खजुरा, १५ मंसिर
खजुरा गाउँपालिकामा १५ शैया अस्पताल निर्माणका लागि सोमवार शिलान्यास भएको छ । खजुरा गाउँपालिका–३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्ती गरि १५ शैया अस्पताल निर्माण गरिने भएको छ ।
संघीय सरकारको बजेट मार्फत निर्माण हुने खजुरा अस्पतालको बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायले सोमवार एक समारोहका वीच शिलान्यास गरेका छन् । १८ करोड ६ लाख रुपैयाँको लागतमा निर्माण हुने अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रोकायले अस्पताल निर्माणमा बजेटलगायतका कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरामा निर्माण हुने अस्पताल स्वास्थ्य हब बनाउने लक्ष्यमा कोशेढुंगा सावित भएको बताए । उनले नेपाल सरकारले स्वास्थ्यमा आमूल परिवर्तन गर्न एकै पटक ३९६ वटा अस्पताल निर्माण गर्ने कुरा स्वास्थ्य क्षेत्रमा क्रान्ति भएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले जनतालाई सर्वसुलभरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले पालिकास्तरमै अस्पताल निर्माण शुरु भएको बताइन् ।
नरैनापुरमा पाँच शैयाको अस्पताल संचालनमा
नरैनापुर गाउँपालिकामा पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सोमबार एक कार्यक्रमका बीच कोभिड अस्थायी अस्पतालको उद्घाटन गरे । वडा नम्बर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधासहित पाँच शैयाको अस्पताल सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष शाहले जानकारी दिए ।
संघीय सरकारले भदौँ २३ गते हरेक स्थानीय तहलाई कम्तिमा पाँच शैयाको अस्पताल सञ्चालन गर्न गरेको परिपत्र अनुसार कोभिड अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए । अस्पताल सञ्चालनका लागि पहिलो चरणमा संघले १० लाख रुपैयाँ पठाएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य नमुनाले पाँच शैयाको अस्पताल सञ्चालनमा आएसंगै संक्रमितलाई उपचारार्थ नेपालगञ्ज लैजानुपर्ने अवस्थाको अन्त्य भएको बताइन् । प्रारम्भिक चरणमा कोभिडको सर्वाधिक मारमा परेको नरैनापुरमा पछिल्लो समय एकाध बाहेक संक्रमित नभेटिनु सुखद् भएपनि तयारी अवस्थामा रहन जरुरी रहेको उनको भनाई थियो ।
प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले कोभिड अस्पताल सञ्चालन भएपछि अब उपचार सहज हुने बताए । उनले हालसम्म नरैनापुरमा १ सय २५ जना संक्रमित भएकोमा १ जनाको मृत्यु भएको, १ सय २३ जना निको भएर डिस्चार्ज भइसकेको र एक जना उपचारका क्रममा रहेको बताए ।