बालबालिकालाई रुघाखोकी, निमोनियाबाट जोगाउन के गर्नु पर्छ ? बालरोग विशेषज्ञ डा. रोमा बोराको सुझाव यस्तो छ

बाँके, ३ कात्तिक ।
दसैँ, तिहार नजिकिएसँगै तराईका जिल्लामा पनि विस्तारै चिसो बढ्न थालेको छ । चिसोले बृद्धबृद्धा, बालबालिका र सुत्केरी महिलालाई बढि असर गर्छ । चिसो मौसममा अक्सिजनको मात्रा कम हुने भएकोले फोक्सो सम्बन्धि समस्या भएका विरामीको स्वासप्रस्वास समस्या हुने गर्दछ ।
नवजात शिशु र बालबालिकालाई चिसो, गर्मी, धुलो, धुँवाले पार्ने असरका बारेमा जानकारी नहुने भएकोले चिसो मौसममा बालबालिकालाई रुघाखोकी, निमोनिया, झाडापखाला, ब्रोनक्यूलाइटिस जस्ता समस्याले सताउने गर्दछ । समयमा उपचार र स्याहार नपाउँदा नवजात शिशु र बालबालिकाको अकालमा ज्यान जाने गरेको छ । चिसो मौसममा बालबालिकालाई लाग्ने रोगबाट जोगाउन अभिभावकको महत्वपूर्ण भूमिका हुने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका बालरोग विशेषज्ञ डा. रोमा बोरा बताउँछिन् ।
चिसो मौसममा भाइरस लामो समयसम्म सक्रिय हुने भएकोले बालबालिकालाई रुघाखोकी लाग्ने गरेको बताउँदै रुघाखोकी लागेका बालबालिकाले समयमा राम्रो स्याहार, सुसार र उपचार नपाए निमोनिया तथा ब्रोनक्यूलाइटिस जस्ता समस्या देखिने उनको भनाई छ । उनले रुघाखोकी एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्ने भएकोले रुघाखोकी लागेका ब्यक्तिबाट बालबालिकालाई टाढा राख्नुपर्ने उनको सुझाव छ । ‘चिसो मौसममा भाइरस लामो समयसम्म जिवित रहन्छ नै नाकको भित्री सतह अलि सुखा र चिपचिपा हुने भएकोले भाइरसका लागि अनुकुल हुन्छ,’ डा. बोराले भनिन्, ‘रोगसँग लड्ने शक्ति बालबालिकामा कम हुने भएकोले भाइरसले छिटो आक्रमण गर्छ ।’


बालबालिकालाई रुघाखोकीबाट जोगाउन हावा छिर्ने र घाम लाग्ने कोठा हुनुपर्ने उनी बताउँछिन् । बालबालिकालाई न्यानो बनाउने नाममा कोठाको झ्याल, ढोका बन्द नगर्न, आगो र हिटर नबाल्न उनले सुझाव दिएकी छन् । ‘कोठामा आगो बाल्दा त्यसबाट निस्कने धुँवाले बालबालिकाको फोक्सोमा संक्रमण भई स्वास प्रस्वासमा समस्या हुन्छ । हिटर बाल्दा कोठा सुखा हुने भएकोले बच्चाको नाक बन्द भई साँस फेर्न समस्या हुने सम्भावना हुन्छ,’ उनले भनिन्, ‘कोठा बन्द गरेर राख्दा धुलो, धुँवा र भाइरसले झनै आक्रमण सम्भावना हुन्छ । त्यसलै बालबालिकालाई चिसोबाट जोगाउन कोठा बन्द गरेर राख्नु, न्यानो बनाउन आगो र हिटर बाल्नु झनै घातक हुन्छ ।’
उनले चिसोबाट जोगाउन बालबालिकालाई धेरै कपडा लगाउँदा पनि हानी पुर्याउने बताउँछिन् । ‘धेरै कपडा लगाई दिँदा बच्चाको शरिरमा पसिना आउँछ । पसिना सुक्न नपाए बच्चालाई निमोनिया हुने खतरा हुन्छ । त्यसैले बच्चालाई मौसम अनुसारको कपडा लगाई दिनु पर्छ,’ बालरोग विशेषज्ञ डा. बोराले भनिन्, ‘बच्चाको शरिर छाम्दा न्यानो हुनु पर्यो, तर पसिना आएको हुन भएन ।’
उनले आगोमा सेक्ने परम्परा पनि घातक भएको बताइन् । बच्चालाई आगोमा सेक्दा धुँवाले फोक्सोमा असर गर्ने चिकित्सकिय सिद्धान्त सुनाइन् । ‘बच्चालाई आगोमा सेक्दा क्षणिक फाइदा पुग्ला, तर यसले दीर्घकालिन असर पुर्याउँछ,’ उनले भनिन् ।


बालरोग विशेषज्ञ डा. बोराले चिसो मौसममा पनि बालबालिकालाई धेरै पानी खुवाउन सुझाव दिन्छिन् । सकेसम्म तताएको पानी खुवाउन सुझाव दिँदै उनले चिसो मौसममा गर्मी मौसममा जस्तै धेरै पानी र झोलिलो खाने कुरा खुवाउनु पर्ने बताइन् । ‘चिसो लाग्ने डरले हामीले बच्चालाई पानी खान दिँदैनौँ, तर यो नराम्रो वानी हो । अन्य मौसममा जस्तै चिसो मौसममा पनि बच्चालाई प्रशस्त पानी र झोलिलो खाने कुरा दिनुपर्छ,’ उनले भनिन् ।
उनले चिसो मौसममा बालबालिकालाई भिटामिन सी भएको सुन्तला, अमला, कागती जस्ता फलफूल खुवाउनु पर्ने बताइन् । ‘चिसो मौसममा सुन्तला खाए रुघा लाग्छ भन्ने गलत धारणा छ, तर त्यस्तो होइन । सुन्तला जाडो मौसममा हुने भएकोले खाँदा कुनै फरक पर्दैन । बरु बालबालिकाको स्वास्थ्यमा फाइदा पुग्छ,’ डा. बोराले भनिन् ।
उनले बालबालिकालाई विभिन्न खालका संक्रमणबाट जोगाउन बाहिरबाट घरमा जाना साथ राम्रोसँग सावुन पानीले हात धोएर मात्र बच्चालाई छुने, शौचालय गएपछि मिचिमिची सावुन पानीले हात धुने, रुघाखोकी लागेको ब्यक्ति घरमा छ भने बच्चालाई टाढा राख्न सुझाव दिन्छिन् । बालरोग विशेषज्ञ डा. बोरा भन्छिन्, ‘खेलौनाबाट पनि बच्चालाई संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले बच्चाको खेलौना समय–समयमा सावुन, पानीले धोएर घाममा सुकाएर खेलाउन दिए विभिन्न थरिका संक्रमणबाट बच्चालाई जोगाउन सकिन्छ ।’
उनले बच्चाले छिटो–छिटो साँस फेरे निमोनिया भएको अनुमान लगाउन अभिभावकलाई सुझाव दिएकी छन् ।

Previous articleरक्षा परियोजना अन्तरगत शिक्षकका लागि स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण तालिम शुरु
Next articleमलिन अनुहार लिएर अस्पताल आएका आमाहरुको अनुहार हँसिलो बनाउने अभियानमा बरिष्ठ बालरोग विशेषज्ञ डा. रोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here