बाँके, ४ कात्तिक ।
बर्दियाका दुई वटा नगरपालिकाका कोभिड १९ बाट प्रभावित तथा विपन्न परिवारलाई बाँके युनेस्को क्लवले सहयोग गरेको छ । कोरोनाबाट अतिप्रभावित र अतिविपन्न ८८८ घर परिवारलाई विभिन्न सहयोग गरेको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताए ।
बेलायत सरकार सहायता नियोग डीएफआइडीको आर्थिक सहयोग र मर्सीकोर तथा प्लान इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकामा सञ्चालन गरिएको रिजिलियन्स प्लस कार्यक्रमबाट ८८८ घरपरिवारलाई सहयोग गरिएको उनले बताए ।
त्यसैगरि, कोभिड १९ का कारण अत्याधिक प्रभावित भई समस्यामा परेका अतिविपन्न परिवारलाई आधारभूत खाद्य र अन्य आवश्यकताका लागि प्रति परिवार १३ हजार पाँचसय रुपैँया बराबरको सहयोग गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताए । उनले सो कार्यक्रम राजापुर नगरपालिकाको वडा नं. ४ र १० तथा बारबर्दिया नगरपालिका वडा नं. १ र १० मा सञ्चालन गरेर वडा कार्यालयहरुको समन्वयमा अतिप्रभावित तथा अतिविपन्नको छनोट गरि सहयोग प्रदान गरिएको उनले बताए ।
उक्त कार्यक्रम अन्तरगत राजापुरका ४४४ परिवार र बारबर्दियाका ४४४ घर परिवारलाई राहत वितरण गरिएको उनले बताए । उनका अनुसार छनोटमा परेका परिवारलाई प्रति परिवार १३ हजार पाँच सय बराबरको प्रिपेड कार्ड वितरण गरिएको जनाउँदै सोही कार्ड देखाएर उनिहरुले उक्त बराबरको खाद्य लगायत अन्य सहयोग तोकिएको भेन्डरबाट प्राप्त गर्नेछन् ।
सो कार्यक्रम अन्तर्गत कोभिड १९ महामारीका बारेमा सचेतना कार्यक्रम पनि संचालन गरिने भएको छ । उनले दुबै नगरपालिकामा चेतनामूलक जिंगलहरु स्थानीय रेडियोमार्फत प्रसारण तथा पोषण स्वच्छता अभ्यासका बारेमा जानकारी दिइने कार्यक्रमका संयोजक दयाराम चौधरीले बताए ।
सहयोग वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि तथा अन्य विभिन्न निकायका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । कोभिड १९ को अति जोखिममा रहेका परिवारका लागि आधारभूत खाद्य, स्वास्थ्य र अन्य आवश्यकतामा सहयोग गर्न सो कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका मिल अफिसर हसरत अलीले बताए ।