स्थगित भएका सबै तहका परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्को स्वीकृति

File Photo

काठमाडौँ, २१ असोज ।
कोरोना संक्रमणको सुरुवात भएसँगै गत चैतयता स्थगित भएका सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । गत चैतयता स्थगित भएका सवै तह र प्रकृतिका परीक्षा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरेर सञ्चालन गर्न स्वीकृति दिइएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।
मन्त्रिपरिषद्को १९ असोजमा बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सबै परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको उनले बताए । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ्य एवं सुरक्षासम्बन्धि मापदण्डहरू पूर्णरूपमा पालना गर्ने गरि सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरू सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको उनको भनाई छ । ‘कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न भनिएको छ,’ मन्त्री ज्ञवालीले भने ।
त्यस्तै, व्यावसायिक तालिम प्रदायक संस्थाहरूलाई पनि स्वास्थ्य मापदण्ड पालना गरेर विभिन्न व्यवसायका लागि तालिम प्रदान गर्न स्वीकृति दिइएको छ । त्यस्ता तालिममा २५ जनाभन्दा बढीलाई सहभागी नगराउन निर्देशन दिइएको छ । त्यस्ता तालिम छोटो अवधिका लागि हुनुपर्ने पनि सरकारले नीति ल्याएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै लकडाउन जारी गरिएपछि एसईई, कक्षा ११ र १२ का परीक्षा रोकिएका थिए । एसईईको परीक्षा आन्तरिक मूल्यांकनमार्फत नतिजा प्रकाशन भए पनि अन्य परीक्षा भने हुन सकेका थिएनन् । कर्मचारी भर्ना र विभिन्न विश्वविद्यालयका परीक्षा पनि स्थगित गरिएका थिए ।

Previous articleदंगीशरणका सवै विद्यालयमा बैकल्पिक सिकाई मार्फत पठनपाठन सुरु
Next articleनरैनापुरको बृहत्तर विकासका लागि योजना आयोगसँग योजना माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here