बाँके, २८ कात्तिक ।
नेपालगन्जस्थित भेरी अस्पतालमा थप ८० बेडको आइसोलेशन संचालनमा आउने भएको छ । तिहार पछि कोरोना संक्रमणको अवस्था झनै भयावह हुन सक्ने निश्कर्ष सहित अस्पतालले थप ८० बेडको आइसोलेशन संचालनको तयारी गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताए ।
उनले आगामी दिनमा विरामीको चाँप बढ्ने निश्कर्ष गरि भेरी अस्पतालमा थप ८० बेडको आइसोलेशन संचालनको अन्तिम चरणमा पुगेको बताए । उनले प्रत्येक बेडमा अक्सिजन जडान गरिने बताए । ‘तिहार लगतै थप ८० बेडको आइसोलेशन संचालनमा आउनेछ,’ उनले भने ।
भेरी अस्पतालमा जनरलतर्फ अव १९ बेडमात्र
भेरी अस्पतालमा इमरजेन्सी र मात्र १९ बेडको जनरल वार्ड संचालन हुने भएको छ । एक सय ५० बेडको अस्पतालमा अव प्रसुती वार्ड बाहेकका वार्डलाई आइसोलेशन वार्ड बनाएर १९ बेडमा मात्र राख्न गर्न लागिएको अध्यक्ष धितालले बताए ।
आइसोलेशन बनाउन जनरल, सर्जरी, मेडिसिन, हाडजोर्नी, नसा, ज्येष्ठ नागरिक वार्डलाई खाली गरिएको छ । ‘कोभिडका विरामीको चापलाई मध्येनजर गरि अन्य वार्डलाई आइसोलेशन वार्ड बनाउने बनाउन थालिएको छ,’ अध्यक्ष धितालले भने ।
जटिल प्रकृतिका विरामीलाई मात्र भर्ना लिने नीति अवलम्बन गरिएको बताए । ‘प्रसुती वार्ड बाहेक अन्य वार्डका विरामीलाई राख्नका लागि १९ बेडमात्र छुट्याइएको छ । भर्ना भएका विरामीलाई डिस्चार्ज गर्ने र लामो समय बस्न पर्ने विरामीलाई अन्यत्र सारेर सवै वार्ड खालिगरिएको छ,’ उनले भने ।
भेरीमा उपचाररत २७ संक्रमितको मृत्यु
भेरी अस्पतालमा उपचाररत २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २६ भाद्रबाट सुरु भएको कोरोना विशेष आइसोलेशनबाट तीनसय ६० जनाले सेवा लिएको आइसोलेशन संयोजक बरिष्ठ सर्जन डा. श्यामसुन्दर यादवले जानकारी दिए ।
उनले तीन सय १५ जना निको भएर फर्किएको बताउँदै मंगलवारसम्म ५२ जना उपचाररत रहेको बताए । भेरी अस्पतालको कोभिड वार्डमा ७२ बेड छ । आइसोलेशनमा रहेका मध्ये एक जना भेन्टिलेटरमा र १५ जना आइसियूमा छन् । आइसियू र भेन्टिलेटरमा रहेका दुई जनाको स्वास्थ्य अवस्था नाजुक रहेको डा. यादवले बताए ।
उपचारका लागि ढिलो आएकाहरुको मृत्यु
कोरोनासँग खेलवाड गरेका कारण मृत्यु दर बढेको उनको भनाई छ । राम्रो स्याहार, सुसार नपाउँदा होम आइसोलेशनमा बसेकाहरुलाई निमोनिया हुने सम्भावना अधिक रहेको बताउँदै डा. यादवले उपचारका लागि ढिलो गरि आएकाहरुमा स्वास्थ्य समस्या देखिएको बताए । ‘रोगको पहिचान ढिलो गरि भएपछि समयमा उपचार पाउँदैनन् । समयमा उपचार नपाए कोरोना संक्रमितलाई निमोनिया हुने सम्भावना हुन्छ,’ उनले भने, ‘निमोनिया भए उपचारमा समस्या हुन्छ । निमोनिया नै मृत्युको कारण बन्ने गरेको छ ।’
उपचारका लागि ढिलो गरि आएकाहरुको मृत्यु भएको डा. यादवले बताए । भेरी अस्पतालमा आएका अधिकांशलाई निमोनिया भएको उनको भनाई छ । ‘केहि दिनअघि बेड अभाव भए पनि अहिले त्यस्तो समस्या छैन,’ उनले भने ।
उनले चिसो मौसममा कोरोना संक्रमण झनै बढ्ने खतरा रहेको औँल्याए । ‘चिसोयाममा धेरै समयसम्म भाइरस जिवित रहने भएकोले कोरोना संक्रमण झनै बढ्ने अनुमान छ,’ डा. यादवले भने ।