कोरोना सन्त्रासः निदाउन नसकेको त्यो रात, विर्सन नसकिने त्यो क्षण

विश्वराज पछल्डङ्ग्या

बाँके, २९ भाद्र ।
पत्रकार भाई खगेन्द्र दाहालसँग स्वस्तिक कटेज अगाडीको चिया घरमा २३ साउन, ०७७ को दिउँसो भेट भयो । उनले तीन दिन अघि कोरोना जाँचका लागि स्वाब दिएका थिए । उनको र मेरो भेट नियमित जस्तै थियो । उनले स्वाब दिएको जानकारी पहिले नै थियो । २३ साउनका दिन उनको पिसिआर रिपोर्ट आउने दिन थियो । उनलाई हामीले जिस्क्याएर टाढा बस्न भन्थ्यौँ । कोरोना लाग्दैमा के हुन्छ र ! आइसोलेसनमा बसेर समाचार गरौँला । भिडियो बनाउँला भनेर हामी जिस्किन्थ्यौँ पनि । तर, बास्तविकता त्यस्तो रहेनछ । आफू नमरि स्वर्ग देखिन्न भन्छन् हामीमा पनि त्यहि लागू भयो । नभन्दै भाई खगेन्द्रका पिसिआर पोजेटिभ आयो । त्यसपछि हामीमाझ खैलाबैला मच्चियो । अर्का पत्रकार भाई रामु ओलीले फोन गरे, ‘दाई खगेन्द्रको रिपोर्ट के आयो बुझ्नुस त ।’ मैले एताउता बुझ्न खोजे, तर धेरैको फोन उठेन । पछि पत्रकार दुर्गा रोकायले फोन गरेर भने, ‘खगेन्द्र दाहालको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । आइसोलेसनको ब्यवस्था गरिरहेका छौँ ।’
रामु ओलीले फेरि फोन गरेर भने, ‘दाई खगेन्द्रको बारेमा त जानकारी पाउनु भयो नी ?’ मेरो मुखबाट धेरै शब्द निक्लेन र भन्ने आँट पनि आएन । उनको जवाफ मात्र फर्काए, ‘पाए भाई ।’ त्यसपछि म अहिलेबाट बाहिर बस्न थालिसकेको जानकारी गराउँदै फोन राखेँ ।
भाई खगेन्द्रलाई कोरोना पुष्टि भएपछि मनमा अनेक थरिका कुरा खेल्न थाल्यो । बनको बाघले खावस नखावस मनको बाघले खान्छ भने झैँ मेरो मनमा कोरोना संक्रमणले डेरा जमाइसकेको थियो । घरको बरण्डाबाट भित्र जान आँटसमेत मैले गर्न सकिन । मन भारी भयो । मुटुको चाल बढ्न थाल्यो । टाउको दुखेर रिंगाटा लागे जस्तै भयो । कता कता शरिरको विभिन्न भाग दुखे जस्तो र रुघा लागे जस्तो लाग्न थाल्यो ।
त्यस दिनदेखि म सेल्फ होम क्वारेन्टाइनमा बस्ने योजना बनाए । घर परिवारलाई मेरो कुरा सुनाए । छुट्टै बस्ने । खाना अलग खाने । आफूले खाएको थाल आफै माझ्ने । हुन त आफूले भात खाएको थाल हरेक दिन म आपैm माझ्छु । तै पनि मैले खाएको भाँडा आफै माझ्ने, शौचालय प्रयोग गरेपछि सफा गर्ने, घरमा बस्दा मास्क लगाउने नियम पनि बनाए ।
२३ भाद्रको रात म एकपल पनि निदाउन सकिन । २४ भाद्र विहान २ बजेसम्म मोवाइलमा गेम खेलेँ । फेसबुक हेरेँ । म्यासेन्जरमा साथीभाईसँग च्याट गरेँ । निदाउने अनेक प्रयास गरेँ, तर अँह निदाउन पटक्कै सकेन ।
२४ भाद्र विहान भेरी अस्पतालको पिसिआर ल्यावमा कार्यरत प्रज्ज्वल चौधरीलाई फोन गरेँ । उहाँ मेरो छोरी ज्वाई हुनुहुन्छ । उहाँले म खवर गर्छु भनेर फोन राख्नु भयो । विहान ११ बजे ज्वाई सावको फोन आयो, ‘बुवा भेरी अस्पतालमा आउनुस् ।’
मलाई तनाव कम गर्न छिटो पिसिआर गराउनु पर्ने थियो । म दौडेर भेरी अस्पताल पुगेँ । एक्स–रे विभागमा मेरो स्वाब लिइयो । छोरी पनि त्यहिँ थिइन् । छोरीले सोधिन, ‘तपाइको साथी खै त ?’ मैले हतार हतार रामु ओलीलाई फोन लगाए । उनले आफू भृकुटीनगर भएको र पाँच मिनेटमा अस्पताल पुग्ने जानकारी गराए । नभन्दै फोन राखेको पाँच मिनेटमा उनी म कहाँ आइपुगे ।
२३ भाद्र बेलुकादेखि तनाव थियो, तर त्यो भन्दा धेरै तनाव स्वाब दिएपछि हुँदोरहेछ । मलाई त्यो दिन ६ घण्टा बिताउन ६ महिना विताए जस्तै लामो र कठिन लाग्यो । घरिघरि ज्वाई सावलाई फोन लगाएँ । तर, उहाँले फोन उठाउनु भएन । बल्लतल्ल बेलुकी ७ बजे उहाँको फोन उठ्यो । उहाँले हाँस्दै भन्नु भयो, ‘बुवा बधाई छ । हजुरको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ छ ।’
तै पनि मेरो मनमा अनेक थरि शंका उपशंका उब्जिरहेका थिए । ज्वाई सावले किन हाँस्दै भन्नु भयो ? ज्वाई सावले मसँग झुठो त बोल्नु भएन ? धेरै डराउनु भएको छ भनेर मलाई झुक्याउनु त भएन ? भन्ने मनमा कुरा खेलिनै रह्यो । पिसिआर ल्याबमा बस्ने जिम्मेवार प्राविधिकले झुठो बोल्न र गलत रिपोर्ट दिन सक्दैसक्दैनन् भन्ने अर्को मनले भन्थ्यो । चित्त नबुझेर फेरि छोरीलाई सोधेँ, ‘ज्वाई सावले फोन गर्नु भयो छोरी ?’ बुवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जानकारी गराई दिनु भन्नु हुन्थ्यो,’ छोरीले भनिन् ।
कोरोना रिपोर्ट नेगेटिभ आएपछि म परिवारका सदस्यसँग नजिकिन थाले । नेगेटिभ रिपोर्ट आइसक्यो अव टाढा नबसे पनि हुन्छ भन्ने सुझाव परिवारबाट आयो । तै पनि मेरो मनले मानेको थिएन ।
……………….
समाचार संकलनका लागि २५ भाद्र दिउँसो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सन डा. दिनेश श्रेष्ठलाई फोन गरेँ । उनले मेडिकल कलेजमा भएका सवै गतिविधिका बारेमा जानकारी गराए ।
म पनि होम क्वारेन्टाइनमा भएको र क्लोज कन्ट्याक्टमा परेको जानकारी गराएँ । र, एक दिन भित्र स्वाब परीक्षण गराउँदा पिसिआर रिपोर्ट नेगेटिभ आएको बताएँ । उनले ५ दिनपछि मात्र रिपोर्ट सहि आउने भन्ने सुझाव दिएपछि पिसिआर रिपोर्टले केहि सान्त्वना दिएको मनमा फेरि ढ्यांग्रो ठोक्न थाल्यो । म फेरि होम क्वारेन्टाइनमा बस्ने कुरा परिवारका सदस्यलाई सुनाए ।
…………..
क्लोज कन्ट्याक्टमा परेपछि मलाई तनाव लिएको देखेर मेरो पत्नीलाई पनि तनाव हुन थाल्यो । उनी पनि घरका काम विर्सेर वाल्ल परेर हेर्ने र कामको मेसा पाउन छोडिन् ।
मलाई एकान्तमा चुपचाप बसेको देखेर उनी बेला बेलामा सम्झाउँथिन् र रिसाउँथिन् पनि । नजिक नआए पनि टाढाबाट कुरा गर्न, हाँस्न सुझाउँथिन् । तपाईलाई कोरोना लागेको छैन, बेकारमा टेनसन लिनु भएको छ भनि ढाडस दिन्थिन् । तै पनि मलाई कुरा गर्न, खान, बाहिर निस्कन मन लाग्दैनथ्यो । अरुले कुरा गरे भने रिस उठ्ने, चिटचिट पसिना आउने, राम्रो कुरामा पनि झर्को लाग्ने जस्ता समस्या देखिन थालेको थियो ।
भाद्र २९, ०७७ मा मैले पुनः स्वाब दिएँ । दोस्रो पटक पनि ज्वाई सावले नै स्वाब लिनु भयो । स्वाब दिएपछि ज्वाई सावलाई भने, स्वाब दिएपछि मलाई धेरै तनाव हुन्छ, भोली विहान रिपोर्ट आउने ब्यवस्था मिलाए राम्रो हुने थियो ।’ उहाँले जवाफ फर्काउनु भयो, ‘म सकेसम्मको प्रयास गर्छु ।’
मलाई ६ दिन बिताउन जति कठिन भएको थियो । त्यो भन्दा १० गुणा बढि स्वाब दिएपछिको समय बिताउन कठिन भयो । मनमा ढ्यांग्रो ठोकिरहेको थियो । घरि एता घरि उता गरि जसोतसो समय बिताउने प्रयासमा थिएँ म । विहान आउनु पर्ने रिपोर्ट दिउँसो पनि आएन । बेलुकी झण्डै ७ बजे ज्वाई सावले फोन गरेर भन्नुभयो, ‘बुवा यसपालीका पिसिआर रिपोर्ट पनि नेगेटिभ छ ।’ त्यसपछि मात्र मन शान्त भयो । तै पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम अनुसार म १४ दिनसम्म सावधानी अपनाएर घरमा बसेर बिताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here