बाँके, २७ भाद्र ।
मालपोत तथा भूमिसुधार कार्यालय, बाँकेका आठ जना कर्मचारीसहित बाँकेका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मालपोत तथा भूमिसुधार कार्यालयका लेखा अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा ३५ जना र बागेश्वरी ल्याव कोहलपुरमा गरिएको परीक्षणमा पाँच जनामा कोरोना पुष्टि भएको उनले बताए । योसँगै बाँकेमा संक्रमितको संख्या एक हजार चार सय चार पुगेको छ ।
पछिल्लो २४ घण्टामा दुई सय नमुना परीक्षण गर्दा बाँकेका ३७ र बर्दियाका तीन जनामा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै, शनिबार थप १५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मेडिकल कलेज चिसापानी आइसोलेसनबाट सात, भेरी अस्पतालबाट दुई, होटल इन्द्रेणीबाट दुई, होटल सिटी प्यालेस आइसोलेसनबाट दुई र लायन्स डेण्टल तथा सुशील कोइराला क्यान्सर अस्पताल खजुरा आइसोलेसनबाट एक–एक जना डिस्चार्ज भएको श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या नौ सय ८५ पुगेको छ ।