बाँके, ९ असोज ।
नेपालगन्ज नाका भएर भारतबाट ७६ हजार ४८ नेपाली भित्रिएका छन् । कोरोनाका कारण राज्यले लकडाउन गरेदेखि भाद्र मसान्तसम्म नेपालगन्ज नाका भएर ७६ हजार ४८ जना नेपाली स्वदेश फर्किएको इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु गिरीले बताए ।
उनले लकडाउन भएदेखि भाद्र मसान्तसम्म झण्डै ४० हजार भारतीय स्वदेश फर्किएको बताए । भारतीय आधार कार्ड भएकालाई स्वदेश फर्किन दिएको बताउँदै उनले नेपाली नागरिकता भएकालाई नेपाल प्रवेश गर्न दिइएको जानकारी दिए ।
भाद्र १५ गतेदेखि कामका लागि भारत जाने नेपालीको लर्को लागेको उनको भनाई छ । उनले १५ भाद्रदेखि झण्डै २२ हजार नेपाली कामका लागि भारत प्रवेश गरेको बताए । उनले भारतीय आधार कार्ड भएकालाई मात्र भारत जान दिएको बताए । दैनिक सरदर दुई सय ५० जना नेपाली कामका लागि भारत जाने गरेको उनको भनाई छ ।
लामो समयदेखि भारतमा बसेर आधार कार्ड बनाएकाहरु पछिल्लो समय भारत जान थालेको प्रहरी नायव निरीक्षक गिरीले बताए । कोरोनाको संक्रमण बढेपछि मरे आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरु भारत लकडाउन खुलेपछि कामका लागि भारत जान थालेको उनले स्पष्ट पारे । ‘नेपालमा काम नपाएर खान लाउन समस्या भएपछि कोरोनाको डरले फर्किएका नेपाली पुनः भारत जान थालेका छन्,’ उनले भने ।
उनले औषधि उपचार, औषधि खरिद, अन्तिम संस्कार, विरामी भेटघाट गर्न केहि छुट गरिएको बताए । ‘वडा कार्यालयको रिफारिस र परिचय पत्र राखेर केहि समयका लागि नेपाल–भारत आउजाउ गर्न दिइएको छ,’ उनले भने ।
नेपालगन्ज नाकामा कडाई गरिएपछि आधार कार्ड नभएकाहरु कैलालीको त्रिनगर (गौरीफन्टा) नाका भएर जाने गरेका छन् । उक्त नाकामा आधार कार्ड नभए पनि भारतीय सुरक्षाकर्मीले जान दिएको छ । भारत जान सहज भएपछि आधार कार्ड नभएकाहरु सोही नाकाबाट भारत प्रवेश गर्न थालेपछि भीडभाड हुने गरेको छ ।
दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, सल्यान, रुकुम लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको इलाका प्रहरी कार्यालय, जमुनहाले जनाएको छ ।