उनले भने, ‘साइकल बाध्यताले भन्दा शौकका लागि चलाउने क्रम बढेको छ ।’
अहिले स्वास्थ्यका लागि साइकल चढ्न थालिएको छ । दिनभर मानसिक काममा ब्यस्त रहनेहरु स्वास्थ्यका लागि साइकल चढ्न थालेको साइक्लिङ क्वलका अध्यक्ष गगनसिंह थापाले बताए । शारिरिक परिश्रमका लाग नेपालगन्जका चिकित्सक, कानुन ब्यवसायी, नागरिक समाजका अगुवा, सरकारी तथा गैरसरकारी संस्थाका उच्च पदाधिकारी, पत्रकार, उद्योगी, ब्यापारी, समाजसेवीले खोज्ने गरेको उनले बताए । नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालका प्रवन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापा, नेपालगन्जका मेयर डा. धबलशमशेर राणा, इन्सेक ५ नं. प्रदेशका संयोजक भोला महत, डा. मधु अर्याल, लगायतले स्वास्थ्यका लागि साइकल चढ्छन् । साइकल चलाउँदा शरिरको सवै अङ्ग संचालन हुने भएकोले स्वास्थ्यका लागि साइकल चढ्नेको संख्या बढ्दै गएको छ ।

नेपालगन्जमा साइक्लिङ प्रति यूवाको आकर्षण बढ्दै गएको छ । साइक्लिङमा यूवाको ‘क्रेज’ बढेपछि यहाँका यूवाले नेपालगन्ज साइक्लिङ क्लव स्थापना गरि साइक्लिङलाई विस्तार गर्दै लगेका छन् । विक्रम सम्वत् २०७५ सालमा ११ जनाबाट सुरु भएको नेपालगन्ज साइक्लिङ क्लवमा पछिल्लो समय सदस्य थपिदै गएका छन् । अहिले एक सय बढि सदस्य छन् ।
कोरोनाका कारण राज्यले गरेको लकडाउनका बेला साइकल चढ्नेको संख्या झनै बढेको क्लवका अध्यक्ष गगनसिंह थापाले बताए । उनले लकडाउनका बेला ४०–५० जना साइक्लिष्ट थपिएको बताए । मधुमेश, ब्लड प्रेसर, मुटु, दम, खुट्टा दुख्ने, घुँडा दुख्ने समस्या भएकाहरु साइकिल चलाउन थालेको उनको भनाई छ ।
दिनदिनै नयाँ सदस्य थपिदै गएपछि क्लवका संस्थापक सदस्यहरु हौसिएका छन् । सदस्य बनाउन पहिले ठूलो कसरत गर्नु परेपनि पछिल्लो समय सदस्य बन्नेहरु स्वस्फूर्त रुमा आउने गरेको क्लवका सचिव सतिश निरौलाले बताए । ‘साइक्लिङको महत्व बुझेपछि स्वस्फूर्त रुपमा हाम्रो क्लवमा जोडिने क्रम सुरु भएको छ,’ उनले भने, ‘पछिल्लो समय बुझाउनु पर्दैन, आफै बुझेर साइक्लिङ गर्न आउनु हुन्छ ।’
नेपालगन्जमा महंगा साइकलको माग बढेपछि ब्यापारीले महंगो मूल्य पर्ने साइकल ल्याएका छन् । पहिले सामान्य खालका साइकलको माग भए पनि पछिल्लो समय महंगा साइकलको माग बढेको नेपालगन्ज बाई साइकलका संचालक गगन थापाले बता । उनले नेपालगन्जमा एक लाख ५० हजार मूल्य पर्ने साइकल समेत विक्रि हुने गरेको बताए । ‘पछिल्लो समय नेपालगन्जमा साइक्लिङको क्रेज बढ्दो छ । किशोरदेखि अधबैँसेसम्मको रोजाइमा माउन्टेन बाइक पर्ने गरेको छ ।’