बाँके, ३ असोज ।
कोरोना नियन्त्रण तथा उपचारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत बाँकेका दुई जनालाई प्रवल जनसेवा श्री पदकबाट सम्मान गर्ने भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापा र जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत समेत रहेका जिल्ला कोरोना संकट ब्यवस्थापन समितिका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठलाई सरकारले उक्त पदकबाट सम्मान गर्ने भएको हो ।
केपी ओली नेतृत्वको सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. थापा र स्वास्थ्यका श्रेष्ठलाई विभुषण प्रदान गर्ने सार्वजनिक गरेकी छन् । कोरोना महामारी रोकथाम, नियन्त्रण र निदानमा डा. थापा र जनस्वास्थ्य अधिकृत श्रेष्ठले प्रभावकारी भूमिका निर्वाह गर्दै आभएका छन् । उनीहरु दुवै जनाको कमाण्डमा अहिले जिल्लामा भाइरस नियन्त्रणका लागि कामहरु भइरहेका छन् ।
त्यस्तै, सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्मा, प्रतिष्ठानका प्राध्यापक (प्याथोलोजिष्ट) डा. गोपाल लामा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपप्राध्यापक डा. मंगल रावल र धिरज गुरुङ, सेती प्रादेशीक अस्पताल धनगढीका कन्सल्टेन्ट मेडिकल जनरलिष्ट डा. जगदीश जोशी, कर्णाली प्रदेशका बरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्ले, जिल्ला अस्पताल बाजुराका मेडिकल अधिकृत डा. रुपचन्द्र विश्वकर्मा, स्वास्थ्य कार्यालय धनगढीका जनस्वास्थ्य अधिकृत लालबहादुर धामी र स्वास्थ्य कार्यालय दैलेखका खोप सुपरभाइजर खिलप्रसाद रेग्मी पनि उक्त पदकबाट विभूषित हुने भएका छन् ।
प्रदेश ५ बाट को–को विभुषित हुँदैछन् ?
सरकारले संविधान दिवसको अवसरमा प्रदेश ५ ले १५ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार प्रदेशका विभिन्न सरकारी कार्यालयका कार्यालय सहयोगीदेखि कार्यालय प्रमुख, समाजसेवी, पत्रकार र प्रहरी समेत परेका छन् ।
सरकारले सार्वजनिक गरेको सूचीअनुसार लुम्विनी अस्पतालका नर्सिङ अधिकृत ज्योति पौडेल, समाजसेवी ललितबहादुर ओली, दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, डिएसपी गणेश चन्द, समाजसेवी जयकेश सिंह (बाँके), शेरबहादुर गुरूङ (वुटवल) सुरेश पन्थ बर्दिया रहेका छन् ।
यसैगरी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, सुमन सापकोटा राप्ती स्वास्थ्य प्रतिष्ठान दाङ, राधेराम थारू कोष तथा लेखा नियन्त्रण कार्यालय बाँके, विष्णु अधिकारी प्युठान, प्रतितसिंह राठौर (डिएसपी) वुटवल, गजुसिद्धि बज्राचार्य रूकुम पूर्व रहेका छन् ।