समर्थन मूल्यमा धान खरिद गर्दै बाँकेका १३ सहकारी, हतार नगर्न खाद्य संस्थानको सुझाव

नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित महेश गल्ला भण्डारमा धान विक्रि गर्दै किसान ।

बाँके, १८ कात्तिक ।
किसानलाई ब्यापारीबाट ठगिन नदिन सरकारले सहकारीलाई किसानको धान खरिदका लागि प्रोत्साहन गर्ने नीति लिएपछि बाँकेका १३ वटा सहकारीले सरकारले तोकेको मूल्यमा धान खरिद गरिरहेका छन् । किसानलाई फाइदा पुग्ने गरि सरकारले निर्धारण गरेको समर्थन मूल्यमा यहाँका सहकारीले धान खरिद गरिरहेको जिल्ला सहकारी संघ, बाँकेका अध्यक्ष प्रेम सुवेदीले बताए ।
उनले ५ कात्तिकदेखि हालसम्म यहाँका सहकारीले झण्डै ३० हजार क्विन्टल धान खरिद गरिसकेको जानकारी दिए । सरकारले धान खरिद निर्देशिका जारी गरि सहकारीलाई किसानको धान खरिद गर्ने अनुमति दिएपछि समर्थन मूल्यमा खरिद गर्न थालेको उनले बताए । ‘सरकारले जारी गरेको निर्देशिकाको केहि बुँदामा हाम्रो असहमति छ, तर हामीले किसानको मर्कालाई मध्यनजर गरि समर्थन मूल्यमा धान खरिद गरिरहेका छौँ,’ अध्यक्ष सुवेदीले बताए ।
सरकारले पाँच हजार मेट्रिक टन धान खरिद गर्ने सहकारीलाई प्रति क्विन्टल एक सय १२ रुपैँया अनुदान दिने भएको छ । भने, १८ प्रतिशत चिस्यान भएको धानमात्र खरिद गर्न निर्देशन दिएको छ । ‘पाँच हजार मेट्रिक टन धान खरिद गर्न नसक्ने सहकारी पनि हामी कहाँ छन् । एकातिर सवै सहकारीलाई धान खरिद गर्न भन्ने अर्कोतिर साना सहकारीले गर्न नसक्ने नियम बनाउने सरकारको कस्तो नीति हो,’ उनले भने । उनले किसानलाई सरकारले तोकेको समर्थन मूल्यमा धान विक्रि गर्न सुझाव दिए ।
५ कात्तिकबाट मात्र धान खरिद गर्ने खाद्य संस्थानको निर्णय
खाद्य संस्थान, नेपालगन्जले ७ मंसिरबाट मात्र धान खरिद गर्ने संस्थानका मुख्य शाखा प्रमुख निर्मल थापाले बताए । उनले मोटा र मध्यम धान २०–२० हजार क्विन्टल खरिद गर्ने अनुमति पाएको बताए । उनले जिल्ला मूल्य निर्धारण समितिको सिफारिसमा मोटा धानको मूल्य प्रति क्विन्टल दुई हजार सात सय ३५ र मध्यम धान प्रति क्विन्टल दुई हजार आठ सय ८५ रुपैँया निर्धारण गरेको बताए ।
सवै किसानले धान भित्र्याउन बाँकी रहेकोले ७ मंसिरबाट मात्र धान खरिद गर्ने निर्णय गरेको उनको भनाई छ । उनले छिटो खरिद गर्दा धानमा चिसोपना हुने र धेरै समयसम्म भण्डारण गर्न समस्या हुने भएकोले ढिलोगरि खरिद गर्न लागेको दावी गरे । ‘छिटो धान खरिद–विक्रि गर्दा छिट्टै कोटा पूरा हुने र पछि गएर धानको मूल्य झनै घटेर किसान थप मर्कामा पर्ने समस्या आउन सक्छ,’ थापाले भने, ‘हामीले छिटोगरि समर्थन मूल्य निर्धारण गर्दा ब्यापारीलाई मूल्य बढाउन दवाव बढ्यो । यसलाई पनि सकारात्मक रुपमा लिनु पर्छ ।’

धान खरिद गर्न सुरु नगरेपछि सुनसान रहेको नेपालन्जस्थित खाद्य संस्थान ।


ब्यापारीले २० दिनमा खरिद गरे दुई हजार क्विन्टल धान
खाद्य संस्थानले गुणस्तरिय धान खरिद गर्न ढिलाई गरेको दावी गरिरहेको बेला नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित महेश गल्ला भण्डारले २० दिनमा दुई हजार क्विन्टल धान खरिद गरेको छ । गल्ला भण्डारले दैनिक सरदर एक सय क्विन्टल धान खरिद गर्दै आएको प्रोप्राइटर राजेश साहुले बताए ।
उनले राप्तीसोनारी, नरैनापुर, डुडुवा र नेपालगन्ज उपमहानगरपालिकाका किसानसँग धान खरिद गर्दै आएको बताए । उनका अनुुसार, यहाँका किसानले असोज अन्तिम साताबाट धान विक्रि गर्न लागेको बताए । ‘धान सुकेपछि खरिद गर्ने योजनामा थियौँ, तर किसानले धान किनिदिनु प¥यो भनेर करकाप गर्छन्,’ उनले भने ।
उनले मोटो धान प्रति क्विन्टल दुई हजार रुपैँया र मध्यम धान प्रति क्विन्टल दुई हजार ५० रुपैँयाका दरले खरिद गर्दै आएको बताए । गत बर्षभन्दा दुई सय बढि दिएर धान खरिद गरेको उनको भनाई छ ।
नरैनापुर र डुडुवाका किसानले सस्तो मूल्यमा धान विक्रि गर्दै
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लि. (खाद्य संस्थान) मुख्य शाखा कार्यालय नेपालगन्जले समयमा धान खरिद नगर्दा सस्तो मुल्यमा धान विक्रि गर्न किसान बाध्य भएका छन् । संस्थानले धान खरिद गर्न सुरु नगरेपछि स्थानीय महाजनसँग धान विक्रि गर्न परेको नरैनापुर गाउँपालिका–५, मटेहियाका खेमराज यादवले गुनासो गरे ।
उनले मोटो धान प्रति क्विन्टल दुई हजार र मध्यम धान प्रति क्विन्टल दुई हजार ५० रुपैँयामा विक्रि गरेको बताए । तर, सरकारले यसबर्ष धानको समर्थन मूल्य मोटा धानको प्रति क्विन्टल दुई हजार सात सय ३५ र मध्यम धानको दुई हजार आठ सय ८५ रुपैँया निर्धारण गरेको छ ।
उनले सरकारले सरकारले निर्धारण गरेको समर्थन मूल्यका बारेमा आफूलाई जानकारी नभएको स्पष्ट पारे । ‘सरकारले धानको समर्थन मूल्य निर्धारण गरेको कुरा आज सुन्दैछु,’ उनले भने ।
खाद्य संस्थानले ढिलागरि धान खरिद गर्दा ब्यापारीसँग सस्तो मूल्यमा विक्रि गर्न बाध्य भएको डुडुवा गाउँपालिका–३ बनकट्टीका मोइनुद्दिन खाँले बताए । उनले धान विक्रि गरेर गहुँको वीउ, रासायनिक मल खरिद गर्नुपर्ने भएकोले सस्तो मूल्यमा धान विक्रि गर्न थालेको बताए । केहि दिन राख्न सकेको भए महंगोमा विक्रि गर्न पाइन्थ्यो । ‘घर ब्यवहार चलाउन सस्तोमा भए पनि धान विक्रि गर्न बाध्य भयौँ,’ उनले भने, ‘हामीसँग प्रति क्विन्टल ६–९ सय रुपैयाँ घाटा खानुको विकल्प छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here