कोरोना माहामारीका वीच उद्योगी–ब्यवसायी चुनावी अभियानमा, कसलाई कसको समर्थन ?

काठमाडौँ, २१ कात्तिक ।
उद्योगी–व्यवसायीहरू यतिबेला नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा होमिएका छन् । ११ मंसिरदेखि १३ गतेसम्म काठमाडौंमा हुने महासंघको ५४ औँ वार्षिक साधारणसभा तथा निर्वाचनका लागि उद्योगी–ब्यवसायीहरु भोट माग्दै देश दौडाहमा छन् । चुनावले वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी र कार्यसमिति सदस्य निर्वाचित गर्नेछ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने महासंघको विधानले व्यवस्था गरिसकेकोले अब साधारणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने भएका छन् ।
महासंघको भावी वरिष्ठ उपाध्यक्षका लागि उद्यमी चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । अहिले ढकाल महासंघको एसोसिएटतर्फका उपाध्यक्ष हुन् भने प्रधान जिल्ला नगरतर्फका उपाध्यक्ष हुन् । ढकाल र प्रधान स्पष्ट प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । महासंघ निर्वाचन समितिले ५ कात्तिकदेखि नै उम्मेदवार मनोनयन दर्ता सुरु गरेको छ, मनोनयन ४ मंसिरसम्म दर्ता गराउन सकिनेछ । महामारीकै बीच दुवै पक्ष चुनावी प्रचार–प्रसारमा व्यस्त भइरहेकै बेला दुवै प्यानलले आ–आफ्नो जित निश्चित रहेको दाबी गर्दै आएका पनि छन् ।
ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका छन् । प्रधानको प्यानलबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति रहेका छन् ।
ढकाल समूहको वस्तुगततर्फको कार्यकारिणी सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय सिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । प्रधान प्यानलको वस्तुगततर्फको कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, अशोक शर्मा, विप्लवमान सिंह, विष्णु गैह्रे, दीपक दाहाल, गोविन्द ढुंगेल, माधवलाल श्रेष्ठ, महेशलाल प्रधान, मीनमान श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शकुन्तलाल हिराचन, सन्दीप अग्रवाल, शारदा रिजाल, शिवप्रसाद घिमिरे र सुनीलगोपाल श्रेष्ठ रहेका छन् ।
प्रधान प्यानलको एसोसिएटतर्फको कार्यकारिणी सदस्य विजयसिंह वैद्य, रञ्जित आचार्य, कृष्ण दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द बगारिया, मंगेशलाल श्रेष्ठ, अशोक टिमानी, सुनीलनारायण श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, प्रबलजंग पाण्डे, सन्दीप गाडिया, हेमन्त गोल्छा, शक्ति बेगानी र उदीप श्रेष्ठ रहेका छन् । ढकाल प्यानलको एसोसिएटतर्फको कार्यकारिणी सदस्यमा भरत आचार्य, गोपाल खनाल, रामशरण थपलिया, अम्बिकाप्रसाद पौडेल, अजित बस्नेत, विनोद ढकाल, सुशील थापा, बाबुकाजी कार्की, कृष्णलाल महर्जन, विराट थापा, सञ्जय गिरी, अविनाश बोहरा र रामकृष्ण प्रसाईँ रहेका छन् ।
कसलाई कसको समर्थन ?
सहमतिबाट नेतृत्व चयन गनुपर्ने माग उठिरहेको छ, तर्र पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष नै प्यानललाई सहयोग गरिरहेका छन् । ढकालको समूहलाई पूर्वअध्यक्ष चण्डीराज ढकाल, पूर्वअध्यक्ष सुरज वैद्य, पूर्ववरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारलगायतको साथ रहेको देखिन्छ । प्रधानलाई भने पूर्वअध्यक्ष कुशकुमार जोशी, पूर्वअध्यक्ष पद्म ज्योति, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायतको साथ रहेको देखिन्छ ।
अध्यक्ष भवानी राणाले यसअघि प्रधान प्यानललाई समर्थन गर्ने संकेत गरेकी थिइन् । तर, अहिले भने राणाले कुनै समूहलाई पनि खुलेर समर्थन गरेको देखिँदैन । एसोसिएटमा प्रधान प्यानल र जिल्ला नगरमा ढकाल प्यानल बलियो देखिएको व्यवसायीहरूले आँकलन गर्दै आएकाछन् । वस्तुगतमा भने दुवै पक्ष बराबर अवस्थामा देखिएको दावी गरिएको छ ।

Previous articleजन्मदिन मनाउने, खुशी साट्ने र आशिर्वाद लिने थलो बन्दै नीलसागर बृद्धाश्रम (फिचर)
Next articleएकैदिन दाङकी २० बर्षीया र टीकापुरकी ५६ बर्षीया महिलाको कोरोनाका कारण मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here