बाँके, २३ असोज ।
नेपालगन्जस्थित भेरी अस्पतालमा माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु भएको छ । अस्पतालमा अपरेटिङ माइक्रोस्कोप जडान सँगै उक्त सेवा सुरु भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।
दिमाग र मेरुदण्ड अत्यन्त संवेदनशील अंगमा हुने स–साना नशा तथा तन्तुहरुलाई हेरेर अपरेसन गर्न उक्त उपकरण प्रयोग गरिएको छ । स–साना नशा तथा तन्तुलाई अत्यन्त जतनका साथ चलाउनु पर्ने हुन्छ । नाङ्गो आँखाले सहजै देख्न नसकिने यस्ता नशाहरुलाई अपरेटिङ माइक्रोस्कोपको सहायताले म्याग्नीफाई गरेर हेरिन्छ र सर्जनले आफुले चाहेको अनुसार सुरक्षित तरिकाले अपरेसन गर्न सक्छन्,’ उनले भने ।
अस्पतालमा न्यूरो सर्जन डा. हरि पौडेल आएपछि न्यूरोसर्जरी जस्तो जटिल प्रकृतिको उपचार सहज भएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताए ।
अस्पतालले अघिल्लो आर्थिक बर्षमा एक करोड ४१ लख एक हजार ७६९.९१ (मूल्य अभिबृद्धि कर बाहेक) मा खरिद गरेको बताउँदै उनले अपरेटिङ माइक्रोस्कोप जडान भएपछि हालसम्म दुई जना बिरामीको शल्यक्रिया भएको बताए । उनले ६० बर्षिया महिलाको मेनिङ्गीओमा र ९ वर्षिया बालिकाको स्पाइनल इन्ट्रड्यूरल इपिडर्मोइड ट्यूमरको अपरेसन भएको जानकारी दिए ।
दिमागका नशा फुलेर फुटेकोमा बाँध्ने, रगतका नशाहरुको गुच्छाको गडबडी र दिमागको क्यान्सरको शल्यक्रिया जस्ता उपचारमा यस प्रविधिको प्रयोग हुने मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले बताए । अत्यन्त संवेदनशील मानिने दिमाग र मेरुदण्डको अपरेसन गर्नुपर्ने विरामी बाहिर जानुपर्ने बाध्यता उपकरण जडान भएपछि हटेको छ,’ डा. थापाले भने ।