होल्डिङ सेन्टर नहटाए आन्दोलन गर्ने ब्यवसायीको चेतावनी

बाँके, २९ कात्तिक ।


काम गरेर स्वदेश फर्किदै गरेका नेपालीलाई राख्नका लागि भन्सार कार्यालय परिसरमा बनाइएको होल्डिङ सेन्टरले ब्यापार, ब्यवसायमा असर पुर्याएको भन्दै विभिन्न ब्यवसायीले आन्दोलनको तयारी गरेका छन् । भारतबाट आएका नेपालीलाई सिधै नेपालगन्ज जान नदिँदा अटो रिक्सा ब्यवसायी मारमा परेको जयसपुरका अटो रिक्सा ब्यवसायी नसिम कुरैसीले बताए ।
उनले भारतबाट आएका नेपालीलाई सिधै होल्डिङ सेन्टरमा लगेर राख्दा अटो रिक्सा ब्यवसायीको ब्यवसाय धरापमा परेको बताए । नेपालगन्ज बसपार्क लगायत विभिन्न होटलसम्म पुर्याउन पाएको भए कमाई हुने थियो । ‘होल्डिङ सेन्टरमा राखेकालाई बस, किया र जिपले सिधै लैजाँदा हाम्रो ब्यवसाय धरापमा परेको छ,’ उनले भने, ‘जताबाट पनि गरिव, दुखीलाई नै असर पार्ने काम भइरहेको छ ।’
उनले तिहार लगत्तै होल्डिङ सेन्टर नहटाए आन्दोलन गर्ने चेतावनी दिए । ‘भीडभाड हुने नाममा भारतबाट आएकालाई होल्डिङ सेन्टरमा राखेर सिधै सम्बन्धित जिल्ला पठाउने हो भने नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका बजारमा हुने भीडभाड पनि नियन्त्रण गर्न सक्नु पर्यो । नत्र भने हामी सवै अटो रिक्सा लगेर जिल्ला प्रशासनमा थन्क्याउँछौँ,’ उनले चेतावनी दिँदै भने ।
होल्डिङ सेन्टरले नेपालगन्जको होटल ब्यवसाय पनि असर गरेको होटल ब्यवसायी संघ, नेपालगन्ज बाँकेका बरिष्ठ उपाध्यक्ष रामबहादुर लिम्बुले बताए । उनले होल्डिङ सेन्टरले होटल ब्यवसाय मात्र नभई किराना, फैन्सी कपडाका ब्यवसायमा पनि असर परेको जिकिर गरे । ‘होल्डिङ सेन्टरले कुनै एउटा बस ब्यवसायी समितिलाई पोस्ने काममात्र भएको छ,’ उनले भने ।
उनले नाममात्रको होल्डिङ सेन्टर तत्काल हटाउन माग गरेका छन् । बजारको भीड नियन्त्रण गर्न नसक्ने प्रशासनले होल्डिङ सेन्टर राख्नुको कुनै विकल्प नभएको बताए । ‘की त बजारमा पनि भीडभाड हुन दिन भएन । भीड नियन्त्रण गर्न सकिन्न भने होल्डिङ सेन्टर पनि हटाउनु पर्यो,’ बरिष्ठ उपाध्यक्ष लिम्बुले भने ।
उनले तिहार पछि होल्डिङ सेन्टर नहटाए होटल ब्यवसायी आन्दोलन गर्न बाध्य हुने स्पष्ट पारे । ‘हामीलाई परेको असरको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छौँ, तिहार पछि होल्डिङ सेन्टर नहटाए आन्दोलनमा उत्रिने जानकारी गराउँछौँ,’ उनले भने ।

Previous articleखजुरामा भलिबल प्रतियोगिता सुरु
Next articleनरैनापुरका विद्यालय तिहारपछि संचालनमा आउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here