नेपाल–भारत सीमानाका चाँडो खोल्न जसपाको माग

बाँके, २ असोज ।
भारतमा कोरोना संक्रमण दर बढ्दै गएको छ । भारतबाट नेपालमा कोरोना नभित्रियोस भन्ने उद्देश्यले सरकारले ११ चैत,२०७६ देखि नेपाल–भारत नाका सील गरि आवतजावतमा रोक लगाएको छ । अतिआवश्यक काम बाहेक भारतबाट नेपाल आउन प्रतिवन्ध छ । सरकारले नेपाल–भारत आउजाउ गर्न प्रतिवन्ध लगाएपछि कोरोना नियन्त्रणमा केहि सहज भएको छ । तर, सरकारले चालेको कदम प्रति जनता समाजबादी पार्टी (जसपा) बाँकेले असहमति जनाउँदै झण्डै ६ महिनादेखि बन्द सीमानाका खोल्न सरकारसँग माग गरेको छ । जिल्ला प्रशासन कार्यालय, बाँके मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै जसपा, बाँकेले लकडाउन र सीमानाका बन्द गर्दासमेत कोरोनाको संक्रमण रोक्न नसकिएकोले नेपाल–भारत सीमानाका तत्काल खोल्न माग गरेको छ ।
नेपाली नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले ११ चैत, २०७६ देखि लकडाउनका साथै नेपाल भारत अन्तर्राष्ट्रिय सीमा बन्द गरिए पनि कोरोनाको संक्रमण समुदाय स्तरसम्म पुगी सकेकोले सीमानाका बन्द गर्नुको औचित्य सकिएको जसपाले जिकिर गरेको छ । ‘कोरोना हाम्रो जीवनको अभिन्न अंग बनी सकेको छ । कोरोना भाईरसबाट सुरक्षा सतर्कता बाहेक बच्ने अर्को बिकल्प छैन,’ जसपा, बाँकेका अध्यक्ष गिरिजाप्रसाद पाठकले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ, ‘लकडाउन अन्त्य भई बजार, होटल, सार्वजनिक यातायात समेत सुरक्षा सतर्कता अपनाएर सञ्चालनमा आइसकेको अवस्थामा नेपाल–भारत सीमानाका खुल्ला नहुनु दुर्भाग्य मान्नु पर्दछ ।’
सीमानाका बन्द भएपछि नेपाल–भारत बीच रहेको आर्थिक, सामाजिक, साँस्कृतिक सम्बन्ध धरापमा परेको जिकिर जसपाले गरेको छ । ‘कोरोना भाइरसको संक्रमण रोक्नको लागि सीमा सिल गरिएको भनिए पनि हाल त्यसको औचित्य सकिसकेको छ,’ प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा उल्लेख छ ।
नेपाली जनताको जीवन रक्षाका लागि समेत नेपाल–भारत सीमानाका सुचारु गर्न आवश्यक भएको धारणा जसपाले अघि सारेको छ । जीवन रक्षाको लागि स्वदेश भित्रिएका नेपाली नागरिकहरु खान नपाएर भोकभोकै मर्न लागेको औँल्याइएको छ । कामका लागि भारत जानसमेत नपाउँदा नेपाली नागरिक एक छाकका लागि तडपिनु पर्ने अवस्था सिर्जना भएको दावी पनि गरिएको छ ।
नेपाल–भारत सीमासँग जोडिएका नेपाली र भारतीय नागरिकहरु (नातेदार) मर्दा पर्दा समेत पुग्न नसकेको, एकापसमा सहयोग आदान प्रदान गर्न नसकेको, एकापसमा बिहावारी लगायत सामाजिक साँस्कृतिक रीति रिवाज, चाडपर्वमा समेत आवत जावत ठप्प रहेको, बिरामीहरुले उपचारको लागि समय मै जान आउन नपाएको कारणले अकालमै ज्यान गुमाउनु परेको कारणले झन संकट थपिएको पाठकद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ । ‘सीमा बन्द भएका कारण स्थानीय स्तरमा हुने ब्यापार ब्यवसाय समेत ठप्प भएका छन् । होटल खुले पनि भारतीय पर्यटक र उपभोक्ताहरु नेपाल भित्र प्रवेश गर्न नपाउँदा होटल ब्यवसाय समेत धरापमा पर्ने प्रष्ट छ,’ ज्ञापन पत्रमा भनिएको छ ।
आम नेपाली नागरिकलाई सम्मान पूर्वक बाँच्न पाउने, अधिकार नेपालको संबिधानले प्रदान गरेता पनि सीमा सील गरिएको कारणले स्वतंत्र रुपले आवत जावत गर्न नपाई बाँच्न पाउने अधिकारमा समेत कुठाराघात भएको दावी गरिएको छ । कोभिड–१९ नियन्त्रण हुन नसक्दा मध्यम र निम्न वर्गका जनता सबैभन्दा बढी मर्कामा परेको हुनाले तत्काल सीमा नाका खोली सर्वसाधारणको आवत जावत सुचारु गरि जीवनस्तरमा सुधार ल्याउन जसपाले अनुरोध गरेको छ ।

Previous articleनेशनल लाइफ इन्स्योरेन्सको एजेन्सी कार्यालय नेपालगन्जमा स्थापना
Next articleभेरी अस्पतालका प्रमुख डा. थापा र स्वास्थ्यका अधिकृत श्रेष्ठलाई प्रवल जनसेवा श्रीपदक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here