बाँके, २० कात्तिक ।
नयाँ प्रविधिले पूरानो प्रविधिलाई विस्थापित गरे जस्तै हातले लेख्ने आर्टलाई पनि डिजिटल प्रविधिले विस्थापित गरेको छ । कुनै बेला हातले लेखेका साइनबोर्ड बाहेक केहि देखिदैनथ्यो । कलाकारले अनेकौँ बुद्धि, विवेक लगाएर बोर्डमा कला कोर्थे र ग्राहकलाई सन्तुष्ट बनाउँथे ।
तर, अहिले हातले लेख्ने आर्ट नेपालगन्ज लगायत देशका मुख्य शहरमा हराई सकेको छ । अहिले आर्ट व्यवसायीको अवस्था खस्किदो छ । बिगतका दिनमा गर्दैैै आएको आम्दानी भन्दा अहिले तीन गुणा घटेको नेपालगन्ज टांगा स्टेशन नजिक आर्ट ब्यवसाय गर्दै आएका बब्लु आर्टका प्रोप्राइटर बब्लु शेषले बताए ।
उनले कामको चाप पनि घटेको बताए । साइनवोर्ड लगायत ब्यानर बनाउन कम्प्यूटर प्रविधि भित्रीएपछि आर्ट ब्यवसाय ओरालो लागेको उनको भनाई छ । ‘कुनै बेला कामका मारामार थियो, कम्तीमा तीन–चार दिनको समय दिनु पथ्र्यो, तर अहिले दिनमा एक–दुईजना बाहेक आउँदैनन्,’ उनले भने, ‘पेशा न छोड्न सकिएको छ न त अंगाल्न नै ।’
बिगतका दिनमा मासिक ३०–३५ हजार कमाई हुन्थ्यो । त्यतिबेला शौच गर्ने समेत फुर्सद हुदैनथ्यो र आम्दानी पनि राम्रै हुने गथ्र्यो । अहिले पसलमा दिनभर त्यतिकै बस्ने अवस्था सिर्जना भएको छ । ‘कहिले राम्रो आम्दानी हुन्छ, कहिले दिनभरी शून्य हुन्छ । अहिले मासिक १० हजारको पनि व्यवासाय हुँदैन,’ जय नेपाल आर्टका प्रोप्राइटर सरोज अहमद हल्वाईले भने ।
बाँकेमा अहिले करिब १ दर्जन आर्ट व्यवसायी छन् । सबैले पहिलाको जस्तो आम्दानी गर्न सकेका छैनन् । कतिले व्यवसाय छोडिसकेका छन् भने कतिपयले ऋण, साहु गरेर प्रबिधिबाट आर्ट व्यवसाय सञ्चालन गरेका छन् । हातले लेखेर राम्रो आर्ट व्यवसाय सञ्चालन गर्दै आएका बर्दिया आर्टका प्रोप्राइटर इन्द्रजीत परियार अहिले फ्लाक्स प्रिन्ट संचालनमा ल्याएका छन् । डिजिटल प्रविधि भित्रिएपछि फ्लाक्स प्रिन्ट खरिद गरेर व्यवसाय संचालन गरिरहेको छु,’ उनले भने ।
छिटो छरितोका लागि कम्प्युटर प्रबिधि उचित भए पनि डिजिटल प्रविधि महंगो पर्ने हुँदा सवै आर्ट ब्यवसायीले खरिद गर्न नसक्ने उनले बताए । उनले डिजिटल उपकरण खरिद गर्न नसक्नेको पेशा नै संकटमा परेको बताए ।