बाँके, १६ कात्तिक ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बाँकेमा ३३ पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका–१६, जयसपुरकी ७० बर्षिया कोरोना संक्रमित महिलाको आइतवार बेलुकी ५ बजे मृत्यु भएपछि मृत्यु हुनेको संख्या ३३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई १२ कात्तिकमा स्वाब संकलन गरिएको थियो । भेरी अस्पतालको पिसिआर ल्याबमा १३ कात्तिकमा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा स्वास प्रस्वास सम्बन्धि समस्यासँगै कोरोना संक्रमणका कारण मृत्यु भएको उनले बताए ।
यसैगरि, शनिवार राती खजुरा गाउँपालिका–३, बी गाउँका ४० बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा नेपालगन्ज मेडिकल शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई १५ कात्तिकमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।
उनको सोही दिन स्वाब संकलन गरि पिसिआर ल्याबमा पठाइए पनि रिपोर्ट नआउँदै राती ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।