अनसनरत डा. केसी दिउँसो नेपालगन्जबाट काठ्माडौँ फर्किए

बाँके, ६ असोज ।
आफूमाथि सरकार पक्षबाट हिंसा र आक्रमण हुने आशंकामा अनसनकै क्रममा जुम्लाबाट नेपालगन्ज आएका डा. गोविन्द केसी मंगलवार दिउँसो १२ बजे काठ्माडौँ फर्किएका छन् । आठ दिन जुम्लामा अनसन बसेका डा. गोविन्द केसी नेपालगन्जस्थित भेरी अस्पतालको क्याविन नंं. ४ मा एक रात बसेर काठमाडौँ फर्किएका हुन् ।
अनसनका क्रममा स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि अनसनस्थलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएका उनी एकाएक काठ्माडौँ फर्किने योजना बनाएका थिए । गतबर्ष जस्तै यसपाली पनि सरकारी पक्षबाट हिंसा र आक्रमण हुने सम्भावना देखेपछि जुम्लाबाट सुरु भएको अनसन जारी राखेर काठ्माडौँ जान लागेको उनले बताए । डा. केसीले केपी शर्मा ओली सरकार गुण्डा, भ्रष्ट्राचारी, दलाल, नोकरशाहको संरक्षणमा लागेको बताए । ‘गत बर्ष पनि सरकारी पक्षबाट आक्रमण भएको थियो । यसपाली पनि आक्रमण नहोला भन्न सकिने अवस्था रहेन,’ उनले भने ।


साढे तीन करोड नेपाली जनताका लागि आफूले फेरि अनसन बसेको उनले दावी गरे । डा. केसीले २९ भदौंबाट जुम्लामा अनशन सुरु गरेका हुन् । स्वास्थ्यमा समस्या देखिएकोले चिकित्सकको निगरानीमा रहेका डा. केसीको अवस्था नाजुक बन्दै गएको छ । उनी लामो समयसम्म बोल्न सक्दैनन् । उनी बुद्ध एयरका दिउँसो १२ बजेको उडानमा नेपालगन्जबाट काठ्माडौँ गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
डा. केसीको रगतमा चिनीको मात्रा अति न्यून भएको छ । उनको रक्त चाप छिनछिनमा घट्ने र बढ्ने भएकोले बोल्न नसक्ने हुनु भएको छ । ‘लामो समयदेखि केहि नखाएकोले शरिरमा स्फूर्ती घट्नुका साथै शारिरीक अवस्था कमजोर भएको छ,’ भेरी अस्पतालका फिजिसियन डा. संकेत रिसालले भने ।


अनशन बसेको एक साता बित्दा पनि सरकारले माग पूरा गर्न कुनै पहल नगरेको उनको गुनासो छ । माग पूरा गर्नुको साटो बल प्रयोग गरेर जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेको भन्दै उनले आक्रोश पोखे ।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजमा पूर्वाधार र जनशक्ति राखेर पठनपाठनको ब्यवस्था गर्न माग गरेका छन् । त्यसैगरि, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडी बढाउन माग गरि अनसन सुरु गरेको बताए ।

Previous articleबाँके युनेस्को क्लवका चार जना उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित
Next articleबिकटका विरामीको सेवामा रमाउने डा.कासिमः समाज सेवा रत्नबाट विभुषित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here