भेरी अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार सफल, अस्पताल उत्साहित, सर्वसाधारणमा जाग्यो आशा

२. उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी र प्लाज्मादाताको साथमा प्रविण केसी ।

बाँके, २८ भाद्र ।
भेरी अस्पतालमा प्लाज्मा थेरापी उपचार विधि सफल भएपछि एक किसिमको आशा जगाएको छ । उच्च ज्वरो, रुघाखोकी र स्वास प्रस्वासमा समस्या देखिएपछि भेरी अस्पतालमा भर्ना भएका शारदा नगरपालिका–६, सल्यानका २९ बर्षिय प्रविण केसीमा प्लाज्मा थेरापी उपचार विधि सफल भएपछि यस क्षेत्रका सर्वसाधारणमा एक किसिमको आशा जागेको हो ।
उच्च ज्वरो, रुघाखोकी र स्वास प्रस्वासमा समस्या देखिएपछि उनलाई १२ भदौँमा नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको लक्षण देखिएपछि उनको कोरोना जाँच गर्दा १३ भदौँमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
निमोनिया भई स्वास्थ्य अवस्था झन–झन विग्रदै गएपछि उनको प्लाज्मा थेरापीबाट उपचार गरिएको हो । उनी निको भएर आइतवार घर फर्किएका छन् ।
प्लाज्मा थेरापीबाट निको भएका केसीले आफूले पुनर्जिवन पाएको बताए । ‘अब जिन्दगी यति नै हो भन्ने लागेको थियो, तर, बाँचियो,’ डिस्चार्ज भएपछि केसीले भने, ‘मलाई दोस्रो जुनि दिने तपाईहरु मेरो भगवान् हो, मैले तपाईहरुको गुण कहिल्यै विर्सिने छैन ।’
हौसिए चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समिति
प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना संक्रमित विरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारी पनि हौसिएका छन् । ‘प्जाज्मा थेरापी सफल भएकोमा हामी खुसी छौँ,’ भेरी अस्पतालमा स्थापना भएको प्लाज्मा थेरापी उपचारका विज्ञ डा. खगेन्द्रजङ शाहले भने, ‘यसले अस्पताललाई मात्र नभई सिंगो पश्चिम क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ ।’
भेरी अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो केसमै सफलता पाएको छ । प्लाज्मा विधि सफल भएपछि अस्पतालले अन्य संक्रमितलाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ । ‘प्लाज्मा विधि सफल भएको छ । संक्रमणबाट मुक्त भएकाहरुलाई प्लाज्मा दान गर्न हामी आह्वान गर्दछौँ,’ डा. शाहले भने ।
स्वस्थ भएपछि केसीलाई आइतवार अस्पतालले डिस्चार्ज गरेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । उनले भेरी अस्पतालले कोरोनाका विरामीमा एकखालको आशा जगाएको बताए । ‘हामी प्जाज्मा थेरापी विधिबाट उपचार सफल बनाउनेमा लागेका थियौँ । सफल पनि भयौँ । यसमा हामीलाई धेरै खुसी लागेको छ,’ उनले भने ।
कोरोना भाइरस संक्रमणका कारण मृत्यु नजिक पुगेका उनी प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर डस्चार्ज हुँदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत हर्षविभोर देखिन्थे । अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले पनि चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयास र लगनशीलताले जटिल अवस्थामा पुगेका कोरोना संक्रमितलाई बचाउन सकिएको बताए । उनले भेरी अस्पतालले देशमै नमुना काम गरेर देखाएको बताए । ‘प्लाज्मा थेरापी उपचार विधि सफल भएको छ । यसमा हामी गौरवान्वित भएका छौँ,’ उनले भने ।

प्लाज्मादाता प्रमोद रिजालको साथमा प्रविण केसी ।


ज्यान जोगाउन पाउँदा खुसी छुः प्लाज्मादाता रिजाल
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजालले केसीका लागि प्लाज्मा दिएका हुन् । आफूले दिएको प्लाज्माबाट २९ बर्षिय युवकको ज्यान जोगिएकोमा आफू निकै खुसी भएको उनले बताए । ‘मेरो रगतबाट निकालिएको प्लाज्माले एउटा युवकको ज्यान जोगाउन पाउँदा मैले आफूलाई विश्वको भाग्यमानी ठानेको छु,’ उनले भने ।
कोरोना संक्रमणबाट मुक्त भएको करिव एक महिनापछि प्लाज्माका लागि रक्तदान गर्ने रिजाल पश्चिम नेपालमै पहिलो हुन् ।

Previous articleमालपोत तथा भूमिसुधार कार्यालयका ८ सहित ३७ जनामा कोरोना
Next articleरेडपाण्डाको छालासहित पाँच जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here