सुरक्षाको अग्रपंतिमा खटिने नेपालगन्जका कोरोना संक्रमित प्रहरीले कोरोनालाई कसरी जिते ? उनको भनुभव कस्तो छ ?

बाँके, ९ असाज ।
अपराध नियन्त्रण होवस वा शान्ति सुरक्षा कायम गराउन होवस अग्रपंतिमा खटिने भएकोले नेपाल प्रहरी कोरोना संक्रमणको उच्च जोखिममा छन् । जुनसुकै बेला अपराधीलाई समातेर जनतालाई न्याय दिलाउने हेतुले फिल्डमा खटिने नेपाल प्रहरीका जवानका लागि अपराधीको अगाडी कोरोना गौण भइदिन्छ । चेन अफ कमाण्डमा चल्ने भएकोले प्रहरी जवानलाई माथिल्लो पोष्टको आदेश पालना गर्नै पर्ने हुन्छ । अदालतले सजाय र जरिवाना तोकेर फरार भएका अभियुक्तलाई जसरी पनि पक्राउ गरेर बुझाउनु भन्ने जिल्ला प्रहरी कार्यालयको आदेश थियो । सोही अनुसार म र मेरो टोलीका सदस्य फिल्डमा खटिएका थियौँ । आदेशको पालना गर्ने क्रममा वडा प्रहरी कार्यालय, नेपालगन्जका ३६ जना प्रहरीमा कोरोना संक्रमण भएको छ । ति मध्ये मणिराम महरा पनि एक हुन् । महरा वडा प्रहरी कार्यालयको क्विक सेस्पोन्स टिम (क्यूआरटी) मा छन् । उनको चार जनाको टोली फरार अभियुक्त पक्राउ गर्ने मात्र नभई चोरी, डकैती, बादविवाद, झैझगडा भएको ठाउँमा पनि सवैभन्दा पहिले पुग्छ । उनको टोलीले चैत ११ पछि १६ जना फरार अभियुक्त पक्राउ गर्न सफल भएको छ । फरार अभियुक्त समात्ने क्रममा उनमा पनि कोरोना संक्रमण भयो । उनी १४ दिन आइसोलेसनमा बसेर काममा फर्किएका छन् । आइसोलेसनमा बस्दा महराले कस्तो अनुभव संगाले ? सुनौ प्रहरीको कोरोना अनुभवः

नेपालगन्जमा कोरोना संक्रमण चरम उत्कर्षमा पुगेको थियो । जताततै कोरोनाको चर्चामात्र सुनिन्थ्यो । यसले मेरो मनमा पनि कोरोनाको एकखालको डर, त्रास पैदा भएको थियो । तै पनि आफ्नो ड्यूटी पुरा गर्नुपर्ने भएकोले रातदिन नभनि अहोरात्र फिल्डमै खटिएको थिए ।
फरार अभियुक्तलाई सजिलै समात्न सकिदैन । जवरजस्ती समात्नुपर्ने, जोरजुलुम गर्नुपर्ने, ढकेलेर गाडीमा बसाल्नुपर्छ । घटना भएको वा फरार अभियुक्त फेला परेको सुचना पाउनासाथ कुद्नुपर्ने हुन्छ । मास्क र ग्लोब्स लगाउन भ्याए पनि पिपिई लगाउन समय हुँदैन । हामीलाई कोरोना भन्दा फरार अभियुक्तलाई कसरी समात्ने भन्ने चिन्ता हुन्छ । त्यतिबेला कोरोना गौण भइदिन्छ । राज्यले प्रहरी संगठनले दिएको जिम्मेवारी ठूलो मानेर काम गर्नुपर्ने हुन्छ ।
कोरोना संक्रमणबाट म कार्यरत वडा प्रहरी कार्यालय पनि अछुतो रहन सकेन । २१ साउन अघि वडा प्रहरी कार्यालयका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भयो । त्यसले मनमा थप डर उत्पन्न भयो । एउटै कार्यालयमा काम गर्ने साथीहरुमा कोरोना देखिएपछि २२ साउनमा म सहितको स्वाब संकलन भयो । हाम्रो रिपोर्ट २५ साउनमा आयो । मसँगै स्वाब दिएका मध्ये ३० जनामा कोरोना पुष्टि भयो । त्यसमा प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक, हवल्दार समेत थिए ।
कोरोना रिपोर्ट पोजेटिभ आएपछि डर लाग्यो । छोरा र पत्नीलाई सम्झिए । उनीहरुलाई पनि कोरोना संक्रमण भयो की भन्ने आशंका भयो । शरिर थर थर काप्यो । ज्वरो आए जस्तो भयो । शरिर दुखे जस्तो अनुभव भयो । मसँगैका साथी र प्रहरी अधिकृतलाई समेत कोरोना संक्रमण भएकोले विस्तारै डर हराउँदै गयो ।
वडा प्रहरी कार्यालयका ३६ जनामा कोरोना संक्रमण भएपछि हाम्रो इन्चार्ज प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले कार्यालयलाई नै आइसोलेसन सेन्टर बनाउने निर्णय गर्नुभयो । उहाँ सुविधा सम्पन्न होटलको आइसोलेसनमा बस्न सक्नु हुन्थ्यो, तर उहाँले कार्यालयलाई आइसोलेसन बनाउने र आफू पनि त्यहि बस्ने निधो गर्नुभयो । सवै कर्मचारीको भावना बुझ्नु भयो । यसले हामीलाई थप हौसला बढ्यो । आत्मबल थपियो । कोरोनालाई परास्त गर्न सहज बनायो ।
मलाई कोरोना संक्रमण भए पनि आइसोलेसनमा बस्दा मैले कुनै औषधी सेवन गरेन । कुनै लक्षण नदेखिएकोले कोरोना संक्रमण भएको हो भन्ने फिल नै भएन । कोरोनाको बारेमा धेरै हल्ला गरिन्छ । यसले हरेक ब्यक्तिमा मानसिक असर परेको छ । डर, त्रासका कारण कोरोना संक्रमितहरु होपलेस हुने गरेका छन् । मलाई त कोरोना सामान्य जस्तो लागेको छ । शरिरमा दीर्घरोग नभएको ब्यक्तिले यसलाई सजिलै जित्न सकिन्छ भन्ने मलाई लागेको छ ।
रुघाखोकी, ज्वरो नआए पनि खानाको स्वाद र गन्ध थाहा नपाउने समस्या भएको थियो । कोरोना पुष्टि भएको पाँच दिनसम्म स्वाद र गन्ध थाहा नपाए पनि ७ दिनपछि विस्तारै स्वाद र गन्ध थाहा पाउन थाले । १० दिनपछि पहिलेकै अवस्थामा फर्किए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here