दंगीशरणका सवै विद्यालयमा बैकल्पिक सिकाई मार्फत पठनपाठन सुरु

श्री मावि, मधपुरको कक्षा ९ मा अध्ययनरत विद्यार्थी ।

दाङ, २० असोज ।
सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरि दंगीशरण गाउँपालिका भित्र रहेका सामुदायिक र निजी विद्यालयमा बैकल्पिक विधिबाट पठन पाठन सुरु गरिएको छ । गाउँपालिकामा सामुदायिक तर्फ चार मावि, पाँच निमावि र ६ वटा विद्यालय संचालनमा छन् । निजी तर्फ दुई मावि, दुई निमावि र पाँच प्रावि तहका विद्यालय संचालनमा रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोदकुमार अधिकारीले बताए ।
उनले गाउँपालिकामा कोरोना संक्रमण शुन्यमा झरेपछि १ असोजदेखि पठनपाठन गर्ने गरि सामुदायिक र निजी विद्यालयलाई सिकाई तोकिएको बताए । विद्यार्थीलाई आलोपालो बोलाएर सिकाई सहजीकरण गरेको उनको भनाई छ ।
शिक्षा निर्देशिकाले विद्यालय र समुदायमा सिकाई केन्द्र स्थापना गरि सिकाई सहजीकरण गर्ने निशानिर्देश गरेको बताउँदै उनले सोही बमोजिम विद्यालयमा सिकाई केन्द्र स्थापना गरि सिकाई सहजीकरण गर्न विद्यालयलाई निर्देशन दिएको उनले बताए । ‘समुदायमा सिकाई केन्द्र संचालन गर्दा कोरोनाको जोखिम बढ्ने र सिकाई सामग्री नहुने भएकोले विद्यालयलाई सिकाई केन्द्रको रुपमा तोक्ने निर्णय ग¥यौँ,’ उनले भने ।
एक पटकमा ५० जना विद्यार्थी मात्र विद्यालयमा ल्याउन पाइने नीति बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले बताए । उनले सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्र सिकाई केन्द्र संचालन गर्न विद्यालयलाई निर्देशन दिएको बताए । विद्यार्थी संख्याको आधारमा विद्यालयले तीन सिफ्टसम्म कक्षा संचालन गरेको उनको भनाई छ । ‘स्वास्थ्य सुरक्षा र सामाजिक दूरी कायम हुने गरि सिकाई सहजीकरण गर्न मातहतका विद्यालयलाई निर्देशन दिइएको छ,’ पौडेलले भने ।
असोज महिनाभित्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन बमोजिम भर्ना अभियान संचालन गरेको वीरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमराज खनालले बताए । उनले विद्यार्थी भर्नासँगै बैकल्पिक विधि मार्फत शिक्षा प्रदान गर्न शिक्षण सिकाई संचालनमा ल्याएको बताए ।
पढन आउने विद्यार्थीलाई मास्क अनिवार्य गरिएको बताउँदै उनले एउटा बेन्चमा दुई जना विद्यार्थी मात्र राख्ने गरेको जिकिर गरे । ‘कोरोना संक्रमण हुन नदिन सरकारले अघि सारेको सामाजिक दूरी र स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार विद्यार्थीलाई कक्षा कोठामा राखेर पढाउने गरिएको छ,’ उनले भने, ‘मास्क नलगाउने विद्यार्थीलाई विद्यालय परिसर प्रवेश निषेध गरिएको छ ।’
वीरेन्द्र माविले दुई सिफ्ट संचालन गरेको छ । पहिलो सिफ्टमा एक–पाँच र ६–८ कक्षाका विद्यार्थीलाई पढाउने ब्यवस्था गरिएको छ । प्रावि र निमाविका विद्यार्थीलाई आलोपालो गरि बोलाइन्छ । ‘कक्षा ९ र १० का विद्यार्थीलाई दोस्रो सिफ्टमा पढाउने ब्यवस्था मिलाइएको छ,’ खनालले भने ।
घरबाट आउने विद्यार्थीका लागि विद्यालय परिसरमा सेनिटाइजर र सावुन, पानी राखिएको उनले स्पष्ट पारे । सरकारले ब्यवस्था गरेको सामाजिक दूरी र स्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ लागू गरिएको उनले दावी गरे । ‘हाम्रो कारणले समाजमा कोरोना संक्रमण नफैलिवस भन्नेमा हामी सजग छौँ,’ उनले भने ।
लामो समयपछि विद्यालय संचालनमा आएपछि विद्यार्थी पनि खुसी भएका छन् । विद्यालय खुलेपछि खुसी लागेको दंगीशरण गाउँपालिका–२ स्थित श्री मावि मधपुरमा कक्षा ५ मा अध्ययनरत अन्जना चौधरीले बताइन् । उनी हतारिएर एक घण्टा अघि विद्यालय पुगेको बताइन् । ‘पढन नपाइने हो की भन्ने लागेको थियो । विद्यालय खुलेपछि पढ्न पाइने आशा पलाएको छ,’ उनले भनिन् ।
साना बालबालिकालाई सम्हाल्न गाह्रो
सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका उपाय अपनाउने गरि विद्यालयमा सिकाई केन्द्र संचालनमा आए पनि विद्यार्थीलाई सम्हाल्न गाह्रो भएको श्री मावि मधपुरका प्रधानाध्यापक खेमराज बुढाथोकीले बताए । उनले शिक्षकको संख्या थोरै भएकोले दुई सिफ्ट संचालन गर्न नसकेको बताए ।
उनले विद्यार्थीलाई मास्क वितरण गरेको बताउँदै साना बालबालिकाले लामो समयसम्म मास्क प्रयोग गर्न नमान्ने गरेको बताए । ‘सम्झाई बुझाई गरेपछि एकछिन मान्छन् । एकैछिन पछि विर्सेर सँगै बस्न थालिहाल्छन् । तै पनि कोरोनाको संक्रमण फैलिन नदिन हामी सजग छौँ,’ उनले भने ।
श्री मावि मधपुरकी विद्यार्थी नविना चौधरीले पनि मास्क लगाएर मात्र विद्यालय आउने गरेको बताउँदै एउटा बेन्चमा दुई जना भन्दा धेरैलाई बस्न नदिएको बताइन् । ‘पहिलेको जस्तो एउटै बेन्चमा धेरै जना बस्न पाइदैन । भीडभाड गरेको देख्ने वित्तिकै सरहरु रिसाउनु हुन्छ,’ उनले भनिन् ।
दाङका ४२३ विद्यालयमा सिकाई केन्द्र संचालन
जिल्ला शिक्षा समन्वय अधिकारी देवमणी चौधरीले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७ बमोजिम दाङका चार सय २३ विद्यालयले सिकाई केन्द्र संचालनमा ल्याएको बताए । उनले विद्यार्थीको सिकाईलाई शिक्षासँग जोड्न विद्यालयले सिकाई केन्द्र मार्फत पठनपाठन अघि बढाएको बताए ।
शिकाई केन्द्र संचालनका लागि निर्देशिकाले स्थानीय तहलाई जिम्मेवारी दिएको बताउँदै उनले दाङका सवै विद्यालयले सिकाई केन्द्र मार्फत सिकाई सहजीकरण गरिरहेको बताए । ‘एउटा कक्षामा १५–२० जना विद्यार्थी राखेर विद्यालयले शिक्षण सिकाईलाई अगाडी बढाएका छन्,’ चौधरीले भने ।

Previous articleप्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी बहुमतले पारित
Next articleस्थगित भएका सबै तहका परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्को स्वीकृति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here