सुनसान बनियागाउँ, चुल्हो बल्दैन, गाउँले वीच बोलचाल बन्द (स्थलगत रिपोर्ट)

बाँके, १७ मंसिर ।


जानकी गाउँपालिका–५, बनियागाउँका ८० बर्षिय रामफेरन भुजुवा निरास छन् । सोमवार बेलुकी गाउँले वीच भएको झडपमा छिमेकी भाई मारिएपछि उनको आँखा सुकेको छैन । राती निदाउन सकेका छैनन् । त्यसै दिनदेखि उनलाई भोक लागेको छैन । उनी निराश छन् । गाउँमा आइपरेको आपतले उनलाई पर्नसम्मको पीर परेको छ ।
उनी जस्तै स्थानीय ६५ बर्षिय कन्है चमारलाई पनि पीर परेको छ । मर्दा पर्दा काम लाग्ने छिमेकी वीचको झगडाले एक जनाको ज्यान गएपछि सुखसँग बस्न नसकेको उनले बताए । उनको घरमा पनि दुई दिनदेखि चुल्हो बलेको छैन ।
छिमेकी वीच भएको सामान्य विवादले उग्र रुप लिएर एक जनाको मृत्यु भएपछि पुरुषहरुको भागाभाग भएको छ । पुरुषहरु घरमा नभएपछि दुई दिनदेखि पशुचौपाया भोकै छन् । पुरुषहरुको भागाभाग भएपछि गाउँमा महिला, बृद्धबृद्धा र बालबालिका मात्र छन् । महिला, बालबालिका र बृद्धबृद्धा पनि एकआपसमा बोलचाल गर्न सकेका छैनन् । अधिकांश परिवारको चुल्होमा आगो बलेको छैन । खाना पाके पनि भाँडोको भात भाँडोमै रहने गरेको स्थानीय ८० बर्षिय रामफेरनले बताए ।


बनियागाउँ नजिकै गुरुवागाउँ छ । हरेक बर्षझैँ १५ मंसिरमा गुरुवागाउँ मेला सुरु भयो । मेला सुरु भएकै बेलुकी ५ बजे बनियागाउँका दुई पक्ष यूवा वीच झडप भयो । झडपमा नरेश काँदु घाइते भए । नरेशलाई सामान्य चोट लागे पनि झडपमा नरेशको मृत्यु भएको गाउँमा हल्ला फैलियो । गुरुवागाउँ मेलामा भएको विवाद घरसम्म पुग्यो । नरेश पक्षिय समुहले आक्रमणमा संलग्न रहेको भनिएका धनिरामका छोरा सियाराम यादवको घरमा आक्रमण गरे । ढुंगामुढा गरे । मोटरसाइकल तोड्फोड गरे । त्यतिबेला बेलुकीको साढे ५ बजेको थियो । सियारामलाई खोज्दै आएको समुहले उनलाई नभेटेपछि भैँसी ग्वालाबाट फर्किदै गरेका उनका बाबु धनिरामलाई देख्यो । आफूमाथि आक्रमण हुन लागेको थाहा पाएपछि उनी भागे । उनलाई आक्रमणकारीले घरदेखि पाँच सय मिटर पूर्व तोरीबारीमा लखेटी लखेटी मारे । अचेत अवस्थामा रहेका उनलाई स्थानीयले मेडिकल कलेज पु¥याए । तत्कालै उनको मृत्यु भयो ।
आक्रमणबाट घाइते धनिरामलाई जोगाउन खोज्ने स्थानीय करिव ५० बर्षिया कुन्ना खटिक घाइते भइन् । उनको गालामा गम्भिर चोट लागेको छ । कुन्नाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्जमा उपचार भइरहेको उनका पति कन्ढई खटिकले बताए ।
बनियागाउँमा एक सय भन्दा बढी काँदु परिवार छन् । यसको नेतृत्व दिनेश काँदुले गर्छन् । दिनेश र आज्ञाराम यादव एउटै पार्टीका हुन् । उनीहरु दुवै ०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्षका दावेदार थिए । पार्टीले दिनेशलाई टिक दियो । त्यसपछि आज्ञाराम चिढिए । र, दिनेशलाई असहयोग गरे । त्यसपछि उनीहरु वीच द्वन्द्व चर्कियो ।
आज्ञाराम र झडपमा मारिएका धनिराम यादव एउटै परिवार भित्रका हुन् । दिनेशसँग द्वन्द्व बढेको बेला उनले धनिरामसँग सहयोग लिन्थे । तर, बयल गाडाको विषयमा विवाद भएपछि आज्ञाराम धनिरामलाई छोडेर दिनेशलाई साथ दिन थाले । त्यसपछि काँदु र यादव वीचको झगडा यादव–यादवमा परिणत भयो । यसको फाइदा काँदु परिवारले उठाउन थाल्यो ।
दुई बर्ष अघिको तिहारमा काँदु र यादव पक्षका यूवा देउँसी खेल्न यादव टोलमा गएको बेला विवाद भयो । त्यतिबेला ९ जना घाइते भए । उक्त विवाद प्रहरीसम्म पुगेको थियो । भद्रभलादमीको सहयोगमा विवाद मिलेको थियो ।
झण्डै एक सय ५० घर परिवार रहेको बनियागाउँ अहिले सुनसान छ । सर्वसाधारण निराश छन् । गाउँले वीचको झडपमा एक जनाको मृत्यु भएपछि पाकेको खानासमेत खान मन नलाग्ने गरेको स्थानीय कन्है चमारले बताए । उनले पक्राउ पर्ने डरले गाउँका युवाको भागाभाग भएपछि गाउँ सुनसान भएको बताए । उनले गाउँमा महिला, बृद्धबृद्धा र बालबालिकामात्र भएको बताए । łगाउँ उराठ लाग्दो भएको छ । कसैको अनुहार चम्किलो छैन । गाईभैँसीले दानापानी पाएका छैनन् । गाउँमा भएकाहरु दुई दिनदेखि भोकै छौँ,’ उनले भने ।


गाउँलेहरु फेरि झडप हुने हो की भन्ने चिन्तित र त्रसित छन् । मिलेर बसेका स्थानीय वीच भएको झडप साम्य हुने नहुने अन्यौल कायमै रहेकोले उनीहरु रातभर निदाउन सकेका छैनन् । łप्रहरीले सुरक्षा दिँदासम्म त केहि नहोला । प्रहरीले सधैँभरि सुरक्षा दिन त सक्दैन । त्यसपछि गाउँको अवस्था के होला,’ चमारले भने ।
गाउँमा हुने सम्भावित झडपलाई मध्यनजर गरि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गाउँलाई चारैतर्फबाट सुरक्षाकर्मीले घेरा हालेर सुरक्षा दिइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।


उनले ५० जना नेपाल प्रहरी र ३० जना सशस्त्र प्रहरीले गाउँमा सुरक्षा दिइरहेको बताए । अहिले गाउँ पुरै नियन्त्रणमा रहेको उनले बताए ।
मृतक धनिराम पक्षबाट १७ जना विरुद्ध किटानी जाहेरी दिइएको छ । ति मध्ये १० जना काँदुतर्फका छन् भने सात जना यादव छन् । किटानी जाहेरी परेका मध्ये दुई जनालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको प्रहरी उपरीक्षक रानाले बताए ।

Previous articleएड्सबाट बाँकेमा १५४ को मृत्यु
Next articleराखेप सदस्य चौधरीलाई नेपालगन्ज रंगशालामा स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here