चार महिनामा ३६१ जना फरार प्रतिवादी पक्राउ, अझैँ १९९७ फरार

बाँके, २८ असोज ।
फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय, बाँकेले चार महिनामा तीन सय ६१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट कैद र जरिवाना सजायको फैसला भए पनि कैद तथा जरिवाना भुक्तानका लागि अदालतमा हाजिर नभई फरार भएकालाई पक्राउ गर्ने अभियान अन्तरगत बाँके जिल्लामा फरार रहेका तीन सय ६१ जनालाई पक्राउ गरि अदालतमा बुझाएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले जानकारी दिए ।
उनले अदालतबाट सजायको फैसला भई फरार रहेका तीन सय १५, मुलतवीमा रहेका २३ र चालू मुद्धामा फरार रहेका २३ जना गरि तीन सय ६१ जनालाई पक्राउ गरिएको बताए । उनका अनुसार सवैभन्दा धेरै भदौँ महिनामा दुई सय ४१ जना फरार प्रतिवादी पक्राउ परेका छन् । त्यसैगरि, असार र असोजमा ५६–५६ जना र साउनमा आठ जनालाई पक्राउ गरिएको छ ।
बाँके प्रहरीले फरार कसुरदारबाट ११ लाख ६८ हजार ५८६ रुपैँया जरिवाना असुल गरेको एसपी रानाले बताए । यस अवधिमा बाँके प्रहरीले ९८ बर्ष २ महिना २० दिन कैद सजाय असुल गरेको छ । ‘पक्राउ पर्नेमा कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, लागूऔषध दुब्र्यसन र जवरजस्ती करणी मुद्धामा अदालतबाट सजायको फैसला भएका प्रतिवादी छन्,’ उनले भने ।
बाँकेमा अदालतबाट फैसला भएपछि दुई हजार दुई सय १० जना र प्रहरीमा मुद्धा दर्ता भई फरार रहेको संख्या एक सय ४८ भएको एसपी रानाले जानकारी दिए । उनले अझैँ एक हजार नौँ सय ९७ जना फरार रहेको स्पष्ट पारे ।
बाँके प्रहरी फैसला कार्यान्वयनमा अगाडी
तर, बाँके प्रहरी फैसला कार्यान्वयनमा लुम्बिनी प्रदेशमा सवैभन्दा अगाडी भएको छ । लुम्बिनी प्रदेशका सवै जिल्लामा पाँचसय २० जना फरार कसुरदार पक्राउ परेका छन् । ति मध्ये तीन सय १५ जना बाँके प्रहरीले पक्राउ गरेका रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार बैदवारले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले चालू आर्थिक बर्षको चार महिनामा तीन सय १५ जना फरार कसुरदार पक्राउ गरि अदालतको आदेशमा कारागार पठाएको उनले बताए । कोरोना कहरमा फरार कसुरदारहरु यताउता जान नपाए पछि प्रहरीलाई पक्राउ गर्न सजिलो भएको उनले बताए ।
उनका अनुसार, फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय बर्दिया दोस्रो भएको छ । बर्दिया प्रहरीले ३९ जना फरार कसुरदारलाई पक्राउ गरि कारागार पठाएको छ । भने, कपिलबस्तु प्रहरीले ३२, नवलपरासी प्रहरीले २७ र दाङ प्रहरीले २४ जना फरार कसुरदारलाई पक्राउ गरि कैद भुक्तानका लागि कारागार पठाएको छ ।
उनले पाल्पा प्रहरीले २२, रुकुम पूर्वले १८, अर्घाखाँचीले १३, गुल्मी र रोल्पा प्रहरीले १०–१०, प्यूठानले ७ र रुपन्देहीले ३ जना फरार कसुरदारलाई पक्राउ गरि अदालतमा बुझाएको बताए ।

Previous articleफैसला कार्यान्वयनमा बाँके प्रहरी सबैभन्दा अगाडी, ५२० मध्ये ३१५ बाँकेमा पक्राउ
Next articleकोरोना कहरमा बेफुर्सदिला मुर्तीकार, देवीको मुर्ती नपाएर भौतारिदै सर्वसाधारण (फोटो फिचर)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here