प्लाज्मा दिनेको संख्या बाँकेमा बढ्दै, सात जनाले दिए प्लाज्मा

बाँके, २९ भाद्र ।
बाँकेमा प्लाज्मा दिने र दिन चाहनेको संख्या बढ्दै गएको छ । कोरोना भाइरस संक्रमण भई सिकिस्त विरामीका लागि बाँकेका थप दुई जनाले सोमवार प्लाज्मा दिएका छन् । कोरोना संक्रमण भई १४ दिन आइसोलेसन र थप १४ दिन पूरा गरेका खजुरा गाउँपालिका–४ का ३२ बर्षीय खगेन्द्र दाहाल र नेपालगन्ज उपमहानगरपालिका–११ का ४० बर्षीय सन्तोष पाठकले सोमवार भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रमा गएर प्लाज्मा दिएका हुन् ।
पत्रकार दाहालले संक्रमणमुक्त भएको २४ दिनपछि र पाठकले ३६ दिनपछि प्लाज्मा दिएको भेरी अस्पतालका सिनियर अहेव होमनाथ सुवेदीले जानकारी दिए ।
। थप दुई जनासँगै प्लाज्मा दिनेको संख्या बाँकेमा सात पुगेको छ ।
यसअघि नेपालगन्ज उपमहानगरपालिका–१ का वडा अध्यक्ष प्रमोद रिजाल, कोहलपुरका रामराजा चौधरी, गोपाल गिरी, रामहरी अधिकारी र खडानन्द पाण्डेले प्लाज्मा दिएका थिए । रिजाल, अधिकारी र पाण्डेको प्लाज्मा कोरोना संक्रमण भई सिकिस्त भएका विरामीमा प्रयोग भइसकेको सुवेदीले जानकारी दिए ।
सल्यान शारदा नगरपालिका–६ का प्रविण केसीलाई रिजालले दान गरेको प्लाज्मा दिइएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था गम्भीर भएका केसी सोही प्लाज्माले निको भएर आइतवार घर फर्किएका छन् । चार जनाको प्लाज्मा रक्तसंचार केन्द्रमा राखिएको प्लाज्मा कलेक्सनमा समन्वय गर्दै आएका सुवेदीले बताए ।
बाँकेमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट एक हजार ३६ जना मुक्त भएका छन् । संक्रमण मुक्त भएको २८ दिनदेखि तीन महिनाभित्र प्लाज्मा दान गर्न सकिने भेरी अस्पतालका प्लाज्मा थेरापी उपचारका विज्ञ डा. खगेन्द्रजंग शाहले बताए ।

Previous articleकोरोना सन्त्रासः निदाउन नसकेको त्यो रात, विर्सन नसकिने त्यो क्षण
Next articleकरदाताको सुविधाका लागि संघको कार्यालयमा परामर्श केन्द्र संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here