बाँके, २८ कात्तिक ।
बाँकेमा कोरोना संक्रमितको मृत्यु दर बढेको छ । यहाँका दुई अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदै आएको छ । तिहार पछि बाँकेमा पनि कोरोना संक्रमण दर बढ्ने चिकित्सकले आँकलन गरेका छन् । तिहारमा सर्वसाधारणको जमघट र किनमेलका लागि बजारमा भीडभाड भएका कारण पनि बाँकेमा कोरोना संक्रमण बढ्ने चिकित्सकले बताएका छन् ।
बाँकेमा कोरोना संक्रमितको मृत्यु दर बढिरहेका बेला सर्वसाधारणले मास्क लगाउन छाडेका छन् । धनतेरसका दिन नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन, एकलैनी, धम्बोझी, घरबारी टोल, बागेश्वरी मन्दीर क्षेत्र, राप्तीरोड, न्यूरोड लगायत क्षेत्रमा सर्वसाधारणको ठूलो भीड लाग्यो । तर, किनमेलका लागि आएका र तिहारको सामान विक्रिका लागि पसलमा बसेका अधिकांश ब्यापारी मास्क नलगाएर ग्राहकसँग मोलमोलाई गरिरहेको देखिन्थ्यो ।
नेपालगन्जका अटो रिक्सा चालकले पनि माक्स लगाउन छाडेका छन् । प्रहरी समेत माक्स लनगाएर ड्यूटीमा खटिने गरेको पाइन्छ । यसले तिहारपछि कोरोना संक्रमण दर बढ्ने निश्चित छ । यसतर्फ प्रशासनले समयमा ध्यान नदिए आगामी दिनमा बाँकेमा कोरोनाको भयावह अवस्थाको सामना गर्नुपर्ने देखिन्छ ।