‘जनताको रियल सेवक’ सिडिओ कुरुम्बाङ

बाँके, २८ कात्तिक ।


प्रमुख जिल्ला अधिकारी (सिडिओ) भनेपछि सर्वसाधारणले जिल्लामा शान्ति, सुरक्षा कायम गर्ने, प्रशासन चलाउने, नागरिकता वितरण गर्ने बुझ्छन् । सर्वसाधारणको बुझाईमा सिडिओहरु कडा स्वभाव भएका, जनतासँग घुलमिल, सम्पर्क, सम्बन्ध नबढाउने स्वभावका हुन्छन् भन्ने पनि छ । हुन पनि विगतका दिनमा बाँकेमा आएका सिडिओले यस्तै गरे । सरकारी जागिरी भन्दै १०–५ बजेको समयमा काम गरे । प्रशासक भएकोले जनतासँगको सम्बन्ध भन्दा शासकको जस्तो ब्यवहार गरे । जनताका सेवक भन्दा प्रशासक भएर काम गरि आफ्नो अवधि पूरा गर्नेतर्फ केन्द्रित भए । पत्रकार भेटघाटको नाममा आफू सिडिओ भएर आएको जानकारी जिल्लाबासीलाई गराए । जसरी आए त्यसै गरि नै गए ।
तर, अहिलेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको ब्यवहार फरक छ । उनी प्रशासक भन्दा जिल्लाबासीको हितैषी र सेवकको रुपमा आफूलाई उभ्याएउन सफल भएका छन् । उनी जिल्ला प्रशासन कार्यालयले दिने सेवालाई चुस्तदुरुस्त बनाउन अहोरात्र खटिन्छन् । कोरोना संक्रमितलाई भेट्न आइसोलेशन पुग्छन् । बाँकेको आइसोलेशन, क्वारेन्टाइन र अस्पतालमा उपचाररत कोरोना संक्रमितको अवस्था तथा संख्याको बारेमा एसएमएस मार्फत दैनिक रुपमा जानकारी गराउँछन् ।
उनी मृत्य भएका कोरोना संक्रमितको शब ब्यवस्थापनमा पनि आफै खटिन्छन् । २५ कात्तिकमा मृत्यु भएका दाङका कोरोना संक्रमितको शव ब्यवस्थापनका लागि प्लाष्टिकले र्यापिङमा पनि उनी आफै खटिए । नेपाली सेनाको शव ब्यवस्थापन टोली कोरोनाबाट मृत्यु भएका ब्यक्तिको शव शमशानघाट लैजानका लागि र्यापिङ गर्दै थियो । त्यसैबेला बाँकेका सिडिओ कुरुम्बाङ पनि त्यहाँ पुगे । र, प्लाष्टिक लिएर शब र्यापिङमा सहयोग गर्न थाले ।


उनी बाँकेका कोरोना संक्रमितको शब ब्यवस्थापनमा मात्र नभई कोरोना संक्रमणबाट मृत्यु भएका अन्य जिल्लाकाहरुको शव ब्यवस्थापनमा पनि आफै खटिन्छन् । उनी अस्पताल पुग्छन् । सेनाको शब ब्यवस्थापन टोलीसँगै शमशानघाट पुगेर सद्गत गर्न सेना र परिवारलाई सघाउँछन् । बाँकेको सिडिओ भए पनि उपचारका क्रममा मृत्यु भएका बाहिरी जिल्लाका कोरोना संक्रमितको शब ब्यवस्थापनमा पनि उतिकै खटिन्छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ अन्य जिल्लाका सिडिओ भन्दा एक कदम अगाडी छन् । मृत्यु भएका कोरोना संक्रमितको शव धार्मिक संस्कार अनुसार परिवारका सदस्यको उपस्थितिमा सदगत गर्न दिने पहिलो सिडिओ पनि कुरुम्बाङ नै हुन् । ‘धार्मिक परम्परा अनुसार शब सद्गत गर्न नपाउँदा पीडा महशुस भएको गुनासो परिवारका सदस्यले गरेपछि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परिवारका सदस्यका सदस्यले सद्गत गर्ने ब्यवस्था मिलायौँ,’ उनले भने ।
उनी ब्यापारीले स्वास्थ्य मापदण्ड पूरा गरे–नगरेको अनुगमनमा निस्कन्छन् । माक्स नलगाएर पसलमा बसेको फेलामा कारवाहीको सिफारिस गर्छन् । कोरोनासँग खेलवाड गरेको पाए माक्स, सेनिटाइजर र पसलमा डोरीले घेरा हाल्न निर्देशन दिन्छन् । उनी बाँकेमा हुने हरेक गविधिमा सहभागी पनि हुन्छन् ।
उनले बाँकेमा हुने हरेक गतिविधिमा आँखा लगाउँछन् । चनाखो भएर जिल्लामा हुने आर्थिक, सामाजिक, सांस्कृति र विकास, निर्माणका गतिविधिको सुक्ष्म रुपमा नियाल्छन् । योजना बनाउँछन् र योजना सफल बनाउन सहयोगी हातको खोजी गर्छन् । काम हुन नसकेको कारण खोज्छन् र समस्या समाधानका लागि उपाय पत्ता पनि लगाउँछन् । नियम, कानून कार्यान्वयन गराउन प्रहरीलाई निर्देशन दिन्छन् ।
उनले मौसमको समेत हेक्का राख्छन् । बर्षा र बाँकेका खोला, नालामा आउने बाढीबाट सचेत रहन फेसबुक र मोवाइल एसएमएस मार्फत सर्वसाधारण नागरिकलाई जानकारी गराउँछन् । उनले एक दिन आफ्नो फेसबुक पेजमा लेखेका थिए, ‘आज प्यूठान, दाङ लगायत स्थानमा भारी बर्षा हुने र यसले बाँकेका विभिन्न ठाउँमा बाढी आउने सम्भावना भएकोले सतर्क हुन अनुरोध छ ।’


उनी भन्सार राजस्वको प्रगतिका बारेमा समेत जानकारी लिएर सर्वसाधारण माझ सार्वजनिक गर्न पछि पर्दैनन् । ‘जिल्लामा हुने सम्पूर्ण गतिविधिको जानकारी पाउने अधिकार सर्वसाधारणको पनि हो भन्ने मेरो मान्यता छ,’ उनले भने ।
उनी कोरोना संक्रमित भएपछि होम आइसोलेशनमा बसे । त्यतिबेला पनि उनले जिल्लामा भएका र हुने गतिविधिका बारेमा जानकारी गराइनै रहे । ज्वरो र रुघाखोकीले थलिएकै बेला पनि उनले आफ्नो नियमित कार्यलाई निरन्तरता दिई रहे । त्यसैले त उनी बाँकेबासीको मनमस्तिष्कमा बस्न सफल भएका छन् ।
बाँकेका सिडिओ करुम्बाङले सर्वसाधारणलाई आफ्नो फोन नम्बर दिन्छन् । कुनै समस्या परे फोन मार्फत जानकारी गराउन आग्रह गर्छन् । सर्वसाधारणको फोन उठाएर समस्या सुन्छन् । र, समस्या समाधानका लागि तत्काल एक्सन लिन्छन् । नेपालगन्जका एक घरबेटीले डेरामा बस्ने युवतीको साथीलाई कोरोना संक्रमण भएपछि उनलाई घरबाट निकाले । ति युवतीले सिडिओ कुरुम्बाङलाई फोन गरि घरबेटीले निकालेको जानकारी गराइन् । युवतीको कुराको आधारमा सिडिओ कुरुम्बाङले तत्काल एक्सन लिए र युवतीलाई घरबाट निकाल्ने घरबेटीलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा पुर्याए । यो बाँकेको प्रतिनिधि घटना मात्र हो ।


उनले आफूलाई बाँकेमा मात्र अब्बल बनाएका होइनन् । बर्दियाको प्रमुख जिल्ला अधिकारी भएको बेला पनि उनले बर्दियाको विकासमा अतुलनिय भूमिका निर्वाह गरेका थिए । सोही कामको मूल्यांकनको आधारमा गृह मन्त्रालयको कार्यसम्पादन मूल्याकंनमा उनी एक नम्बरमा पर्न सफल भए ।
बर्दिया बस्दा एकाउन्ट्बिलिटी ल्याब संस्थाले सरकारी कार्यालयमा रहेर निष्ठाका साथ आफ्नो कर्तव्य तथा दायित्व निर्वाह गर्ने राष्ट्रसेवकको मुल्यांकन तथा प्रतिस्पर्धामा पनि कुरुम्बाङ प्रथम भए । जनता सेवकको पहिचान बनाएर जागिरे जीवन विताउँदै गरेका कुरुम्बाङ सफल सिडिओ भएर देशभरमै चिनिदै आएका छन् ।
नौँ वटा जिल्लाको सिडिओ भएर काम गर्दाको पृष्ठभूमिमा कुरुम्बाङको काम र लगनशीलता झल्किन्छ । भष्ट्राचार बिरुद्धमा खरो उत्रने, सेवाग्राही मैत्री, पारदर्शीता, जनताको सुरक्षामा तल्लिन, विकास प्रेमी र क्षमतावान प्रशासकको सूचीमा उनी सूचीकृत छन् ।
उनको काम र ब्यवहार मात्र प्रशंसा गर्न लायक नभएर उनी हेर्दा पनि हिरो भन्दा कम छैनन् । काममा अब्बल रहेका कुरुम्बाङको नम्र बोली र मिजासिलो स्वभाव अर्को गुण हो ।
उनी दिनमा ६ घण्टा मात्र सुत्छन् । निदाएको बेला बाहेक उनी फोनमा ब्यस्त हुन्छन् । विहान चार घण्टा शारिरिक ब्यायाममा खर्चिदै आएका सिडिओ कुरुम्बाङले विहान दौड्ने बेला पनि फोनमा कुरा गर्दै दौड्नु पर्छ । ‘निदाएको बेला बाहेक मेरो धेरै जसो समय जनताको काममा बित्छ । जनताको गुनासो आइरहने भएकोले विहान दौड्ने बेला समेत फोनमा कुरा गर्नुपर्छ,’ उनले भने ।


को हुन् सिडिओ कुरुम्बाङ ?
फेदाप गाउँपालिका–१, तेह्रथुमका रामबहादुर कुरुम्बाङ निजामति कर्मचारीमा प्रवेश गरेको ३१ वर्ष भयो । एमए उत्तीर्ण गरेका उनी ०४६ सालमा सुब्बाबाट सरकारी जागिरमा प्रवेश गरेका थिए ।
तर, उनी निजामति जागिरी छोडेर ०४९ सालमा नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लप्टन) मा नाम भर्ना भए । उनी ०५३ सालसम्म नेपाली सेनाको सेकेण्ड लप्टनमा जागिरी खाए । नेपाली सेनाको जागिरीमा चित्त नबुझेपछि उनी सेनाको जागिरी छोडेर ०५५ सालमा फेरि निजामति सेवातर्फ अधिकृतबाट जागिरी सुरु गरे । विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका उनी हाल बाँकेको पनि लोकप्रिय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here