स्वास्थ्य सुरक्षा अपनाएर धारा नेपालगन्ज म्याराथन आयोजनाको तयारी

बाँके, २३ कात्तिक ।
स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर नेपालगन्ज पिस म्याराथनको छैठौं संस्करण आयोजना गरिने भएको छ । नेपालगन्ज नगरको पहिचान बनाउन सफल भएको धारा नेपालगन्ज म्याराथन ६ मंसिरमा हुने आयोजक क्रियटिभ ह्याण्डसले जनाएको छ ।
कोरानाका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गरि पुरुष म्याराथन र महिला हाफ म्याराथन मात्र आयोजना हुने क्रियमिटभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । कोरानाकै कारण ठूलो जमघट गर्न नमिल्ने भएकोले विगतको भन्दा यस पटक इभेन्ट घटाइएको उनले बताए । ‘पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन र तीन किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ,’ उनले भने ।
गत वर्ष पाँच किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरिय तथा खुल्ला दौड, त्यसैगरि ८–१२ बर्ष उमेर समुहको खुल्ला र शारिरिक रुपले अशक्तहरुको ट्राई साइकल दौड स्पर्धा समावेश गरिएको थियो ।
कर्पोरेट फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बिभिन्न पेशा र व्यवसायीको सहभागिता रहने उनले बताए । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिने उनले बताए । कर्पोरेट रनका विजेतालाई पुरस्कार प्रदान गरिने ठकुरीले जनाए ।
बीपी चोकदेखि सुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगेर सोही रुट हुँदै पुनः बीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन् । म्याराथनमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका खेलाडीले भाग लिने भएका छन् ।
उनले दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम गर्न पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन् । ‘स्वास्थ्य मापदण्ड अपनाएर खेलकुद गतिविधि सुरु गर्न सकिन्छ भन्ने देश व्यापी सन्देश दिनका लागि पनि नेपालगन्ज म्याराथन आयोजना गरिन लागिएको छ,’ अध्यक्ष ठकुरीले भने ।
नेपालगञ्ज म्याराथनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न संघले सघाउने प्रतिबद्धता जनाए । टाइटल स्पोन्सर केएल दुग्गड गु्रपका महाप्रवन्धक प्रदीप छाजेडले सहकार्यलाई निरन्तरता दिनुका साथै प्रायोजन रकम बढाउँदै जाने प्रतिबद्धता व्यक्त गरे । सहप्रायोजक आशिर्वाद पेन्टसका अध्यक्ष किरण कार्की र राष्ट्रिय बाणिज्य संघका प्रदेश प्रमुख आनन्द सुवेदीले सहकार्यलाई निरन्तरता दिने बताए ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भीम ओलीले नेपालगन्ज म्याराथनले कोहलपुर र नेपालगन्जलाई जोड्ने मात्र नभई सामाजिक एवम् धार्मिक सद्भाव कायम गर्न मद्दत गरेको बताए । उनले प्रतियोगिताले नेपालगन्जको पहिचान बनाउन सहयोग गरेको बताउँदै यसले आर्थिक गतिविधिमा टेवा दिएको जिकिर गरे ।

Previous articleगाउँघरमा सुनिन छाड्यो सारङ्गीको धुन
Next articleगरिव जनता माझ दीप छर्दै वडा अध्यक्ष दीपक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here