नरैनापुरका विद्यालय तिहारपछि संचालनमा आउने

बाँके, २८ कात्तिक ।


गाउँपालिकामा कोरोना संक्रमण शून्यमा झरेपछि नरैनापुर गाउँपालिकाले तिहार लगत्तै विद्यालय संचालनमा ल्याउने भएको छ । त्यहाँका विद्यालय कोरोना कहर पछि लकडाउनसँगै बन्द भएका थिए ।
गाउँपालिकाको गाउँ शिक्षा समिति संयोजक एवम् गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर १४ मंसिरदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुका अनुसार विद्यालय सञ्चालन गर्न कार्यविधि तयार गरि एक हप्ता भित्रमा कार्यपालिकामा पेश गर्ने निर्णय भएको छ ।
सोही कार्यविधिका आधारमा विद्यालय सञ्चालन गरिने थारुले बताए । ‘विद्यालयमा प्रत्यक्ष सिकाई सहजीकरण गर्दा अत्यावश्यक स्वास्थ्य सामग्रीको ब्यवस्था स्वास्थ्य शाखाले गर्ने, मापदण्ड पूरा भए नभएको निक्र्यौल अनुगमन समितिले गर्ने तथा विद्यालय सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई एवम् जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिने निर्णय गरेका छौं,’ थारुले भने ।
गाउँपालिका अध्यक्ष शाहले अनलाइन कक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए । उनले लामो समयदेखि कोरोना नदेखिएकोले अब निश्चित मापदण्ड बनाएर विद्यालय सुचारु गर्ने निर्णयमा पुगेको बताए । ‘जेठको पहिलो सातादेखि कोरोनाले आक्रान्त बनेको नरैनापुर करिब एक महिना निकै संकटबाट गुज्रियो, त्यस यता भने नरैनापुरमा एकाध बाहेक कोरोना देखिएको छैन, लामो समय विद्यालय बन्द हुँदा सिकाई कार्य पूर्णरुपमा प्रभावित भएकाले अबदेखि विद्यालय चलाउने निर्णय गरेका हौं,’ अध्यक्ष शाहले भने ।
विद्यालय सञ्चालन तथा विद्यार्थी सहजीकरण कार्यविधि तयार गर्न प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही संयोजक रहेको सात सदस्यीय समिति गठन गरिएको छ । शाहीले कसरी विद्यालय सञ्चालन गर्दा कोभिडको जोखिम कम हुन सक्छ, त्यसै अनुरुप अगाडि बढ्ने उनले बताए ।
उनले एकैसाथ सबै विद्यालय सञ्चालन नगरि तहगत रुपमा सुचारु गर्दै त्यसको प्रभाव हेरेर थप रणनीति अख्तियार गरिने बताए । विद्यालयहरुको आर्थिक बर्ष २०७६÷०७७ को लेखा परिक्षण गर्नका लागि सूचीकृत भएका लेखा परिक्षकहरुलाई समान विद्यालय संख्या पर्ने गरि नियुक्त गर्ने, मंसिर महिनामा लेखा परिक्षण सम्पन्न गरि लेखा परिक्षणको प्रतिवेदनको प्रतिलिपी शाखामा उपलब्ध गराउन लगाउने निर्णय पनि गरिएको छ ।
त्यस्तै, विद्यालयमा भौतिक पूर्वाधार निर्माणका कार्यक्रमलाई सीघ्र सूचारु गर्ने, रिक्त रहेका स्वीकृत दरबन्दी तथा राहत दरबन्दी पदपूर्ति गर्ने, पालिकाभित्र रहेका दरबन्दी विद्यालयगत तथा तहगतरुपमा हेरफेर गर्न नपर्ने देखिएकोले विद्यालय तथा दरबन्दी यथावत राख्ने, साक्षरता एवम् अभिभावक शिक्षा सम्बन्धि कार्यक्रम अगाडि बढाउने, स्वयम्सेवक शिक्षक तथा सफाइकर्मी व्यवस्थापन सम्बन्धि कार्यविधि बनाउने, जय किसान मावि भोजपुरलाई कक्षा ११ को परिक्षा सञ्चालनका लागि अनुमति दिने, निःशुल्क पाठ्यपुस्तकको अपुग रकम माग गर्ने, नयाँ अनुमति तथा कक्षा थपको लागि परेका आवेदन अध्ययन गरि शिक्षा समितिको आगामी बैठकमा पेश गर्ने र ट्युशन तथा कोचिङ सेन्टर सञ्चालनका लागि अनुमति दिने निर्णय बैठकले गरेको शिक्षा शाखा प्रमुख थारुले बताए ।

Previous articleहोल्डिङ सेन्टर नहटाए आन्दोलन गर्ने ब्यवसायीको चेतावनी
Next articleतिहार लगत्तै कम्तीमा १५ दिन लकडाउन गर्न चिकित्सकको सुझाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here