बाँके, १ कात्तिक ।
कोरोना संक्रमण भई स्वास्थ्य अवस्था खराव भएकाहरुलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिए पनि बाँकेमा सोँचे जस्तो सफल नभएको तथ्यांकले देखाएको छ । बाँकेमा अहिलेसम्म २५ जना कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिए पनि ९ जनामा मात्र सफल भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी) का कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनले भेरी अस्पतालमा १७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा आठ जना कोरोना संक्रमित विरामीको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको बताए । ‘ति मध्ये नौँ जनामा मात्र सफल भएको उनको भनाई छ । प्लाज्मा थेरापी उपचार पद्दतीबाट उपचार सन्तोषजनक देखिएन, तर निराश भइहाल्नु पर्ने पनि छैन,’ उनले भने ।
एन्टिबडी जाँच गरेरमात्र प्लाज्मा झिकिने
कोरोना संक्रमण भई स्वास्थ्यमा गम्भिर समस्या देखिएका विरामीको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा प्लाज्मा थेरापी विधिबाट उपचार हुने गरेको छ । कोरोना संक्रमितको एन्टिबडी जाँच नगरेर प्लाज्मा निकाल्ने र विरामीलाई दिँदा विरामीको स्वास्थ्यमा अपेक्षा गरे जस्तो सुधार नआएको पाइएपछि चिकित्सकहरुको राय, सुझावको आधारमा प्लाज्मादाताको एन्टिबटी जाँच गर्ने निष्कर्षमा पुगिएको श्रेष्ठले जानकारी दिए । ‘कोरोना भाइरस संक्रमणमुक्त भएकाहरुको एन्टिबडी लेभल १ दशमलव ६ युनिट भन्दा बढी हुनु पर्छ, तर अहिले एन्टिबडी जाँच नगरेर धमाधम रगत दिने र विरामीलाई चढाउने गरिएको छ,’ उनले भने ।
कोरोनाको लक्षण देखिएका पूर्व संक्रमितको एन्टिबडीबाट निकालिएको प्लाज्मामा गम्भिर विरामी प्रकृतिका विरामीलाई चढाउँदा कोरोना भाइरसलाई पराजित गर्न बल पु¥याएको अनुसन्धानले देखाएको छ । तर लक्षण नदेखिएर कोरोना संक्रमितमा एन्टिबडीको मात्रा नपुग्ने गरेको भेरी अस्पतालका प्लाज्मा थेरापी उपचारका फोकल पर्सन डा. खगेन्द्रजङ्ग शाहले बताए छ ।
प्लाज्मा दिनेहरुको एन्टिबडी जाँच गरेर मात्र प्लाज्मा झिक्ने निर्णय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले गरेको छ । यसअघि कोरोनाबाट मुक्त भएकाहरुले २८ दिनदेखि तिन महिनाभित्र प्लाज्मा दिँदै आएका थिए । एन्टिबडी जाँच नगरेर झिकेको प्लाज्माले विरामीलाई फाइदा नपुग्ने भएपछि जाँच गरेर मात्र झिक्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । उक्त निर्णयलाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले अनुमोदन गरिसकेको उनले बताए ।
एन्टिबडी जाँच बापत लाग्ने शुल्क विरामीले ब्यहोर्नुपर्ने, विरामीलाई आर्थिक भार
डिसिसिएमसीले एन्टिबडी टेष्ट गर्न लाग्ने खर्च विरामीले नै ब्यहोनुपर्ने निर्णय गरेको छ । तर एन्टिबडी जाँचमा विरामीले महंगो शुल्क तिर्नु पर्ने भएको छ । भेरी अस्पतालमा एन्टिबडी जाँच गर्ने ल्याब नभएकोले विरामीले निजी ल्याबमा जाँच गराउनु पर्ने भएको छ ।
एक जनाको एन्टिबडी जाँच गर्न एक हजार पाँच सय रुपैयाँ खर्च लाग्छ । एउटा विरामीको लागि प्लाज्मा खोज्न तिन–चार जनाका एन्टिबडी जाँच गर्नु पर्ने पनि हुन सक्छ । डा. शाह भन्छन्, ‘कोरोना संक्रमण भई निको भएकाहरुमा एन्टिबडी भइसकेकाको मात्र प्लाज्मा झिकिने भएकोले धेरैको जाँच गर्नुपर्ने हुन सक्छ । यसले विरामीलाई आर्थिक भार पर्न सक्छ ।’
[…] Source link […]