कहिलै रजस्वला बार्दैनन् थारु महिला

बाँके, २० कात्तिक ।
छाउ गोेठमा सुतेकी महिलाले अकालमा ज्यान गुमाउन परेको खवरले बेला–बेला चर्चा पाउने गर्छ । तर, थारु समुदायका महिलाले भने कहिल्यै पनि रजस्वला बार्नु परेको छैन । रजस्वला भएका थारु महिला अन्य दिनको झैँ नियमित काममा जान्छन् । सफासुग्घर भएर भान्साको काम गर्छन् । रजस्वला भएका महिला खुलेआम भान्सा कोठामा जाने, आपैm खाना बनाउने र आफै पस्केर खान्छन् ।
छुवाछुत नमान्ने भएकोले रजस्वला भएका महिला नुहाई धुवाई, सफासुग्घर भएर कुल देवता भएको कोठा (डिउह्रार) मा पनि जाने गरेको थारु अगुवा बताउँछन् । ‘को कहिले रजस्वला भयो परिवारका सदस्यलाई थाहा हुँदैन,’ थारु धर्म र साहित्यका जानकार एकराज चौधरीले भने, ‘थारु समुदायमा रजस्वला बार्ने सायदै होलान ।’
महिलाका लागि रजस्वला प्राकृतिक उपहार भएको भन्दै थारु समुदायले यसलाई बरदानको रुपमा लिने गरेको पछ्ला प्रगन्नाका गुर्बाबा लिलामणी चौधरीले बताए । महिलामा रजस्वला नभए श्रृष्टि रोकिने भएकोले यसलाई पहिलेदेखि नै बरदानको रुपमा अंगिकार गरेको उनले बताए । ‘महिलामा रजस्वला नभए मानिसको उत्पत्ती नै रोकिन्छ, अनि कसरी भयो यो सराप, मानव सृष्टिकर्ता महिला कसरी हुन सक्छिन् अछुतो ?’ उनले भने ।
रजस्वला भएका महिलाले खाना पकाउने, खुवाउने समेत गर्दै आएको बर्दियाका थारु अगुवा घनश्याम चौधरीले बताए । उनले रजस्वला भएको महिलाले नुहाई धुवाई सफासुग्घर भएर खाना पकाउने र खुवाउने गरेको बताए । ‘रजस्वला भएको महिलालाई छुँदा, सँगै बसेर खाँदा वा बस्दा देउता रिसाएको, अनिष्ट भएको र कुनै काम विग्रेको अहिलेसम्म देखेको, सुनेको छैन,’ उनले भने, ‘देउताको पूजाका सामग्री बनाउन पनि रजस्वला भएका महिलालाई रोकतोक छैन ।’
थारु समुदायमा महिला महिनावारी भएको श्रीमान, आमा, दिदीवहिनी वा नजिकको सदस्य बाहेक अरुलाई विरलै थाहा हुने गरेको साहित्यकार एवम् मानवअधिकारकर्मी सुशील चौधरीले बताउँछन् । उनले रजस्वला भएका महिलाले थारु समुदायमा कहिल्यै पनि घर बाहिर सुत्न र भान्सा कोठाबाट बन्चित हुन नपरेको बताए । ‘रजस्वला भएका महिला आफूखुसी भान्सा र घरका कोठामा जान्छन्, कसैलाई कहिल्यै रोकतोक हुँदैन, रजस्वला भएका महिलालाई छोए वा भान्सा कोठामा गए अनिष्ट हुन्छ भन्ने हाम्रोमा छैन,’ उनले भने, ‘बरु आफूलाई मन परेको खाना खान रजस्वला भएका महिलालाई प्रेरित पो गरिन्छ ।’
थारु महिला भन्छन्, ‘रजस्वला बार्न परेको छैन’
रजस्वला भएको बेला आफू हेपिएको र दुब्र्यवहार भएको अहिलेसम्म महशुस नगरेको बाँकेकी थारु अगुवा महिला संगीता चौधरीले बताइन् । उनले रजस्वला भएको बेला समेत परिवारका सदस्यले समान ब्यवहार गर्ने भएकोले अन्य दिनको भन्दा कुनै फरक नपाएको बताइन् । ‘घर बाहिर बस्ने, भान्सामा जान नदिने, छुवाछुत मान्ने गरेको भए पो महिनावारी भएको महशुस हुने थियो,’ उनले भनिन्, ‘त्यो बेला पनि अन्यदिनको भन्दा फरक ब्यवहार नभए अवहेलित भएको महशुस हुने कुरै भएन ।’
बाँकेमा क्रियाशील पत्रकार विमला चौधरीले पनि अहिलेसम्म रजस्वला बार्न नपरेको बताइन् । रजस्वला भएदेखि एकदिन पनि बार्न नपरेको बताउँदै उनले थारु समुदायले रजस्वलालाई सामान्य रुपमा लिने गरेको बताइन् । थारु समुदाय प्रकृति पुजक भएकोले रजस्वलालाई प्रकृतिको वरदानको रुपमा लिने गरेको एर रजस्वलालाई सामान्य रुपमा लिएको बताइन् । ‘रजस्वला भएको बेला परिवारका सदस्यले टाढा राखेको मैले अहिलेसम्म भोगेको छैन,’ उनले भनिन् ।

Previous articleसमर्थन मूल्यमा धान खरिद गर्दै बाँकेका १३ सहकारी, हतार नगर्न खाद्य संस्थानको सुझाव
Next articleडिजिटल प्रविधिले आर्ट ब्यवसाय धरापमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here