प्रदेश नं. ५ को राजधानी दाङ र नाम लुम्बिनी हुने पक्का

बाँके, १७ असोज ।
प्रदेश नं. ५ को राजधानी दाङ र नाम लुम्बिनी हुने पक्का भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको शनिबार बिहान संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलको निवास डिभिजन सडक कार्यालय परिसरमा बसेको बैठकले शुक्रबार प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेपछि स्थायी राजधानी दाङ र नाम लुम्बिनी हुने पक्का भएको हो ।
सत्तारुढ दल नेकपाले आफ्ना प्रदेश सभा सदस्यहरुलाई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने भएपछि नाम र स्थायी राजधानीको प्रस्ताव स्वीकृत हुने पक्का भएको एक प्रदेश सभा सदस्यले बताए । प्रदेश सरकारले प्रदेश राजधानी दाडको देउखुरीमा बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा लगेको थियो ।
शनिवार बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बताए । उनले सबै जिल्लाका सांसदहरुले आफ्नो धारण राखेको र लामो समयको छलफलपछि सरकारले ल्याएको निर्णयलाई समर्थन गर्ने निष्कर्षमा पुगिएको बताए । बैठकमा मुख्यमन्त्री पोखरेलले प्रस्तावका पक्षमा एकमत हुन र मतदान गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । प्रदेश ५ मा प्रदेश राजधानी रुपन्देही बनाउने कि दाङ भन्ने विषयमा पहिलेदेखि नै विवाद हुँदै आएको थियो । प्रदेश सभाको आगामी बैठक असोज १९ गते सोमबार मध्याह्न १२ बजे बोलाइएको छ ।
प्रदेशसभामा पेस भएको प्रस्ताव पास गर्न दुई तिहाइ बहुुमत आवश्यक हुन्छ । प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६१, विपक्षी नेपाली कांग्रेसका १९, मधेस केन्द्रित दलका ६, राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सांसद रहेका छन् ।

Previous articleसाढे चार ग्राम ब्राउन सुगरसहित दुई पक्राउ
Next articleनेपालगन्जका ६० बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here