बाँके, ३० भाद्र
नेपालगन्ज उद्योग वाणिज्य संघले ब्यवसायिक कर सेवा तथा परामर्श केन्द्र संचालनमा ल्याएको छ । आन्तरिक राजस्व कार्यालय, नेपालगन्जसँगको समन्वयमा संचालनमा ल्याइएको परामर्श केन्द्रको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले मंगलवार उद्घाटन गरेका हुन् ।
बार्षिक २० लाखसम्म कारोबार गर्ने (डे वान फारम भर्ने ) नयाँ व्यवसायी एवं करदाताहरुका लागि कर चुक्ता प्रमाण पत्र, प्यान नम्बर लिनको लागि अनलाइन फाराम भर्ने जस्ता काममा सहयोग गर्न परामर्श केन्द्र स्थापना गरिएको अध्यक्ष मन्सुरीले बताए । सेवाग्राहीको सहजता एवं काममा छरितो ल्याउनका लागि पहिलो पटक सेवा संचालन गरिएको उनको भनाई छ ।
सेवाग्राही अलमलमा परि समस्या भए पछि नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यालयमै परामर्श केन्द्र संचालनमा ल्याएको संघका महासचिव चिरञ्जीवी ओलीले बताए । उक्त सेवा संचालनका लागि संघले कर्मचारी खटाएको छ ।
पहिलो दिन सेवा लिन आएका सेवाग्राहीलाई संघले सम्मान समेत गरेको छ । कोभिड–१९ महामारीका बेला सामाजिक दूरी कायम गरि सेवा प्रवाह गरिने उनले बताए । करदाता सेवा केन्द्र उद्घाटन कार्यक्रममा संघका उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंकबहादुर धामी लगायत कार्यसमिति सदस्य एबम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।