बाँके, २९ असोज ।
कोरोनाका कारण उत्पन्न विषम परिस्थितिका कारण उद्योग, कलकारखानामा कार्यरत मजदुर कामविहिन भएका छन् । आम्दानीको श्रोत घटेपछि बजारमा किनमेल गर्नेको संख्या पनि ह्वात्तै घटेको छ । उत्पादित बस्तु खपत हुने अवस्था नभएपछि उद्योग, कलकारखानाले मजुदुर कटौती गरेका छन् । भारतबाट दक्ष जनशक्ति नआउँदा बाँकेमा संचालनमा रहेका उद्योग, कलकारखानाले क्षमता अनुसार उत्पादन गर्न सकेका छैनन् ।
कोरोनाका कारण लामो समयसम्म लकडाउन गरेकै कारण गरिवीको संख्या बढ्दै गएको छ, तर नेपालगन्जका मुर्तीकारलाई कोरोनाको कहरले कुनै असर गर्न सकेको छैन । बरु यस बर्ष माग बढेपछि दसैँका लागि मुर्ती बनाउने मुर्तीकारलाई माग धान्न मुस्किल परेको छ ।
गतबर्षको दसैँका लागि २० वटा देवीको मुर्ती बनाएका नेपालगन्ज उपमहानगरपालिका–८, सदरलाइनका विनय मुर्तीकारले यस बर्ष २६ सेट देवीको मुर्ती बनाउने भएका छन् । उनले नियमित ग्राहक बाहेक थप पाँच जनाका लागि मात्र देवीको मुर्ती बनाउने अर्डर लिएको बताए । यस बर्ष थप सय जनाले अर्डर दिन ाइसके, तर मैले लिएको छैन । अघिल्लो बर्ष मसँग किनेनन् । यसबर्ष मैले उनीहरुको अर्डर लिएन । ‘गतबर्ष मसँग किनेको भए पो यो बर्ष बनाउन मलाई कर लाग्थ्यो,’ उनले भने, ‘एकदमै नजिकका नातेदार पर्नेहरुको बचन फाल्न नसकेर पाँच जनाको मात्र नयाँ अर्डर लिएको छु ।’
उनले नौ फुट देवीको मुर्ती सेटको २५ हजार र आठ फुटको सेटलाई २१ हजार रुपैँया लिने गरेका छन् । दसैँका बेलामात्र देवीको मुर्ती बनाउने भएकोले समय अपुग हुने गरेको उनले बताए । कोरोना कहरले यो बर्ष अर्डर कम आउने हो की भन्ने चिन्ता थियो, तर गत बर्षको भन्दा यस बर्ष तीन गुणा बढि अर्डर आयो,’ विनयले भने ।
नेपालगन्जमा मुर्ती पाउन मुस्किल
हरेक बर्ष नेपाल–भारत सीमाबर्ती बजार रुपईडिहा, बहराइच, नानपारा, बाबागन्ज लगायत बजारमा निर्माण भएका देवीका मुर्ती बाँकेका विभिन्न बजार र गाउँमा पुग्ने गरेको छ । हरेक बर्ष झण्डै दुई सय मुर्ती बाँकेका विभिन्न शहर र गाउँमा आउने गरेको इलाका प्रहरी कार्यालय जमुनहाले जनाएको छ । तर, यो बर्ष नेपाल–भारत सीमानाकाबन्द छ । सीमानाका बन्द भएकोले भारतबाट देवीका मुर्ती ल्याउन नपाइने भएपछि भारतबाट ल्याउनेहरु अहिले नेपालगन्जका मुर्तीकारहरुलाई गुहार्न थालेका छन् । ‘भारतबाट ल्याउन नपाइने भएपछि पहिलेदेखि ल्याउनेहरु अहिले अप्ठ्यारोमा परेका छन्,’ उनले भने ।
देवीको मुर्ती नपाउँदा समस्यामा परेको नेपालगन्ज उपमहानगरपालिका–११, भट्टीटोलका विजय सोनीले बताए । उनी विगत चार बर्षदेखि भारतको रुपइडिहाबाट देवीको मुर्ती ल्याउने गरेका थिए । नेपालगन्ज भन्दा अलि सस्तोमा पाइने भएकोले रुपइडिहाबाट ल्याउने गरेको उनले सुनाए । नेपालगन्जको सवै ठाउँमा पुगिसके, तर कहिँपनि अर्डर लिननमानेको उनले बताए । मुर्तीकारहरुले विगत बर्षका नियमित ग्राहक बाहेक अन्यको अर्डर लिन मानेका छैनन् । ‘अरुभन्दा धेरै मूल्य दिन्छु भन्दा पनि बनाउन मान्दैनन् । मुर्तीका लागि धाएर हैरान भइसकेँ,’ उनले भने, ‘गतबर्ष जहाँबाट ल्याउनु भयो त्यहिँ जानुस् भन्ने जबाफ दिएर फकाई दिन्छन् ।’