बाँके, ६ असोज ।
बाँकेका अतिविपन्न परिवारलाई कुखुराको चल्ला, दाना र कुखुरा पालनमा प्रयोग हुने सामग्री प्रदान गरिएको छ । अतिविपन्न परिवारको जीवनस्तर सुधार्न सहयोग गर्ने उद्देश्यले बाँके युनेस्को क्वलले नेपालगन्ज, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका अतिविपन्न तथा पिछडिएका परिवारलाई चल्ला, दाना र अन्य सामग्री वितरण गरेको क्लवका अध्यक्ष राजेन्द्र चौधरीले बताए ।
कतार च्यारेटी नेपालको सहयोगमा बाँके युनेस्को क्लबले जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरा पालनका लागि सहयोग गरेको छ । नेपालगन्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको कालाफाँटाका अतिविपन्न २८ परिवारलाई कुखुरा पालनका लागि प्रति परिवार एक सय ४० वटा कुखुराका चल्ला, चार बोरा दाना, पानी खुवाउने ड्रम तीन थान लगायतका सामग्री प्रदान गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताए ।
उनले विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याई उनीहरुलाई सक्षम बनाउनका लागि सो सहयोग गरिएको बताए । सो अवसरमा बोल्दै अध्यक्ष चौधरीले कुखुरापालनका लागि प्रदान गरिएको उक्त सहयोगको सहि सदुपयोग गरि आफ्नो आर्थिक अवस्था सुधार गर्न आग्रह गरे ।
जिल्लाका २८ अति विपन्न परिवारलाई वितरण गरिएको सो सहयोग १६ लाख रुपैँयाभन्दा बढीको भएको क्लबका वित्त प्रमुख बेद पंगालीले बताए ।
कतार च्यारेटी नेपालले बाँकेमा क्लब मार्फत यसअघि पनि आर्थिक रुपमा कमजोर रहेका अति विपन्न परिवारलाई बाख्रापालन, कुखुरापालन, पसल सञ्चालनका लागि सहयोग प्रदान गरिसकेको छ ।

