नवनिर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटन

बाँके, ५ कात्तिक ।
डुडुवा गाउँपालिका वडा नंं. ४ मा निर्मित आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्र भवनको बुधवार एक कार्यक्रमका वीच उद्घाटन भएको छ । भवनको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकामा बसोबास गर्ने कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले सबैलाई पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको बताए ।
उनले गाउँपालिका अन्तर्गत रहेका दूरदराज तथा पछाडी परेका र टाढा हुने सेवाग्राहीका लागि गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न सहजताका लागि अझँै पनि दुई स्थानबाट स्वास्थ्य इकाई स्थापना गर्न लागेको बताए । अध्यक्ष चौधरीले स्वास्थ्य केन्द्रमार्फत नागरिकलाई सम्पूर्ण निशुल्क उपचारको व्यवस्था गरेको बताए । उनले सेवाका बारेमा गुुनासो तथा सरसल्लाह दिन सेवाग्राहीलाई आग्रह गरे ।
गाउँपालिकाको १, २, ३, ५ र ६ नंं. वडामा पहिलेदेखि स्वास्थ्य केन्द्र भवन रहेको र वडा नंं. ४ मा स्वास्थ्य भवनको अभावमा सेवा प्रवाह गर्न असहज भएकाले भवन निमार्ण गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनले भवन निर्माण भएपछि सेवा सहज हुने बताए । उनले डलैपुर र पाझामा पनि स्वास्थ्य इकाई स्थापना गर्न लागिएको बताए ।
संघीय सरकारबाट प्राप्त ३५ लाख रुपैँया अनुदानबाट निर्माण भएको भवनबाट प्रसुती सेवा बाहेक सबै स्वास्थ्य सेवा प्रवाह गरिने उनले बताए । भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, शाखा सह–संयोजक वीरेन्द्र घले लगायतको उपस्थिति रहेको थियो ।

Previous articleआइसोलेसनमै गरे प्रदेश सांसद डिल्लीबहादुर चौधरीले आफ्नो कुल देवताको पूजा
Next articleबाख्रा पालनबाट मनग्य आम्दानी गर्दै फत्तेपुरका महिला, तीन महिनामा ८२ लाखको खसीबोका विक्रि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here