बाँके, २ मंसिर ।
प्रवेज अलि सिद्धिकी मुस्लिम समुदायमा ‘आइकन’ का रुपमा चिनिन्छन् । इस्लाम धर्म मान्ने उनी धार्मिकतामा उदार पनि छन् । विक्रम सम्वत् २५ असोज, २०२७ सालमा नेपालगन्जमा जन्मिएका सिद्धिकीले भारतबाट समाज शास्त्रमा विए पास गरेका छन् । मुस्लिम समुदायमा आफ्नो छुट्टै पहिचान बनाएका उनी राजनीति भन्दा सामाजिक कार्य गर्न रुचाउँछन् ।
त्यसैले उनले गैरसरकारी संस्था मार्फत सामाजिक सेवामा लाग्ने योजना बनाए । तर, उनका लागि गैरसरकारी संस्था स्थापना गर्न सजिलो थिएन । अल्पसंख्यक समुदायका उनलाई गैरसरकारी संस्था स्थापना गर्न चिउरामा फलाम चपाउनु सरह थियो । तै पनि उनले हिम्मत हारेनन् । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने जस्तै उनले सामाजिक कार्यका लागि गैरसरकारी संस्था स्थापना गरेरै छाडे । त्यसको नाम उनले बाँके युनेस्को क्लव राखे र त्यसको नेतृत्व आफूले गरे ।
उनी नेपालगन्जका मुस्लिम मध्ये हुनेखाने परिवारमा गनिन्छन् । सिद्धिकीका अधिकांश साथीभाई, इष्टमित्र ब्यापार ब्यवसायमा छन् । त्यसैले उनलाई परिवारबाट ब्यापार गर्न र जागिर खान दवाव आयो । तर, सानै उमेरदेखि समाजसेवामा रुची भएका उनी परिवारका सदस्यको भनाईलाई ठाडै अस्विकार गरे । र, सामाजिक एवम् आर्थिक रुपमा पछाडी परेका, अल्पसंख्यक, सीमान्तकृत समुदायको आर्थिक अवस्था सुधार गरि जिविकोपार्जनमा सुधार ल्याउन गैरसरकारी संस्था स्थापना गर्ने अभियानमा लागे । ‘ब्यापार गरेर मनग्य रुपैयाँ कमाउने परिवारका सदस्यको इच्छा थियो, तर मैले मानेन,’ उनले भने, ‘गरिव, गुरुवाको सेवा गरि उनीहरुलाई आर्थिक, सामाजिक एवम् सांस्कृतिक रुपमा अगाडी ल्याउने उद्देश्यले मैले ब्यापारभन्दा गैरसरकारी संस्था रोजेँ ।’
धार्मिक सद्भावका लागि दशैँ र तिहारमा टीका ग्रहण
उनी फरक विचार बोकेका ब्यक्तिको रुपमा गनिन्छन् । उनी आफ्नो धर्ममा जति कट्टर छन् अर्को धर्ममा उत्तिकै उदार पनि छन् । अन्तरजातिय विवाह गरेका उनी दशैँमा आफूभन्दा मान्यजनबाट विजयादशमीको टीका र तिहारमा भाई टीका लगाउँछन् । यस बर्ष पनि उनले भाई टीका लगाए । धार्मिक एवम् सामाजिक सद्भावले मात्र विकास सम्भव देखेका सिद्धिकीले धार्मिक सद्भावका लागि दशैँ र तिहारमा टीका लगाउने गरेको बताउँछन् ।
मानव–मानव वीचको एकता कामय राख्न र सामाजिक तथा धार्मिक सद्भावका लागि टीका लगाउने गरेको उनको भनाई छ । ‘अर्काको धर्म, संस्कार र संस्कृतिको सम्मानले धार्मिक एवम् सामाजिक सद्भाव बढ्छ, यसले समग्र देशको विकासमा टेवा पु¥याउँछ,’ उनले भने ।
अर्काे धर्मको सम्मान गरेमात्र आफू र आफ्नो धर्मको सम्मान बढ्ने उनको विचार छ । ‘अर्काको धर्मको सम्मान गरेमात्र अर्काले मेरो धर्मको सम्मान गर्छन् भन्ने मेरो मान्यता छ,’ उनले भने ।
बाँके युनेस्को क्लवको जन्म कसरी भयो ?
विक्रम सम्बत् २०४७ शिक्षा मन्त्रालयमा रहेको युनेस्को आयोगले बाँकेमा बाँके यूनेस्को यूवा क्लवको स्थापना ग¥यो । त्यसको तीन बर्षपछि विक्रम सम्वत् २०५० सालमा शिक्षा मन्त्रालयको युनेस्को आयोगको सहयोगमा बाँके युनेस्को क्लव गठन भयो । त्यसको नेतृत्व प्रवेजले गरे ।
त्यति बेला उनी २३ बर्षका थिए । कलिलो उमेरमै संस्थाको अध्यक्ष बन्ने अवसर पाउँदा उनी खुशी थिए, तर उनीमा संस्थालाई कसरी अगाडी बढाउने भन्ने एक किसिमको डर थियो । तै पनि उनले हिम्मत हारेनन् । ‘जिल्ला प्रशासन कार्यालय, बाँकेमा संस्था दर्ता गर्न जाँदा प्रशासनका कर्मचारी र सर्वसाधारणले मेरो खिल्ली उडाए,’ उनले विगत सम्झिए ।
धनसम्पत्ती भन्दा नाम कमाएकोमा खुशी
सामाजिक संस्था मार्फत धन, सम्पत्ती कमाउन नसकेकोमा उनलाई कुनै पछुतो छैन । ब्यापार गरेर साथीभाईले धन, सम्पत्ती कमाएर ऐस आराम गरे पनि उनलाई ब्यापार नगरेकोमा चिन्ता छैन ।
बरु सामाजिक संस्था मार्फत गरिव, गुरुवा, पछाडी परेका, अल्पसंख्यक, सीमान्तकृत समुदायको सेवा गर्न पाएकोमा गर्व उनी गर्छन् । उनले धनसम्पत्ती भन्दा नाम कमाउनु ठूलो भएको बताए । ‘ब्यापार गरेको भए टन्न धन, सम्पत्ती कमाउन सकिन्थ्यो, तर, मैले सम्पत्तीभन्दा ठूलो मानसम्मान, इज्जत, प्रतिष्ठा कमाएको छु । अरुलाई केहि दिन सकेकोमा आनन्द लाग्छ । म यसैमा सन्तुष्ट छु,’ उनले भने ।
एक दर्जन पुरस्कार र सम्मान
गैरसरकारी संस्थामार्फत अल्पसंख्यक, सीमान्तकृत, पछाडी परेका समुदायको आर्थिक, सामाजिक एवम् सांस्कृतिक अधिकार स्थापित गर्न र आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेकोमा उनले विभिन्न सरकारी तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट पुरस्कृत एवम् सम्मानित भएका छन् ।
उनले सन् १९९४ मा सामाजिक सेवा पुरस्कारबाट सम्मानित भए । भने, विश्व शिक्षाले सन् २००२ मा सवैका लागि शिक्षा पुरस्कारबाट पुरस्कृत ग¥यो ।
त्यसैगरि, दलितको क्षेत्रमा उल्लेखनिय कार्य गरेको भन्दै उनलाई भारतको अम्वेडकर फाउन्डेशनले अम्वेडकर पुरस्कारबाट सन् २०१५ मा पुरस्कृत गरेको छ । शिक्षाको क्षेत्रमा उल्लेखनिय काम गरेको भन्दै उनलाई जिल्ला शिक्षा कार्यालय बाँकेले सम्मानित गरेको छ भने, ५७ औँ प्रहरी दिवसका अवसरमा उनी सम्मानि भए । ‘सम्मान र पुरस्कारले मलाई सामाजिक सेवामा लाग्न झनै प्रोत्साहन गरेको छ,’ सिद्धिकीले भने ।