कोहलपुरका मेयर रावत भन्छन्ः कसैलाई द्विविधा नहोवस्, जनताको चाहना अनुसार काम गरिरहेका छौँ

बाँके, १ कात्तिक ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले चुनावी घोषणा पत्रलाई टेकेर विकास, निर्माणका काम गरिरहेको बताएका छन् । उनले चुनावका बेला आफूले गरेको घोषणा पूरा गर्न विषयगत योजनालाई प्राथमिकता दिएर अघि बढेको जिकिर गरेका छन् ।
उनले प्रत्येक वडालाई मुख्य सडकसँग जोड्ने योजना कार्यान्वयनको चरणमा भएको बताए । उनले मुख्य सडकबाट वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे भइरहेको बताए । ‘कहिँ कतै कल्भर्ट र पुल निर्माण गर्नुपर्ने भएकोले पूरा हुन नसकेको होला, तर अधिकांश सडक कालोपत्रे पूरा हुने क्रममा छ,’ उनले भने ।
उनले कोहलपुरलाई शैक्षिक हवको रुपमा विकास गर्न नगरपालिका भित्र रहेका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा संचालन गरिएको बताए । उनले लक्ष्मी मावि बर्दह्वामा आइएससी एजी, ज्ञान ज्योति मावि चप्परगौडीमा सिभिल ओभरसियर र त्रिभुवन माविमा कम्प्यूटर शिक्षा (आइटी) विषय पढाई भइरहेको बताए । उत्पादन भएका जनशक्तिलाई बाहिर पठाउने र आफ्नो नगरमा राख्नका लागि प्राविधिक शिक्षामा जोड दिइएको उनको भनाई छ । ‘बाँकी माविमा पनि प्राविधिक शिक्षा पढाउने योजना छ । विद्यालयबाट माग हुने वित्तिकै सम्बन्धनका लागि नगरपालिकाले पहल गर्ने छ,’ मेयर रावतले भने ।
उनले गत आव ०७५–०७६ मा नगरलाई साक्षर घोषणा गरिएको बताए । कोरोनाका कारण पूर्ण साक्षर नगर घोषणा गर्न नसकिएको बताउँदै उनले आगामी आवमा नगरलाई पूर्ण साक्षर घोषणा गरिने दावी गरे ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत नगरको नाला सफाई गरिएको स्पष्ट पार्दै उनले ब्यवसायिक कृषिमा जोड दिएको बताए । कृषकलाई पम्पसेट, दुध दुहुने मेसिन, दुध राख्ने क्यान्टिन वितरण गरेको बताउँदै उनले गाई, भैँसीलाई सुत्केरी भत्ता वितरण गरेको बताए । ‘एउटा सुत्केरी भैँसी र गाईलाई दुई हजार रुपैँयाका दरले गत आवमा एक सय ३३ गाई र दुई सय २९ भैँसी गरि तीन सय ६२ गाई, भैँसीलाई सुत्केरी भत्ता वितरण गरिएको छ,’ उनले भने ।
उनले चालू आवमा ६ सय गाई, भैँसीलाई सुत्केरी भत्ता दिने योजना भएको सुनाए । पशुपालनलाई प्रोत्साहन गर्न सुत्केरी गाई, भैँसीलाई पौष्टिक आहार वितरण गरिएको उनको भनाई छ ।
अस्पताल आउन नसक्ने बृद्धबृद्धाको गाउँघरमै गएर स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको मेयर रावतले दावी गरे । प्रत्येक वडामा ग्रामिण स्वास्थ्य केन्द्र स्थापना गरि सर्वसाधारणलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको उनले बताए ।
ग्रामिण क्षेत्रमा पर्यटन प्रवद्र्धन गरि आयआर्जनमा बृद्धि गर्न वडा नं. १३ मा होमस्टे संचालनको तयारी गरिएको उनले बताए । होमस्टे संचालन गर्न चाहनेलाई अवलोकन भ्रमण र हात्तिसार होमस्टे जाने सडक कालोपत्रे गरिनुका साथै पक्की गेट निर्माण गरिएको छ । ‘पर्यापर्यटनका लागि कोहलपुरमा बोटानिकल पार्क निर्माणका लागि डिपिआर तयार भइसकेको छ,’ उनले भने, ‘बाघ चोक, भ्यूटावर निर्माण कार्य पनि सुरु भएको छ ।’
उनले लामो दूरीमा संचालन हुने सवारी साधनका लागि ४४ करोड लागतमा कोहलपुरमा बसपार्क, अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान, एन्फासँग सम्झौता गरेर १३ विघामा रंगशाला निर्माण भइरहेको जानकारी दिए । ‘कौशिलानगरदेखि हवल्दारपुर, लखना, पिपिरी, चटार, सिम्री, दाउन्ना, नयाँबस्ती, डुडुवा नाला पार गरेर फेरि कौशिलानगरसम्म रिङरोड निर्माण गर्न रेखांकनको काम सम्पन्न भइसकेको छ,’ रावतले भने ।
स्वास्थ्यका कर्मचारीलाई मात्र भत्ता
उनले गत असारदेखि कुनै पनि जनप्रतिनिधिले भत्ता नखाएको दावी गरे । नगर परिषदको निर्णय अनुसार जनप्रतिनिधिले कुनै किसिमको भत्ता नलिएको उनको भनाई छ ।
उनले आफूहरु आएदेखि जनप्रतिनिधि र कर्मचारीले २१÷२२ लाख भत्ता खाएको जिकिर गरे । ‘फाँटवालासँग मिलेर कर्मचारीले एक दिनको ठाउँमा दुई दिनको र रात नबसे पनि बसेको भत्ता खाएको भए म जान्दिन, तर मैले जानेसम्म कर्मचारीले पनि नियमसँगत भत्ता खाएका छन् । आव ०७६–०७७ मा स्वास्थ्य शाखामा कार्यरत कर्मचारी बाहेक अरुले भत्ता लिएका छैनन्,’ उनले भने ।
उनले संचार माध्यममा आएको जस्तो अनियमितता नभएको दावी गरे । संचार माध्यममा आएको कुरालाई छानविन गर्न पार्टीसँग माग गरिएको बताउँदै आफू पनि छानविनको पक्षमा भएको उनले स्पष्ट पारे ।

Previous articleसखिया नाँच सुरु नहुँदा थारु गाउँ सुनसान, सखिया नाँचको के छ धार्मिक तथा सांस्कृतिक महत्व ?
Next articleधमाधम कानून बनाउँदै नरैनापुर गाउँपालिका, असोजमा मात्र ६ वटा कानून निर्माण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here